arrow

एमालेभित्र लालगद्दारीको चर्चाः उपमहासचिव नै एमाले उम्मेदवारलाई हराउन सक्रिय भएको आरोप

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ २ सोमबार
CPN-UML-Flag.jpeg

काठमाडौं । पोखरा महानगरपालिकाको निर्वाचनमा नेकपा एमालेभित्रकै समूह एमालेबाट मेयर उम्मेदवार कृष्णबहादुर थापालाई हराउन लागेको अडियो सार्वजनिक भएपछि एमालेभित्र खैलाबैला मच्चिएको छ । 

एमालेका उपमहासचिव पृथ्वी सुब्बा गुरुङ र संगठन विभाग प्रमुख खगराज अधिकारीको समूहभित्रको आन्तरिक लडाइँले पोखरा महानगरपालिकाभित्र एकआपसमा अन्तर्घात गर्ने तहको अडियो सार्वजनिक हुँदा पार्टीको केन्द्रीय तहमा खैलाबैला मच्चिएको हो । 

गण्डकी प्रदेशमा एमालेभित्र उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र संगठन विभाग प्रमुख खगराज अधिकारीको समूह छ । एमालेबाट पोखराको मेयर उम्मेदवार थापा खगराज समूहका हुन् । उनलाई मेयरमा हराउन गठबन्धनका धनराज आचार्यलाई पृथ्वीसुब्बा समूहका नेता–कार्यकर्ता लागेको सो अडियो सार्वजनिक भएको थियो । 

पृथ्वीसुब्बा समूहका कार्यकर्ताले धनराजलाई भोट मागेको दुईवटा अडियो सार्वजनिक भएको छ । त्यसमा एउटा अडियो एमाले केन्द्रीय सदस्य राजीव पहारीको सचिवालयको हो । पहारी पृथ्वीसुब्बा समूहका हुन् । राजीवका स्वकीय सचिव मनोज पहारीले कृष्ण थापालाई मत नदिन भन्दै फोनमा धनराज आचार्यलाई मत मागेको अडियो सार्वजनिक भएपछि अहिले राजिव पहारीमाथि कारबाही गर्नुपर्ने आवाज उठाइएको छ । 

कृष्ण थापाले टिकट पाएलगत्तै मनोज पहारीको नामबाट धनराज आचार्यलाई मत मागिएको थियो । जसले गर्दा प्रदेश सांसदसमेत रहेका पहारीलाई कारबाही गर्नुपर्ने आवाज उठेको हो । 

एमाले नेता दीपक पौडेलको टिकट खोसिएपछि पृथ्वीसुब्बा गुरुङ पक्षले थापालाई हराउन लागेको आरोप लगाइएको छ । पोखराको मेयरको टिकट शुरुमा नेता पौडेलले पाएका थिए । 

पछि उनीमाथि सुन चोरेको आरोप लागेपछि टिकट खोसेर कृष्ण थापालाई दिइएको थियो । दीपक पृथ्वीसुब्बा समूहका भए पनि उनको टिकट सुरक्षित गर्न सकेनन् । आफ्नै समूहको टिकट खोसेर खगराज समूहलाई दिएपछि पृथ्वीसुब्बा निकट नेता–कार्यकर्ता कृष्ण थापालाई हराउन लागेको आरोप पार्टी अध्यक्ष केपी शर्मा ओलीको सचिवालयले समेत लगाएको छ । 

सार्वजनिक भएको अडियोमा कृष्ण थापालाई हराउन पृथ्वीसुब्बा गुरुङ, केन्द्रीय सचिव पद्मा अर्याल, केन्द्रीय सदस्य राजीव पहारी, केन्द्रीय सदस्य एवं इन्चार्ज भीम कार्की, कास्की जिल्ला अध्यक्ष मनबहादुर गुरुङ, एमाले प्रदेश कार्यालय सचिव माधव बाँस्तोला लागेको दाबी गरिएको छ । 

ओलीको सचिवालयमा रहेको साइबर व्यूरोको टोलीले सो अडियो सार्वजनिक गरेको छ । सामाजिक सञ्जालमा भाइरल भएको सो अडियोको विषयलाई लिएर पार्टी महासचिव शंकर पोखरेल, संगठन विभाग खगराज अधिकारीहरुको समूहले पृथ्वीसुब्बा गुरुङको समूहलाई कारबाहीको माग गरेको हो ।

कम्युनिष्टभित्र सात दशकदेखि नै लालगद्दार शब्द चर्चामा छ । गुरुङको टिमलाई यतिबेला लालगद्दारको दर्जा दिन खोजिएको छ । 



नयाँ