- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिका कार्यपालिकाको पहिलो बैठकले माध्यमिक तह सम्मको शिक्षा निःशुल्क गर्ने निर्णय गरेको छ । नगरपालिकाको कार्यपालिकाको बैठकले माध्यमिक तह सम्मको शिक्षा निःशुल्क गर्ने निर्णय गरेको हो ।
नव निर्वाचित नगर प्रमुख अजय थापाले कार्यभार ग्रहण गर्दै नगरमा माध्यमिक तह सम्मको निशुल्क शिक्षा लागु गर्ने घोषणा गरेका हुन् । नगर प्रमुख थापाले गरेको घोषणालाई अब कार्यपालिकाले निर्णय गर्दै कार्यान्वयन गर्ने भएको छ ।
आर्थिक वर्ष २०७९–०८० र शैक्षिक सत्र २०८० बाट अनिवार्य आधारभूत शिक्षा र निःशुल्क माध्यमिक शिक्षा लागू गर्ने निर्णय कार्यपालिकाले गरेको हो । यस सम्बन्धमा गृहकार्य गरी प्रतिवेदन तयार गर्न बैठकले नगर प्रमुख थापाको संयोजकत्वमा कार्यदलसमेत गठन गरेको छ ।
कार्यदलमा उपप्रमुख शिवकुमारी चौधरी, वडा अध्यक्षहरु रिजवान अहमद, रामगोपाल चौधरी, मन्जु मिश्र, माहेताब आलम खा, सामाजिक विकास समिति संयोजक, आर्थिक प्रशासन शाखा प्रमुख सदस्यहरु रहेका छन् भने शिक्षा युवा तथा खेलकुद शाखा सदस्य सचिव रहने गरी कार्यदल गठन गरिएको छ ।
यस्तै नगरको पहिलो कार्यपालिका बैठकले स्थानीय तह निर्वाचन, २०७४ मा नगरपालिकाका निवर्तमान जनप्रतिनिधिलाई ५ वर्षे कार्यकाल सफल रुपमा व्यतित भएकोमा धन्यवाद ज्ञापन गर्ने र औपचारिक कार्यक्रम गरी बिदाइ गर्ने निर्णय गरेको छ ।
बैठकले स्थानीय तह सदस्य निर्वाचन, २०७९ मा अमूल्य मत दिइ निर्वाचित गराउने सम्पूर्ण शिवराज नगरवासीलाई आभार प्रकट गर्दै हार्दिक धन्यवाद ज्ञापन समेत गरेको छ ।
बैठकले नगर कार्यपालिका (कार्य विभाजन) नियमावली २०७४ को अनुसूची ५ मा व्यवस्था भए बमोजिमका समितिहरुमा संयोजक र सदस्यहरु समेत तोकेको छ ।
योजना पूर्वाधार र संरचना विकास समिति संयोजकमा वडा नं ११ का वडा अध्यक्ष रामेश्वर बर्मा , जनसंख्या तथा सामाजिक विकास समितिको संयोजकमा वडा नं ३ का वडा अध्यक्ष टेकलाल सापकोटा, आर्थिक विकास समिति संयोजकमा वडा नं ७ का वडा अध्यक्ष अनुपकुमार चौधरी , कृषि वन तथा वातावरण र विपद् व्यवस्थापन समिति संयोजक वडा नं ५ का अध्यक्ष नेत्र प्रसाद बेल्वासेको, सुशासन तथा संस्थागत विकास समिति संयोजक वडा नं ४ का अध्यक्ष नसिम अहमद खाँ, विधेयक समिति संयोजक वडा नं २ का वडा अध्यक्ष रामबहादुर चौधरीलाई तोकेको छ ।
यस्तै बैठकले स्थानीय सरकार संचालन ऐन, २०७४ ले व्यवस्था गरे अनुसार विभिन्न समितिहरु गठन गरेको छ । उपप्रमुख शिवकुमारी चौधरीको संयोजकत्वमा ३ सदस्यीय, राजश्व परामर्श समिति, नगर प्रमुख अजय थापाको संयोजकत्वमा ५ सदस्यीय श्रोत अनुमान तथा बजेट सीमा निर्धारण समिति, उप प्रमुख चौधरीको संयोजकत्वमा ७ सदस्यीय बजेट तथा कार्यक्रम तर्जुमा समिति र ३ सदस्यीय न्यायिक समिति गठन गरेको छ ।