arrow

बुढानीलकण्ठमा रोचक भिडन्त, कसले जमाउला कब्जा ? 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख २७ मंगलबार
budhanilkantha-nagarpalika-2079.jpg

काठमाडौं । स्थानीय तहको निर्वाचनमा दलहरुको आफ्नै रस्साकस्सी छ । पुरानो किल्ला भत्काउने र जोगाउने रस्साकस्सी चलिरहेको छ । स्थानीय तह निर्वाचन सम्पन्न हुन तीन दिन बाँकी हुँदा नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, नेकपा एस, जसपा, लोसपा, राप्रपा लगायतका राजनीतिक दल र उम्मेदवारहरूले घरदैलो अभियानलाई तीव्रता दिइरहेका छन् । 

अझ आपसमा निर्वाचन जित्ने योजना बनाउने र त्यसको कार्यान्वयनमा समेत लागेका छन् । राजधानीको बुढानीलकण्ठ नगरपालिकामा दुई मुख्य प्रतिस्पर्धीहरू नेपाली कांग्रेस र नेकपा एमालेका उम्मेदवारहरूले घरदैलोदेखि प्रचार प्रसारलाई निरन्तरतामात्र दिइरहेका छैनन् एमालेले आफ्नो विरासत जोगाउने र कांग्रेसले एमालेको विरासत भत्काउने कोसिसमा रहेको छ । 

अहिले बुढानीलकण्ठ नगरपालिकामा नेपाली कांग्रेस र नेकपा एमालेको प्रतिस्पर्धा रहेको छ । नेकपा एकीकृत समाजवादी, नेकपा माओवादी केन्द्र र स्वतन्त्र उम्मेदवार पनि रहेका छन् । उनीहरु खासै प्रतिस्पर्धामा देखिएका छैनन् । सत्ताधारी राजनीतिक दलहरूबीच सहमति नजुटेपछि बुढानीलकण्ठ नगरपालिकाको मेयरमा कांग्रेसबाट विनोद चालिसे, एमालेबाट मिठाराम अधिकारी, नेकपा समाजवादीबाट बालकृष्ण श्रेष्ठ, माओवादी केन्द्रबाट डम्बरप्रसाद अधिकारी र स्वतन्त्र उम्मेदवार सुमित खरेलबीच प्रतिस्पर्धा हुनेछ । 

त्यस्तै उपमेयरमा नेपाली कांग्रेसबाट रमा राई, नेकपा एमालेबाट अनिता लामा, नेकपा एसबाट प्रमिला सापकोटा र माओवादी केन्द्रबाट कमला गौतमले प्रतिस्पर्धा गर्दैछन् । 

१३ वडा रहेको बुढानीलकण्ठ नगरपालिकामा यसपटक विभिन्न पदमा गरी ३ सय ८ जनाले उम्मेदवारी दर्ता गराएको निर्वाचन कार्यालयले जनाएको छ । जसमध्ये मेयरमा १५, उपमेयरमा ६, वडाध्यक्षमा ७१, महिला वडा सदस्यमा ५४, दलित महिला सदस्यमा ४८ र खुला सदस्यमा ११४ जनाको उम्मेदवारी परेको छ । 

अहिलेको अवस्था हेर्दा एमालेलाई भन्दा कांग्रेसलाई केही सहज स्थिति देखिएको छ । सहज अवस्था भएकै कारण कांग्रेसको चुनाव प्रचार प्रसार पनि आक्रामक रहेको छ । 

२०७४ सालको स्थानीय तहको निर्वाचनमा बुढानीलकण्ठ नगरपालिका मेयरमा १३ हजार २ सय ४६ मतसहित नेकपा एमालेका उद्धव खरेल र उपमेयरमा १३ हजार १ सय ८८ मतसहित एमालेकी रमादेवी राई विजयी भएका थिए । 

कुल १ लाख १५३ हजार ३०३ जनसंख्या रहेको बुढानीलकण्ठ नगरपालिकामा ४८ हजार ३४ जना मतदाता छन् । २०७४ स्थानीय तह निर्वाचनमा वडा नं. ४ र ६ मा नेपाली कांग्रेसले विजय हासिल गरेको थियो ।

यसपटक वडा नं. १० र १३ मा कांग्रेस, नेकपा एकीकृत समाजवादी र नेकपा माओवादी केन्द्रले गठबन्धन गरेका छन् । धेरै मतदाता रहेको वडा नं. १० मा कांग्रेसले वडाध्यक्ष, २ सदस्य र नेकपा एकीकृत समाजवादीले २ उठाएर तालमेल गरिएको छ । 

त्यस्तै वडा नं. १३ नम्बरमा गठबन्धनले कांग्रेसको वडाध्यक्षसहित २ सदस्य र नेकपा माओवादी केन्द्रले दुई जना सदस्य उठाएका छन् । बुढानीलकण्ठ नगरपालिका वडा नं. २, ३, ११ र १२ मा नेकपा एमाले र नेकपा एकीकृत समाजवादीको प्रभाव देखिएको छ । 

नेकपा एकीकृत समाजवादी र माओवादी केन्द्रले मेयर र उपमेयरमा नेपाली कांग्रेसलाई मतदान गर्ने सहमति भएको बताइए पनि त्यो यकिन छैन । गठबन्धन नभए पनि नेपाली कांग्रेस र नेकपा एमालेबीच प्रतिस्पर्धा हुने भएको हो । 

नेकपा एकीकृत समाजवादीका मेयर उम्मेदवार बालकृष्ण श्रेष्ठले तुलनात्मक रूपमा धेरै मत काट्ने सम्भावना देखिएको छ । २०५४ सालमा विष्णु–बुढानीलकण्ठ गाविसको अध्यक्षसमेत भइसकेका उनले यसअघिको निर्वाचनमा वडा नं. ३ मा वडाध्यक्ष जितिसकेका छन् । 

‘बुढानीलकण्ठ नगरपालिकाको सामाजिक, आर्थिक र राजनीतिक विकासको लागि मैले मेयरमा उम्मेदवारी दिएको हुँ,’ उनले भने, ‘मेरो अनुभवले प्रशासकीयदेखि पूर्वाधार निर्माणसम्ममा जनताको पहुँच हुनुपर्छ । यस क्षेत्रमा तुलनात्मक रूपमा विकास भए पनि जनताले सहज रूपमा त्यसको उपभोग गर्न पाएका छैनन् । यस प्रवृत्तिको अन्त्य हुनुपर्छ भन्ने मलाई लाग्छ ।’

स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै नेकपा एमालेका मेयर उम्मेदवार मिठाराम अधिकारीले सरल जनप्रतिनिधि, जनता हाम्रो निधि, हिंसामुक्त समाज, परिवर्तनका आवाज, विपद्मा राहत, गरिबीविरुद्ध संघर्ष, पर्यटन बजार, सुलभ स्वास्थ्य, शान्ति सु–व्यवस्था, उद्यमशीलता र रोजगार, कृषि तथा सहकारी आधार, शिक्षाको घाम– पर्यावरण जोगाम, लैंगिक समानता, विभेदलाई निषेध, युवाहरू विशेष, स्थानीय कला, संस्कृति, सभ्यता हाम्रो पुँजी र सौन्दर्यता, अनलाइन बेस–पेपरलेस, सहज सेवा प्रभावकारिता र सुशासनमा जोड भ्रष्टाचार निर्मूल गरी १० बुँदे प्रतिबद्धता गरेका छन् । 

उनले सुन्दर बुढानीलकण्ठ नगरपालिकाको परिकल्पना गर्दै कपन ह्यान्डबल बहुउद्देश्यीय खेल पूर्वाधार, बुढानीलकण्ठ–चक्रपथ योजना पूरा गरेर यातायात सञ्चालन, नगर अस्पताल संचालन र नागरिक स्वास्थ बीमा, बुढानीलकण्ठ संग्रहालय तथा सिर्जनाग्राम निर्माण, पर्यटकीय पैदल तथा साइकल मार्ग निर्माण, खुला पार्क निर्माण तथा हरियाली प्रवद्र्धन कार्यक्रम, उज्यालो र सुरक्षित बुढानीलकण्ठ परियोजना, बुढानीलकण्ठ मन्दिर गुरुयोजना कार्यान्वयन, प्रविधिमैत्री तथा सुसाशनयुक्त सेवा, एक घर एक पानीसहितको धारा, प्राविधिक, व्यवहारिक र जीवनोपयोगी शिक्षा र फोहोरमैला व्यवस्थापन तथा वातावरण दिगो संरक्षणको घोषणा गरेका छन् ।  

कांग्रेसका मेयर उम्मेदवार विनोद चालिसे प्रतिबद्धता पत्रमा सेवाप्रवाहमा सुधार र सुशासनमुक्त नगर प्रशासनको लागि गुरूयोजना बनाएर विकास निर्माणको काम अघि बढाउने, करको दर घटाउने र दायरा बढाउने, अनलाइन पद्धतिबाट सेवा दिने, बस्न लायक सहर घुम्न लायक नगरको रूपमा पूर्वाधार निर्माण कार्य अघि बढाउने, सबै वडालाई सडक सञ्जालसँग जोड्दै सुचारु यातायात सेवा र पैदलयात्रुमैत्री संरचनाको विकास गर्ने, स्थानीय मौलिक धार्मिक तथा सांस्कृतिक धरोहर, मन्दिर, जात्रा, पर्व, कला, संस्कृति, भाषाको सम्वद्र्धन र संरक्षणको लागि पहल गर्ने, सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि सुविधाहरू वृद्धि गर्ने, स्वास्थ्य चौकीको स्तरोन्नतिका साथै विशेषज्ञ सुविधासहित नगर अस्पताललाई सञ्चालन गर्ने, फोहोरमैला व्यवस्थापन गर्न संरचना बनाउने, वातावरण संरक्षण, पर्यापर्यटन र अध्ययन अनुसन्धान केन्द्रको विकास गर्ने, वातावरणमैत्री सूचना प्रविधिजन्य, उद्योग व्यवसायलाई प्रोत्साहन गर्ने, स्वरोजगारका लागि युवा उद्यमीलाई प्रोत्साहन गर्ने, भूमिगत पानीको दोहनलाई निरुत्साहित गर्ने, खेल मैदानको निर्माण र प्रविधियुक्त व्यवस्थित नगर बनाउनेलगायत योजना सार्वजनिक गरेका छन् । 

यतिबेला कांग्रेसलाई सहज देखिए पनि एमाले यसअघिको सत्ता पक्ष भएकाले चुनौतीहरु चिर्न निकै कठिन भएको छ । 

‘यसपल्ट हामी यहाँको एमालेको किल्ला भत्काउछौ’, चालिसेले भने । उनका अनुसार सेवालाई पारदर्शी र चुस्त दुरुस्त बनाउन पनि एमालेको किल्ला भत्काउनु पर्ने आवश्यकता रहेको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ