arrow

छोराले चुनाव हारेपछि उपेन्द्र यादव आफूले जित्ने चुनावी क्षेत्र खोज्दै 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ ९ सोमबार
upendra-yadav-jasapa.jpg
तस्बिर– फाइल

काठमाडौं । स्थानीय तहको निर्वाचनमा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवको निर्वाचन क्षेत्र सप्तरी २ मा अपेक्षा गरेअनुसार परिणाम नल्याएपछि यादव आगामी संसदीय निर्वाचनमा सप्तरी २ नै छाड्ने भएका छन् । 

सप्तरी २ मा ४ वटा पालिका छन् । जसमध्ये ३ वटा पालिकामा लोकतान्त्रिक समाजवादी पार्टी विजयी भएको छ । एउटा पालिकामा मात्र जसपा विजयी भयो । सप्तरी २ मात्र होइन सिङ्गो जिल्लाभरी जसपाले अपेक्षा गरेअनुसार परिणाम ल्याउन सकेन । सप्तरीका १८ वटा पालिकामामा जसपा र लोसपाको बराबरी स्थिति रह्यो । त्यहाँ जसपा र लोसपाले ३–३ सिट जितेका छन् । 

‘स्थानीय तहको निर्वाचनको परिणामलाई हेर्दा सप्तरी २ अब पार्टी अध्यक्ष उपेन्द्र यादवको सुरक्षित क्षेत्र रहेन । यस क्षेत्रमा लोसपामा बाहुल्यता देखियो’ जसपाका एक केन्द्रीय समिति सदस्यले भने, ‘सम्भवतः पार्टी अध्यक्षज्यूले आगामी संसदीय निर्वाचनमा सप्तरी २ बाट उम्मेदवार दिनु हुने छैन ।’

त्यसो त पार्टी अध्यक्ष यादवको विगतको पृष्ठभूमि हेर्दा पनि अब उनले सप्तरी २ मा उम्मेदवारी दिने सम्भावना निकै कम छ । किनभने हरेक चुनावमा उनले निर्वाचन क्षेत्र फेर्ने गरेका छन् । अहिलेसम्म उनले ३ पटक ३ संसदीय चुनावमा उम्मेदवारी दिए । तीन पटक नै उनले निर्वाचन क्षेत्र फेरेका छन् । 

पछिल्लो २०७४ को निर्वाचनमा उनी सप्तरी २ बाट निर्वाचित भएका छन् । २०७० सालको निर्वाचनमा उनी सुनसरी ५ बाट निर्वाचित भएका थिए । यसैगरी २०६४ को निर्वाचनमा उनी मोरङ र सुनसरीबाट निर्वाचित भएका थिए । 

मतदाता नामावलीमा उनको नाम मोरङको विराटनगर महानगरपालिका १४ स्थित डिग्री क्याम्पस मतदान केन्द्रमा रहेको छ । उनको पुर्ख्यौली घर भने सप्तरीको मदेवा गाउँपालिकामा पर्छ ।  

स्थानीय तहको निर्वाचनमा तराई–मधेसमा जसपाको प्रतिष्पर्धी मानिएको लोसपा र जनमत पार्टीको प्रभाव सप्तरीमै देखिएको छ । सिके राउतको जनमत पार्टीले सप्तरीमा २ वटा पालिका जितेको छ । उसले जितेको पनि त्यहाँ मात्र हो । यादवको निर्वाचन क्षेत्र सप्तरी २ मा समग्र भोट जोड्दा लोसपा अगाडि आएको छ । 

यता मोरङ पनि अध्यक्ष यादवका लागि त्यति सुरक्षित क्षेत्र रहेन । किनभने अध्यक्ष यादवका पुत्र अमरेन्द्र यादवले विराटनगर महानगरपालिकाको उपमेयर पदमा चुनाव हारेका छन् ।
  
जब कि उनलाई नेपाली कांग्रेस, माओवादी केन्द्रसहित गठबन्धनको समर्थन थियो । स्रोत भन्छ, ‘अमरेन्द्रले विरानगरमा चुनाव जितेको भए सायद पार्टी अध्यक्ष उपेन्द्र यादव विराटनगरबाटै चुनाव लड्न सक्थे । तर अब विराटनगरबाट पनि चुनाव लड्ने सम्भावना त्यती रहेन ।’ 

अमरेन्द्रले विराटनगरमा घर बनाएका छन् । त्यसैले उनलाई विराटनगरमै स्थापित गराउने यादवको चाहना थियो । यो चाहनामा तत्कालका लागि ठेस लागेको छ । 

स्थानीय निर्वाचनमा जस्तो संसदीय निर्वाचनमा मतदाता सूची भएकै निर्वाचन क्षेत्रबाट उम्मेदवारी दिनु पर्छ भन्ने छैन । देशभर जहाँबाट उम्मेदवारी दिए पनि हुन्छ । त्यसैले अब अध्यक्ष यादवका लागि निर्वाचन जित्न सक्ने सुरक्षित निर्वाचन क्षेत्रको खोजी भइरहेको स्रोत बताउँछ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ