arrow

चुनाव हारेपछि लोसपामा भाँडभैलो

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ ४ बुधबार
losapa-ghosana.PNG
तस्बिर– फाइल

काठमाडौं । स्थानीय तहको चुनावमा पार्टीले अपेक्षा गरे अनुसार मत नल्याएपछि लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) भित्र भाँडभैलो शुरु भएको छ । पार्टी पराजय हुनुमा पार्टीका केन्द्रीय अध्यक्ष महन्थ ठाकुर र मधेस प्रदेश समितिका अध्यक्ष जितेन्द्र सोनलले जिम्मेवारी लिनुपर्ने भन्दै राजेन्द्र महतो निकट नेताहरूले आक्रोश पोखेका छन् । 

उनीहरुले पार्टीको नेतृत्व तुरुन्त फेर्नुपर्ने तर्क राखेका छन् । चुनाव अघिसम्म लोसपाका नेताहरुले यस पटक कम्तीमा पनि ३५ सिटमा पालिका प्रमुख जित्ने अपेक्षा राखेका थिए । अहिलेसम्म लोसपाले एक ठाउँमा पनि पालिका प्रमुख जितेको छैन । ११ स्थानमा लोसपाका उम्मेदवार अगाडि छन् । यो हिसाबबाट लोसपाले एकदर्जन सिट पनि जित्ने छैन । 

२०७४ को स्थानीय निर्वाचनमा तत्कालीन राष्ट्रिय जनता पार्टीले २५ सिट ल्याएको थियो । तत्कालीन राजपाका अधिकांश नेताहरु अहिले लोसपामा आबद्ध छन् । त्यसैले यसपटक कम्तीमा ३५ सिट ल्याउने लोसपाका नेताहरुले अनुमान गरेका थिए । 

लोसपाका कार्यकारिणी समितिका सदस्य राजिव झाले लोसपाले अपेक्षा गरे अनुसार परिणाम ल्याउन नसक्नुमा पार्टीको केन्द्रिय अध्यक्ष तथा मधेस प्रदेश समितिका अध्यक्षले जिम्मेवार लिनुपर्ने बताए । उनले भने, ‘पार्टी नेतृत्वले लोसपालाई एउटा क्लब जस्तै बनायो । पार्टीलाई फराकिलो बनाउन सकेन । युवाहरुलाई जिम्मेवारी दिइएन । त्यसको परिणाम अहिले देखिएको छ ।’

स्थानीय तहको चुनावमा लोसपा पराजय भएको विषयमा अब गम्भीर समीक्षा हुनुपर्ने बताए । ‘यो अवधिमा संगठन विस्तारको नाममा सिन्कोसमेत भाँचिएन । यस्तो अवस्थामा कसरी पार्टीले चुनाव जित्छ ?’ उनको प्रश्न छ । 

यसैगरी मधेस प्रदेशका सांसद तथा लोसपाका कार्यकारिणी समितिका सदस्य उपेन्द्र महतोले लोसपाले पराजय भोगेकोमा पार्टीको मधेस प्रदेश समिति जिम्मेवार हुनुपर्ने बताए । यसबारेमा तत्काल पार्टीले बैठक बोलाइ छानबिन हुनु पर्ने उनको भनाइ छ । लोसपाका अध्यक्ष महन्थ ठाकुर तथा वरिष्ठ नेता राजेन्द्र महतोको गृहजिल्ला तथा गृहवडामै लोसपा पराजित भएको छ । 

करिब ९ महिनाअघि लोसपा निर्वाचन आयोगमा दर्ता भएको थियो । ९ महिनासम्म संगठन विस्तार तथा सुदृढीकरणको लागि पार्टी नेतृत्वले केही काम नगरेको महतो निकट नेताहरुको भनाइ छ । लोसपाले अहिलेसम्म कार्यकारिणी समिति बाहेक अन्य कुनै समिति बनाएको छैन । 

पार्टीका भ्रातृ संगठनहरु बनाइएका छैनन । यहाँ सम्मकि अध्यक्ष ठाकुरले केन्द्रीय समितिसमेत बनाउन सकेका छैनन् । निर्वाचन आयोगमा बुझाइएको कार्यकारिणी समितिको सूचीलाई लोसपाले केन्द्रीय समिति मान्दै आएको छ ।  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ