arrow

उपेन्द्रले छोरालाई अगाडि बढाउन खोज्दा जसपालाई नोक्सान

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ ७ शनिबार
upendra-yadav-amarendra.jpg

काठमाडौं । जनता समाजवादी पार्टी जसपाका कार्यकारिणी समितिका अध्यक्ष उपेन्द्र यादवले आफ्ना छोरा अमरेन्द्र यादव (दिपेश) लाई राजनीतिमा अगाडि ल्याउन खोज्दा पार्टीलाई नोक्सान पुगेको छ । 

यादवको पुत्रमोहका कारणबाट जसपाले विराटनगर महानगरपालिकाको उपमेयर पद गुमाएको छ । जब कि विराटनगरमा मेयर पदमा गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार नागेश कोइरालाले भारी मतको अन्तरले चुनाव जितेका छन् । उपमेयर पदमा नेकपा (एमाले) की उम्मेदवार शिल्पा कर्णले चुनाव जितिन् । मेयरमा कोइरालाले ३० हजार १ सय ७० भोट ल्याए भने उनका प्रतिष्पर्धी एमालेका उम्मेदवार सागरकुमार थापाले २१ हजार ४सय ५५ मात्र भोट ल्याए । मेयरमा झण्डै ९ हजारको फरकले गठबन्धनका उम्मेदवारले चुनाव जिते । 

तर उपमेयरमा अमरेन्द्रले २४ हजार २ सय ११ भोट ल्याए । उपमेयरमा चुनाव जितेकी कार्कीले २५ हजार ६ सय ८० भोट ल्याइन् । यसबाट पुष्टि हुन्छ कि उपमेयरका उम्मेदवार अमरेन्द्र नै कमजोर थिए । अर्थात् व्यक्तिगत रुपमा अमरेन्द्र लोकप्रिय उम्मेदवार होइनन् । 

‘अमरेन्द्रको ठाउँमा जसपाले अर्को कुनै लोकप्रिय उम्मेदवारलाई टिकट दिएको भए जसपाले जित्ने निश्चित थियो । अध्यक्षज्यूको पुत्रमोहको कारणले जसपाले उपमेयर पद गुमाएको हो’ जसपाका एक केन्द्रीय सदस्यले भने । उनले आफनो नाम खुलाउन चाहेनन् । 

उनले भने, ‘यसबाट अध्यक्षज्यूले छोरालाई राजनीतिमा ल्याउन अलि हतार गरेको देखिन्छ । अझै केही वर्ष राजनीतिमा अनुभवी बनाएर मेयर या उपमेयरमा टिकट दिएको भए हुन्थ्यो ।’

विराटनगर जस्तो सचेत र संवेदनशील ठाउँमा जसपाले टिकट बाँड्ने बेला राम्रो र लोकप्रिय उम्मेदवार छानेको भए पार्टीको एक सिट नगुम्ने उनको विश्लेषण छ । 

त्यसो त छोरालाई विराटनगरको मेयर अथवा उपमेयर बनाउने यादवको चाहना पहिलेदेखिकै हो । छोरालाई राजनीतिमा ल्याउन उपेन्द्रले अमरेन्द्रलाई जसपाको विराटनगर समितिको नगर अध्यक्ष बनाएका छन् । 

जसपा निर्माण हुनुअघि तत्कालीन समाजवादीको विदेश विभाग समितिमा उपेन्द्रले छोरालाई नियुक्ति गरेका थिए । स्रोत भन्छ, ‘२०७० सालको चुनावपछि उपेन्द्रले छोरालाई कुनै न कुनै रुपमा अगाडि बढाउन खोजेका छन् ।’ एमालेका पालामा उपेन्द्र स्वास्थ्यमन्त्री भएको बेला उनले छोरालाई आफ्नो सचिबालयमा राखेका थिए । त्यसबेला स्वास्थ्यमन्त्रालयले गर्ने महत्वपूर्ण निर्णयमा छोराको चासो हुने गथ्र्यो । 

सिट बाँडफाँड हुनुअघि उपेन्द्रले सत्तारुढ गठबन्धन दलहरुसँग विराटनगर महानगरमा मेयर या उपमेयरमध्ये एक पद जसपाले पाउनै पर्ने अडान राखेका थिए । मेयर या उपमेयरमध्ये एक सिट नपाए गठबन्धनमै नबस्ने चेतावनी उनले दिएका थिए । 

यसबाट थाहा हुन्छ कि छोरालाई विराटनगरमा मेयर अथवा उपमेयरमा उम्मेदवार दिन लगाउने उपेन्द्रको चाहना पहिलेदेखिकै हो । उपेन्द्रको चाहनाअनुसार जसपाले विराटगरमा उपमेयर पायो पनि । 

त्यसो त पार्टीका प्रमुख नेताहरुले आफ्नो परिवारका सदस्यलाई सार्वजनिक लाभको पद दिलाउन मरिहत्ते गर्ने उपेन्द्र यादव एक्ला भने होइनन् । लोकतान्त्रिक समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले सलाहीको चन्द्रनगर नगरपालिकाको मेयरमा आफ्नै दाजु महेन्द्र यादवलाई मेयरमा उम्मेदवारी दिन लगाए । तर राजेन्द्रका दाजुले चुनाव हारे । 

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले छोरी रेणु दाहाललाई भतरपुरको मेयर बनाउन कतिसम्म प्रयास गरेका छन् त्यो विषय जगजाहेर नै छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ