arrow

काला सागर नाकाबन्दीले विश्व खाद्य संकटमा, युक्रेनी अन्न निकाल्न पानीजहाजको ताँती पठाउँदै

logo
प्रकाशचन्द्र जोशी,
प्रकाशित २०७९ जेठ १७ मंगलबार
black-sea-ukraine-food-world (1).png

काठमाडौं । युक्रेनमा रुसले युद्ध शुरु गरेको तीन महिना भइसक्दा क्रेमलिनले युक्रेनको ब्ल्याक सीमा रहेका बन्दरगाहहरूमा नाकाबन्दी जारी राखेको छ । यसले विश्वव्यापी खाद्य संकटको डर बढाएको छ ।

युक्रेन विश्वमा गहुँको पाँचौं ठूलो निर्यातकर्ता हो र यस महिनाको शुरुमा संयुक्त राष्ट्र संघको विश्व खाद्य कार्यक्रमका कार्यकारी निर्देशक डेभिड बिस्लीले युक्रेनी बन्दरगाहहरू अवरुद्ध हुँदा विश्वभरि लाखौं मानिसहरू भोक संकटले मर्ने चेतावनी दिएका छन् ।

ब्ल्याक सीको नाकाबन्दी

ब्ल्याक सी अर्थात् काला सागरको उत्तरमा युक्रेन, पूर्वमा रुस र जर्जिया, दक्षिणमा टर्की र पश्चिममा बुल्गेरिया र रोमानिया रहेको छ। 

रुसले फेब्रुअरी २०२२ मा युक्रेनविरुद्ध युद्ध शुरु गरेयता युक्रेनले केही उल्लेखनीय समुद्री सफलताहरू प्राप्त गरे पनि काला सागरको उत्तरमा अझै क्रेमलिननै शक्तिशाली छ र यसले युक्रेनी बन्दरगाहहरू अवरुद्ध गरेको छ।

समाचार एजेन्सी रोयटर्सका अनुसार रुसी उपविदेशमन्त्री आन्द्रेई रुडेन्कोले बुधबार टर्की, युक्रेन र रुसबीचको वार्ताका क्रममा केही पश्चिमी प्रतिबन्ध हटाए मात्रै मास्को खाद्यान्न बोक्ने जहाजहरूका लागि कोरिडोर उपलब्ध गराउन तयार रहेको बताएका छन् ।

विश्व नेताहरूले काला सागरमा रुसी नाकाबन्दी हटाउने उपायहरूबारे विचार गर्दा लिथुआनियाका विदेशमन्त्री ग्याब्रिएलियस ल्यान्ड्सबर्गिसले इच्छुक गठबन्धन समावेश गर्ने नौसैनिक मिसन सिर्जना गर्ने प्रस्ताव गरेका छन् ।

उक्त मिसनले युक्रेनी जहाजहरूलाई रुसी क्षेप्यास्त्रहरूबाट जोगाउने र फलस्वरूप युक्रेनी अन्नलाई कालो सागर कटाएर विश्वभर निर्यात गर्न सकिने उनको भनाइ छ ।

'अन्नको आपूर्तिलाई सुरक्षित रूपमा ओडेसाबाट रुसी हस्तक्षेप बिना बोस्पोरस पुर्याउन यस प्रयासमा सैन्य जहाजहरू वा विमानहरू वा दुवै प्रयोग गरिनेछन् । यसका लागि हामीलाई अन्न आपूर्तिबाट प्रभावित भएका र नौसैनिक शक्ति भएका इच्छुकहरुको गठबन्धन चाहिन्छ,'उनले यस हप्ताको सुरुमा गार्जियनसँगको अन्तर्वार्तामा भनेका छन् ।

'यो गैर सैन्य मानवीय मिशन हुनेछ र नो फ्लाई जोनसँग तुलना गर्न सकिँदैन,' उनले थपे।

ल्यान्ड्सबर्गिसको प्रस्तावलाई बेलायतले सावधानीपूर्वक स्वागत गरेको छ । बेलायती विदेश सचिव लीज ट्रसले ओडेसाको बन्दरगाहलाई यसरी सुरक्षित गर्न सकिने भए बेलायतले एस्कर्टमा सामेल हुन नौसेना ताँती पठाउने बताएकी छिन् ।

ट्रसले अघि भनेकी छिन्, 'हामीले यो विश्वव्यापी खाद्य सुरक्षा मुद्दासँग लड्न आवश्यक छ र बेलायतले युक्रेनबाट अन्न बाहिर निकाल्नको लागि तत्काल समाधानमा काम गरिरहेको छ ।'

फ्रि युक्रेन टास्क फोर्समा आबद्ध एवं रासमुसेन ग्लोबलका नीति निर्देशक ह्यारी नेडेल्कुले लिथुआनियाली प्रस्ताव ब्ल्याक सीमा कसरी नाकाबन्दी तोड्ने भनेर सोच्ने राम्रो तरिका भएको बताएका छन् ।

पूर्व नेटो महासचिव एन्र्स फोग रासमुसेनद्वारा स्थापना गरिएको रासमुसेन ग्लोबल एक राजनीतिक परामर्श फर्म हो ।

'जब तपाईंले काला सागर र रुससँग भएका जहाजहरू हेर्नुहुन्छ, हामी पनडुब्बीहरू सहित केही दर्जन जहाजहरूको बारेमा कुरा गर्दैछौं। त्यसैले नाकाबन्दी हटाउने अर्को विकल्प देशहरूले युक्रेनलाई यी रुसी जहाजहरूलाई डुबाउन थप परिष्कृत आधुनिक हतियारहरू दिनु हो।  त्यसपछि त्यहाँ कुनै नाकाबन्दी हुने छैन र उनीहरूले आफ्ना अन्नका भाँडाहरू सिधै पठाउन सक्छन्,' नेडेल्कुले अघि भनेका छन् ।

नेटो संलग्न हुन सक्छ ?

क्रेमलिनले बारम्बार नेटोको पूर्व तर्फको विस्तारको आलोचना गरिरहँदा लिथुआनियाका विदेशमन्त्री ल्यान्ड्सबर्गिसले पनि विश्वको सबैभन्दा ठूलो रक्षा गठबन्धन नेटो कालो सागरमा यस्तो नौसैनिक अभियानको हिस्सामा सामेल नहुनुपर्ने बताएका छन् ।

स्टकहोम इन्टरनेशनल पीस रिसर्च इन्स्टिच्युट (एसआईपीआरआई) मा युरोपेली सुरक्षा कार्यक्रमका निर्देशक इयान एन्थोनीले नेटोको फ्रेमवर्क बाहिर रहेर नेटो देशहरूले आफ्नो राष्ट्रिय क्षमतामा धेरै पटक नौसेना सहयोग मिसनहरू सञ्चालन गरेको बताएका छन् ।

'हिन्द महासागर, लाल सागर र दक्षिणपूर्व एसियामा व्यापारिक ढुवानीलाई डकैतीबाट जोगाउनको लागि अन्तर्राष्ट्रिय मिशन रहेका छन्। पश्चिम अफ्रिका र हिन्द महासागरमा समुद्री डकैतीबाट जहाजहरूलाई बचाउनको लागि ईयुका मिशाहरु रहेका छन् । युक्रेनी जहाजहरूको सुरक्षाका लागि कालो सागरमा नौसैनिक मिसनले पनि नेटोबिना त्यस्तो काम गर्न सक्छ,' उनले भनेका छन् ।

टर्कीको भूमिका

साथै, लिथुआनियाली मन्त्रीले बेलायत बाहेक युक्रेनी अन्नको क्षतिबाट प्रभावित इजिप्ट जस्ता देशहरूले पनि खाद्यान्न बोकेका युक्रेनी जहाजहरूलाई सुरक्षाका लागि आफ्नो जहाज पठाउन भूमिका खेल्न सक्ने सुझाव दिएका छन्।

मेको शुरुमा एसआईपीआरआईको लागि एक रिपोर्टमा एन्थोनीले नाकाबन्दी हटाउन सहयोग गर्न जहाजहरू उपलब्ध गराउन चीन र भारत जस्ता धेरै देशहरू समावेश गर्ने अन्तर्राष्ट्रिय फ्लीटलाई कसरी संयुक्त राष्ट्र संघले व्यवस्थित गर्न सक्छ भनेर पनि बताएका थिए।

'मेरो विचारमा नौसैनिक ताँतीहरू खाद्य सुरक्षाको सन्दर्भमा सबैभन्दा बढी जोखिममा रहेका देशहरूलगायत धेरै राष्ट्रहका जहाजहरू मिलेर बन्ने र तिनीहरूले युक्रेनी अन्न बोक्ने जहाजहरूलाई काला सागर पार गर्दा जोगाउन भूमिका खेल्नेछन्,' उनले भनेका छन् ।

चीन र भारत जस्ता राष्ट्रहरूले युक्रेनमा रुसको आक्रमणको निन्दा गर्नबाट टाढा रहे पनि यस्तो अन्तर्राष्ट्रिय नौसैनिक मिशन खाद्य असुरक्षा कम गर्न मानवीय मिशनको रूपमा बनाइएको हुँदा ती देशले पनि समर्थन नगर्ने कुनै कारण नभएको बताएका छन् ।

यसबाहेक उनले यस नौसैनिक मिशनमा काला सागरको प्रवेशद्वारको सुरक्षा गर्ने टर्कीले अभिन्न भूमिका खेल्न सक्ने बताएका छन् ।

'युद्धको समयमा कसरी कार्य गर्ने भन्नेबारे मोन्ट्रो कन्भेन्सन अन्तर्गत टर्कीसँग कानूनी दायित्वहरू छन् । टर्कीले युक्रेनमा युद्ध भएको स्वीकार गरेकोले यो मोन्ट्रेक्स कन्भेन्सनअन्तर्गत टर्की सैन्य जहाजका लागि स्ट्रे बन्द गर्न बाध्य छ र त्यो उनीहरूले गरेका छन्,' एन्थोनीले भनेका छन् ।

मोन्ट्रो कन्भेन्सनले टर्कीको बोस्पोरस र डार्डानेलेसलाई नियन्त्रित गर्दछ र काला सागरमा समुद्री यातायातलाई नियमन गर्दछ। यद्यपि युद्धकै समयमा पनि निश्चित किसिममा टर्कीले युद्धपोतलाई रोक्न नदिने बुँदा पनि रहेको उनले बताएका छन्।

उनले खाद्य संकटले टर्कीमा पहिले नै प्रभाव पारेको समेत बताएका छन् । एउटा टर्कीले युद्धमा सक्रिय सहभागी भएर र अर्काे खाद्य संकटमार्फत आफ्नो राष्ट्रिय खतरा भएको बिषयलाई देखाए त्यहाँ सैन्य युद्धपोत जान दिनसक्छ ।

त्यसैले टर्कीले खाद्यान्नको अवस्थालाई टर्कीको राष्ट्रिय सुरक्षाको लागि आसन्न खतरा मान्दै महासन्धि अन्तर्गत स्ट्रेटहरूबाट जाने सैन्य जहाजहरूलाई अनुमति दिन सक्षम हुने र त्यसले नाकाबन्दी हटाउन यो नौसैनिक मिसनमा भूमिका खेल्नसक्ने एन्थोनीले बताएका छन्।

नेडेक्लुले यो नौसेना एस्कर्टमा कुन देशले भाग लिने छन् भन्ने कुरा बताउन अहिले नै हतार हुने बताएका छन् । तर रुसीहरुले गरेको कार्यले अहिले विश्वलाई असर गरिरहेको संकेत रुसले पाउने उनको भनाइ छ । (एजेन्सीको सहयोगमा)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ