arrow

वालेन्द्र पुगे प्रधानमन्त्रीलाई भेट्न बालुवाटार 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ १८ बुधबार
walendra-deuba.jpg

काठमाडौं । अन्ततः प्रधानमन्त्री शेरबहादुर देउवासँग काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर वालेन्द्र साहले भेट गरेका छन् । नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री देउवालाई भेट्न उनी प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका हुन् । 

भेटमा प्रधानमन्त्री देउवाले साहलाई महानगरको मेयर भएकोमा बधाई दिएका थिए । त्यसक्रममा मेयर शाहले महानगरको विकास निर्माणमा सहयोगका लागि पार्टी र सरकारका तर्फबाट देउवासँग सहयोग मागेका थिए । 

प्रधानमन्त्रीले महानगरले गर्ने काममा सरकार र नेपाली कांग्रेसको साथ र सहयोग रहने बताएको प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिए । 

‘विकासको काममा सहयोग हुन्छ, महानगरको कार्यपालिकामा कांग्रेसको बहुमत छ, सबैको सहयोग हुन्छ,’ भेटमा देउवाको भनाइ उदृत गर्दै उनले भने । साहले कांग्रेससँग सहकार्य गरेर अघि बढ्ने बताएका थिए । 

साहले यसअघि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग पनि उनकै निवास बालकोट पुगेर भेटवार्ता गरेका थिए । तर उनको बालकोटको यात्रा भने शंकास्पद रहेको थियो । 

वालेन्द्र मतगणना हुँदाहुँदै नै बालकोट पुगेका थिए । त्यो भेट निकै गोप्य राखिएको थियो । मंगलबार मात्र ओलीलाई भेटेको तस्बिर सार्वजनिक भएको थियो । 

त्यसो त वालेन्द्रले मतगणनाको तेस्रो दिनमै नेपाल मजदूर किसान पार्टीका नेताहरुलाई भेट्न भक्तपुर पुगेका थिए । उनले भक्तपुर पुगेर नेमकिपाको निर्वाचित टिमलाई बधाईसमेत दिएका थिए । 

उनले शुरुआतदेखि नै भक्तपुरमा नेमकिपाको कामबाट प्रभावित भएको बताउँदै आएका थिए । 

वालेन्द्रले स्वतन्त्र उम्मेदवारी दिएर काठमाडौंको मेयर जितेका हुन् । उनी स्वतन्त्र भए पनि मतगणना चल्दै गर्दा कहिले नेमकिपाका नेताहरुलाई भेट्न पुग्नु र कहिले केपी ओलीलाई भेट्न पुग्नुले उनको फ्लेभर कतै कम्युनिष्ट पार्टीतिर त छैन ? भन्ने शंका उब्जिएको थियो । 

अर्कातिर एमालेले वालेन्द्रको विरोध गरेको थिएन । नकि ओलीले नै केही बोलेका थिए । 

महानगरमा एमालेका उम्मेदवार केशव स्थापितमाथि एमालेकै नेता कार्यकर्ताले ‘लाल गद्दारी’ गरेको टिप्पणी भइरहँदा त्यो मत जति वालेन्द्रलाई गएको चर्चा छ ।

त्यस्तै महानगरका जनप्रतिनिधिको शपथग्रहणपछिको पहिलो बैठकमा समेत एमालेका वडाध्यक्षहरु नरम भएर प्रस्तुत भएपछि पनि राजनीतिक वृत्तमा शंका उपशंका उब्जिएको छ । 

जेहोस् काठमाडौंका मतदाताले पहिलो पटक एक स्वतन्त्र उम्मेदवारलाई जिताएका छन् । त्यसमाथि वालेन्द्रले आफ्नो भिजन स्पष्टसँग राखेका छन् । 

इञ्जिनियर भएको नाताले उनले काठमाडौंलाई सही दिशामा लैजाने प्रण गरेका छन् । मतदाताले नै भारी मतले जिताएपछि उनका सारथीहरुले साथ नदिइ पक्कै सुख छैन होला । 

मत स्वतन्त्र उम्मेदवार भएकैले जसरी मतदाताले उनलाई दिल खोलेर मतदान गरे त्यसरी नै मान राख्नेछन् भन्नेमा शुरुआतकै दिनहरुमा शंका गर्नु मूर्खता नै हो । 

लोकप्रिय मत पाएका वालेन्द्रप्रति भरोसा सबैको छ । उनी देशभरका स्वतन्त्र जितेका उम्मेदवारमध्येका लोकप्रिय पनि छन् । र, जसरी उनले आफ्नो पहिलो बैठककै प्रत्यक्ष प्रसारण गरेर पारदर्शी हुने संकेत गरेका छन् त्यसले काठमाडौंको विकास र सौन्दर्य बढाउन झनै मद्धत गर्ने विश्वास गर्न सकिन्छ । 

उनको भ्रष्टाचार हुन नदिने अभियानले पक्कै पनि भोलिका दिनमा अनुकरणीय पात्र बन्नेमा दुईमत नहोला । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ