arrow

नर्डिकमा नेटोको विस्तारले युरोप सुरक्षित बन्ला कि खतरनाक ?

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख २६ सोमबार
Finland-sweden-nato-finlandnato.jpg

काठमाडौं । फिनल्यान्ड र स्वीडेन दुई तटस्थ नर्डिक देश रुसले युक्रेनमा आक्रमण गरेपछि यति चिन्तित भएका छन् किन उनीहरू सम्भवतः यो गर्मीयाममै नेटोमा सामेल हुने गरी छलफल गर्न थालेका छन् ।

रुसले भने यी दुवै देशलाई नेटोमा सामेल नहुन चेतावनी दिँदै त्यसो गरेमा सैन्य प्राविधिक प्रतिक्रिया दिने धम्की दिएको छ । यस्तो अवस्थामा फिनल्यान्ड या स्वीडेनमध्ये एक वा दुवै नेटोमा सामेल भएमा युरोप बढी सुरक्षित ठाउँ होला कि खतरनाक ?

नेटो (उत्तर एट्लान्टिक सन्धि सङ्गठन दोस्रो विश्वयुद्धबिच स्थापित भएको एक सैन्य गठबन्धन हो । यसको मुख्यालय ब्रसेल्समा भए पनि नेटोमा विशाल अमेरिकी सैन्य र आणविक मिसाइल सहितको शक्तिले प्रभुत्व जमाएको छ।

आधुनिक प्रजातान्त्रिक देश फिनल्यान्ड र स्वीडेन दुवैले नेटो सदस्यताको मापदण्ड पूरा गर्छन् । नेटोका प्रमुख जेन्स स्टोल्टनबर्गले दुवै देशलाई खुल्ला हातले स्वागत गर्ने भन्दै सदस्यता प्रक्रियामा न्यूनतम ढिलाइ हुनेसमेत बताएका छन् ।

युरोपमा सबै अमेरिकी भूसेनाको कमान्ड गरेका युएस आर्मीका (रिटायर्ड) लेफ्टिनेन्ट जनरल बेन होजेसले फिनल्यान्ड र स्विडेन नेटोमा सामेल भएमा पश्चिमका लागि यसबाट फाइदा हुनेमा कुनै शङ्का नभएको बताएका छन् ।

‘स्वीडेन र फिनल्यान्ड नेटोमा सामेल हुनु ठुलो र धेरै सकारात्मक कुरा हो । तिनीहरू दुवै बलिया लोकतान्त्रिक मुलुक हुन् र दुवैको सेना धेरै राम्रो, सक्षम र उल्लेखनीय परिचालन प्रणालीहरूसहित आधुनिकीकरण गरिएको छ’, उनले भनेका छन् ।

फिनल्यान्डको सन्दर्भमा बेलायती ट्याङ्क चालक दलहरूले हालै नेटोको तथाकथित संयुक्त अभियान बल (जेईएफ) को हिस्साका रूपमा अमेरिकी, लाटभियाली र इस्टोनियाली सेनाहरूसँगै फिनल्यान्डको सशस्त्र ब्रिगेडको अभ्यास गर्दै सैन्य एकीकरणको एक रूप चालिरहेको देखिन्छ ।

बेलायतको रक्षा मन्त्रालयले यसलाई स्क्यान्डिनेभिया र बाल्टिक राज्यहरूमा रुसी आक्रमणलाई रोक्ने उद्देश्य स्वरुप रहेको बताएको छ। यस्तोमा एक वा दुवै देश नेटोमा सामेल हुन चाहेमा समस्या के हुन्छ ?

रुस र विशेष गरी राष्ट्रपति भ्लादिमिर पुटिनले नेटोलाई रक्षात्मक गठबन्धनको रूपमा नभएर रुसको सुरक्षाका लागि खतराको रूपमा हेर्छन् ।

सन् १९९१ मा सोभियत सङ्घको विघटनपछि नेटोको विस्तार पूर्वतिर मास्कोको नजिक भएकोमा उनले चिन्ता व्यक्त गरेका थिए । जब पुटिन सोभियत राज्य सुरक्षा उपकरण केजीबीमा एक युवा गुप्तचर अधिकारी थिए । त्यतिबेला मास्कोले पूर्वी युरोपका सबै देशहरूलाई नियन्त्रण गर्थ्यो । ती देशहरूमा धेरैजसो रुसी सेनाहरू तैनाथ थिए । 

अहिलेको समयमा आउँदा लगभग ती सबै देशहरू पश्चिमतर्फ फर्केर नेटोमा सामेल भएका छन् र भइरहेका छन् । यहाँसम्मकि कुनैबेला सोभियत सङ्घको हिस्सा भएका बाल्टिक मुलुक इस्टोनिया, लाटभिया र लिथुआनियासमेत नेटोमा सामेल भएका छन् ।

अहिलेको स्थितिमा रुसको विशाल सीमानाको ६ प्रतिशत मात्र नेटो देशहरूसँग छ । नेटो सेनाले घेरिँदै गएको र खतरा बढ्दै गएको स्थितिमा २४ फेब्रुअरीमा राष्ट्रपति पुटिनले युक्रेनमा आफ्ना सेना पठाउनुअघि पूर्वी युरोपमा थप नेटोको विस्तार नगर्न माग गरेका थिए ।

उनले कुनै पनि नयाँ मुलुक नेटोमा सामेल नहुनु पर्ने र पूर्वी युरोपबाट नेटोको सेना फिर्ता जानु पर्ने माग अघि सारेका थिए । दशकौँदेखि फिनल्यान्ड र स्वीडेनले नेटोमा सामेल नभएर रुस र पश्चिमासँग आफ्नो तटस्थतालाई सावधानीपूर्वक अपनाउँदै आएका थिए। 

सांस्कृतिक रूपमा पश्चिमीतर्फ झुकाव भए पनि अहिलेसम्म यी दुवै मुलुक आफ्नो विशाल आणविक सशस्त्र छिमेकी रुसको विरोध गर्नबाट सावधान छन् । 

युक्रेन आक्रमणले कट्टरपन्थी पुनर्विचार गर्न उत्प्रेरित गरेसँगै नर्डिक सरकार र जनता दुवैले नेटोको सामूहिक संरक्षण अन्तर्गत आश्रय लिनु सुरक्षित ठान्न थालेका छन् ।

नेटो सन्धिको आर्टिकल ५ ले कुनै एउटा सदस्यमाथिको आक्रमणलाई सबैमाथि आक्रमणको रूपमा हेर्छ र सो सदस्य राष्ट्रलाई बचाउन अरू सबै सदस्य राष्ट्र लड्न जान्छन् । फिनल्यान्डमा हालै भएको सर्वेक्षणले ६२ प्रतिशतले नेटोमा सामेल हुने पक्षमा मत राखेका छन् ।

नेटोमा सामेल हुँदा

विशुद्ध सैन्य परिप्रेक्ष्यमा फिनल्यान्ड र (वा) स्वीडेन नेटोमा जोडिँदा नेटोका लागि यो ठूलो फाइदाको विषय हुनेछ । किनकि नेटोले उत्तरी युरोपमासमेत ठूलो मात्रामा आफ्नो सेना तैनाथ गर्न पाउनेछ ।

फिनल्यान्डले एफ ३५ लडाकु विमान ल्याएर र स्वीडेनले प्याट्रियट मिसाइल ल्याएर गोटल्याण्डको ठूलो बाल्टिक टापुलाई पुनः सुरक्षित गरेको बेन होजेसको भनाइ छ ।

फिनल्यान्ड र स्वीडेन दुवैका सशस्त्र सेनाहरू आर्कटिक युद्धमा लड्न विशेषज्ञ हुन् । स्क्यान्डिनेभियाको बरफका जङ्गलहरूमा लड्न र बाँच्नको लागि यी मुलुकका सेनासँग कुशल प्रशिक्षण छ । रुसले दोस्रो विश्वयुद्धमा फिनल्यान्डमा आक्रमण गर्दा फिनीहरू आक्रमणकारीहरू विरुद्ध क्रूरतापूर्वक लडेका थिए । जसले रुसी अथवा सोभियत पक्षलाई ठूलो हानि पुर्‍याएको थियो ।

भौगोलिक रूपमा पनि फिनल्यान्ड नेटोमा सामेल हुँदा नेटोको रक्षामा ठूलो खाडल भरिन्छ र रुससँगको सिमाना दोब्बर हुन जान्छ । यसबाहेक बाल्टिक सागरमा सुरक्षा र स्थिरता झनै मजबुत बन्छ ।

यस्तै राजनीतिक रूपमा, यसले पश्चिमी पारस्परिक रक्षाको एकतालाई थप्नेछ । अर्कोतर्फ कुरा सार्वभौम देश युक्रेनमा गरेको आक्रमणको विरुद्ध सम्पूर्ण युरोप एकजुट छ भन्ने बलियो सन्देश पुटिनलाई जानेछ ।

रूसी प्रतिक्रिया

रुसको ढोकामा पश्चिमाले यसरी नेटोको ठूलो विस्तार गर्दा स्वोभाविकरुपमा क्रेमलिनले कुनै न कुनै रूपमा प्रहार गरेर प्रतिक्रिया दिनेछ ।

पुटिनले यसको जवाफमा सैन्य प्राविधिक उपायहरू अपनाउने धम्की दिनुको अर्थले पश्चिमको नजिक सेना र मिसाइलहरू सारेर आफ्नै सिमानाको सुदृढीकरण गर्ने र अर्कातिर सम्भवतः स्क्यान्डिनेभियामा साइबर हमला गर्न सक्ने ठानिएको छ ।

वर्षौंसम्म तटस्थ रहेर राम्रोसँग चलिरहेको स्विडेनका लागि यो सामान्य कुरा भने हुने छैन । स्वीडेनको घरेलु हतियार त्यागेर नेटोको हतियार किन्नु पर्यो भने यो उसको घरेलु उद्योगको लागि आर्थिक लागत पनि हुन सक्नेछ ।

क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले फिनल्यान्ड र स्वीडेन नेटोमा सामेल हुँदा युरोपको लागि सुरक्षा नहुने भन्दै चेतावनी दिएका थिए ।

भ्लादिमिर पुटिनले खास गरी मानिसहरूलाई आफ्नो युवावस्थाको त्यो समयको सम्झना गराउन खोज्छन्, जब उनले एउटा कोठाको कुनामा मुसालाई राखेका थिए । र पछि त्यसै मुसाले उनलाई आक्रमण गरेको थियो ।

पुटिन र उनका सल्लाहकारहरूले नेटोले आफ्नो विस्तार बढाउन खोजेका कारण युक्रेनमा आक्रमण भएकोसमेत भन्ने गरेका छन् ।

यस्तो अवस्थामा अचानक उत्तर युरोप सोझै नेटोमा सामेल भयो भने रुसले कतिसम्मको प्रतिक्रिया दिन सक्छ भन्ने अनुमान अहिले गर्न भने सकिन्न ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ