arrow

फिनल्याण्ड र स्वीडेनको आगमनले कमजोर क्षेत्रमा शक्तिशाली बन्दै नेटो

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ १ आइतबार
nato-russia-nato-members.png


काठमाडौं । नेटोका लागि लामो समयदेखि बेलारुस र रुससँग सीमाना भएका बाल्टिक राज्यहरुको रक्षा कसरी गर्ने भन्ने विषय एक समस्या हो । तर अहिले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनकै कारण अन्जानमा यो समस्या समाधान हुने स्थिति बनेको छ ।

पूर्व र पश्चिमको बिग्रदो सम्बन्धको मुख्य ध्यान जर्मनीको नयाँ सैन्य योजनाहरूमा केन्द्रित भएको बेला फिनल्यान्ड र स्वीडेन ३० सदस्यीय ट्रान्सएट्लान्टिक गठबन्धन (नेटो) मा सामेल हुन सक्ने कुरा युरोपेली विदेश नीतिमा रुसले युक्रेनमाथि आक्रमण गरेपछिको सबैभन्दा ठूलो परिवर्तनको हिस्सा हो । यसले नेटोको विस्तार रोक्न युद्ध शुरु गरेका पुटिनलाई झनै उल्टो झड्का दिएको छ ।

फिनल्याण्ड नेटोमा सामेल हुनुले रुसी प्रभावको अन्त्य र स्वीडेन नेटोमा सामेल हुनुले दुई शताब्दीदेखिको तटस्थता अन्त्य हुनेछ । उत्तर एट्लान्टिक सन्धि संगठन (नेटो) मा सामेल हुँदा नर्डिक देशहरूले समयमै अतिरिक्त सैन्य क्षमता मात्रै पाउने छैनन । भौगोलिक रूपमा पनि तिनीहरूले रुससँग १ हजार ३ सय ४३ किलोमिटरको सीमागत भूमि थप्ने छन् । 

यस्तै बाल्टिक सागरमा पोल्याण्ड र लिथुआनियाको बीचमा रहेको रुसी प्रान्त कालिनिनग्राडलाई प्रभावकारी रूपमा अलग पार्नेछन्, जसले उत्तरपूर्वी भागको जोखिम कम गर्नेछ।

‘द्वन्द्वको अवस्थामा फिनल्याण्डको खाडी बन्द गर्ने अवसर मिल्नेछ’, लिथुआनियाका रक्षामन्त्री अरभिदास अनुसास्कसले भनेका छन्, ‘यो नयाँ अवसर हो, जुन हामीले पहिले सोचेका थिएनौं ।’

यस्तो अवस्थाबीच बर्लिनमा नेटोका विदेश मन्त्रीहरू स्विडेनी र फिनिश समकक्षीहरूसँग बैठक बस्दैछन् । त्यसका लागि अमेरिकी विदेशमन्त्री आइतबार बर्लिन आइसकेका छन् ।

तर नेटोको विस्तारको विषयलाई टर्कीले अहिले धक्का दिएको छ । टर्कीले आफ्नो राज्यविरुद्ध लडाइँ गरिरहेका कुर्दिशलाई स्वीडेन र फिनल्याण्डले खुलेर समर्थन र सहयोग गरिरहेको भन्दै यो अस्वीकार्य र अपमानजनक भएको बताएको छ ।

टर्कीका विदेशमन्त्री मेभलुत काभुसोग्लुले शनिबार नेटो समकक्षहरूसँगको बैठकका लागि बर्लिन पुग्दै यस्तो टिप्पणी गरेका हुन् । तर टर्कीलाई मनाउन सकियो र फिनल्याण्ड र स्वीडेन नेटोमा सामेल भए भने बाल्टिकमा कुनै पनि रुसी लक्ष्यहरु सफल हुने छैनन् ।

कुनै बेला सोभियत संघको हिस्सा रहेका इस्टोनिया, लाट्भिया र लिथुआनिया सन् २००४ मा नेटोमा सामेल भएका थिए । अब यी मुलुकहरु कुनै पनि तुरुन्तैको सहयोगका लागि फिनल्याण्ड र स्वीडेनमाथि भर पर्न सक्षम हुनेछन् ।

तत्कालका लागि यी मुलुकलाई कुनै जोखिम नभए पनि रुसले धम्की भने दिँदै आएको छ । गत वर्ष पुटिनले यी तीन वटै देशबाट नेटोको सेना फिर्ता गर्दै थप विस्तार नगर्न माग गरेका थिए । जुन नेटोले अस्वीकार गरेको थियो र पुटिनले युक्रेनमाथि आक्रमण गरे ।

लन्डनस्थित इन्टरनेशनल इन्स्टिच्युट फर स्ट्राटेजिक स्टडिजका रणनीति, प्रविधि र हतियारका निर्देशक विलियम अल्बेर्कले भूराजनीतिक गणनामा आउने यो किसिमको परिवर्तनले रुसले गर्न खोज्ने कुनै पनि आक्रमणको परिणाम भयानक हुन जाने भएका कारण नेटोसँगको तनाव अन्ततः कम गर्नुपर्ने स्थिति बन्ने बताउँछन् ।

रुसले जहाँ बलियो छ त्यहाँ नभएर जहाँ कमजोर छ त्यहीँ प्रहार गर्ने भएकाले स्थिति बलियो बनेको क्षेत्रमा आक्रमण गर्नुको फाइदा छैन भन्ने  कुरा क्रेमलिनले ध्यानमा राख्दा तनाव कम हुने उनको भनाइ छ ।

तथापि रुसी अधिकारीहरूले फिनल्याण्ड र स्वीडेन नेटोमा सामेल भएमा क्षेत्रीय सुरक्षाको लागि गम्भीर परिणामहरूको चेतावनी दिएका छन् । त्यसैले बाल्टिक क्षेत्रमा यो नयाँ स्थिति बन्नका लागि समय भने लाग्नेछ ।

फिनल्याण्ड नेटोमा सामेल भएमा बाल्टिकमा आणविक हतियारहरू राख्ने भने पनि अहिले नै पनि राखेको छ या छैन भन्ने कुरा भने अस्पष्ट छ ।फिनल्याण्डका राष्ट्रपति साउली निनिस्टो र प्रधानमन्त्री सान्ना मारिनले बिहीबार नेटोमा सामेल हुनुपर्ने घोषणा गरेपछि रुसी प्रवक्ता दिमित्री पेस्कोभले यो कदम निश्चय पनि रुसका लागि खतरा हुने बताएका थिए । 

यदि फिनल्याण्ड गठबन्धनमा सामेल हुन्छ भने रूसले के गर्न सक्छ भनेर उनले विस्तृत रुपमा भने केही भनेनन् । तर युरोपियन युनियनका लागि रुसी राजदूत भ्लादिमिर चिजोभले रुसी फिनिश सीमामा रक्षा तयारीको स्तर सुधार्ने वा बढाउने विषय समावेश हुने बताएका छन् । यस्तै उनले बेलायतको स्काई न्युजसँगको अन्तर्वार्तामा बोल्दै नेटोमा सामेल हुनुले कुनै पनि देशलाई थप सुरक्षित बनाएको टिप्पणी गरेका छन् ।

मस्कोस्थित विश्व हतियार व्यापार विश्लेषण केन्द्रका प्रमुख इगोर कोरोचेन्कोले फिनल्याण्डको सैन्य ब्लक (नेटो) मा सामेल हुने कदम रूसका लागि पीडादायी हुने बताएका छन् ।

दशकौंसम्म सोभियत युगको प्रभाव पछि क्रेमलिनले फिनल्याण्डलाई नजिकको छिमेकीको रूपमा हेरेको र यसले ुफिनल्याण्डाइजेशनु शब्दलाई जन्म दिएको उनको भनाइ छ । ठूलो राज्यले सानो राष्ट्रको विदेश नीतिलाई प्रभावकारी रूपमा नियन्त्रण गर्ने भए पनि फिनल्याण्डलाई स्वतन्त्र रहन अनुमति थियो ।

फिनल्याण्ड र स्वीडेन नेटोमा सामेल हुँदा बाल्टिकलाई फाइदा  भए पनि यसले रुसी दृष्टिकोणलाई नाटकीय रुपमा परिवर्तन नगर्ने कोलम्बिया युनिभर्सिटीको बर्नार्ड कलेजका राजनीति शास्त्रका प्राध्यापक किम्बर्ली मार्टेनको भनाइ छ । 

किनकि यी दुवै देश पहिले नै वर्षौंदेखि नेटोसँग नजिकबाट प्रशिक्षण गर्दै आएका थिए । त्यसैले आधिकारिक रूपमा गठबन्धनमा सामेल हुनु कुनै न कुनै रूपमा एक औपचारिकता मात्र हुनेछ ।

नेटोको विस्तारले आउन सक्ने प्रतिशोधको तुलनामा नेटोको फाइदा बढी हुने र फाइदाले नै जित्ने मार्टेनको भनाइ छ । नेटोमा सामेल भएपछि दुवै मुलुकले आफ्नो रक्षा क्षेत्रमा व्यापक ध्यान दिनु पर्ने छ भने नेटो स्तरकै सैन्य खडा हुनेछन् । तथापि फिनल्याण्ड र स्वीडेनी सेना यो क्षेत्रका लागि पहिलेदेखि नै कुशल लडाकु हुन् ।

यस्तै नेटोका लागि इस्टोनियाली राजदूत जुरी लुइकले स्वीडेन र फिनल्याण्ड नेटोमा सामेल हुनुले सम्पूर्ण बाल्टिक क्षेत्रमा सुरक्षा र स्थिरताको थप तह प्रदान गर्ने बताएका छन् ।

नेटोका कूटनीतिज्ञहरूले आफ्नो बलियो नौसेनालाई बाल्टिक सागरमा सम्पत्तिको रूपमा राख्न पाउने र फिनल्याण्डको प्रशिक्षित ठूलो सैन्य पाउने फाइदालाई औंल्याएका छन् ।

यस्तै स्वीडेनको ग्रिपेन लडाकु विमान र फिनल्याण्डको ६४ एफ ३५ ए बहु भूमिका निभाउन जेटले नेटाको वायु सैन्य क्षमतासमेत बढाइदिनेछ ।

फिनल्याण्डको खाडीको दुबैतिर नेटोको  क्षमताहरूले ५० किलोमिटर साँघुरो बिन्दुमा कुनै पनि द्धन्द्धका बेला रुसको बाल्टिक फ्लीटलाई सजिलै रोक्न सक्नेछ । यति मात्रै हैन यदि ईयूले सडक र रेल ट्रान्जिट बन्द गरिदियो भने कालिनिनग्राद बाँकी रुसबाट पूर्णरुपमा अलग हुनेछ ।

तर नेटोका कूटनीतिज्ञहरूले भने यो गठबन्धन रक्षात्मक भएको बताउँदै कालिनिनग्रादमा पहुँच रोक्ने कुनै मनसाय नभएको बताएका छन् । तथापि रुसले आक्रमण गर्यो भने यो विचार परिवर्तन हुनेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ