- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । स्थानीय तहको निर्वाचनमा अपेक्षाकृत परिणाम ल्याउन नसकेपछि लोकतान्त्रिक समाजवादी पार्टी र जनमत पार्टीले आगामी संसदीय निर्वाचनमा अन्य कुनै दलसँग गठबन्धन या तालमेल गरेर अघि बढ्ने नीति बनाएका छन् ।
गत स्थानीय तहको निर्वाचनमा लोसपाले १६ र जनमत पार्टीले २ सिटमात्र जितेका थिए । २०७४ सालको निर्वाचनमा तत्कालीन राष्ट्रिय जनता पार्टीले २५ सिट जितेको थियो । जबकि त्यसबेला राजपा मधेस प्रदेशमामात्र सहभागी थियो । त्योबेला राजपामा रहेका अधिकांश नेताहरू अहिले लोसपामा आबद्ध छन् । तर यसपटक लोसपाले सोचे जस्तो परिणाम ल्याउन सकेन ।
लोसपाको आइतबार सम्पन्न कार्यकारिणी समितिको बैठकले विचार मिल्ने दलसँग र लोसपाले उठाएका माग मुद्दाप्रति प्रतिबद्ध जनाउने दलसँग गठबन्धन गरेर अघि बढ्ने निर्णय गरेको छ । कार्यकारिणी समितिका सदस्य केशव झाले संसदीय निर्वाचनमा गठबन्धन गरेर अघि बढ्ने विषयमा पार्टीले सैद्धान्तिक निर्णय गरेको बताए ।
‘हामीले उठाएका माग मुद्दासँग प्रतिबद्ध हुने र विचार मिल्ने दलसँग गठबन्धन गरेर अघि बढ्ने पार्टीले निर्णय गरेको छ’ झाले भने, ‘अहिले नै यही पार्टीसँग गठबन्धन हुन्छ भनेर भन्न सकिन्न । तर गठबन्धन गरेर अघि बढ्ने हाम्रो नीति भएको छ ।’
शनिबारमात्र प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग लोसपाका अध्यक्ष महन्थ ठाकुरले कुराकानी गरेका थिए । उक्त भेटमा ठाकुरले प्रधानमन्त्रीसँग आगामी संसदीय निर्वाचनमा लोकतान्त्रिक शक्तिहरूले गठबन्धन या तालमेल गरेर अघि बढ्न प्रस्ताव गरेका थिए ।
आइतबार सम्पन्न लोसपाको बैठकमा लोसपाका अधिकांश नेताहरूले गत स्थानीय निर्वाचनमा पार्टीले अन्य दलसँग गठबन्धन नगरेर चुनावमा गएकाले पार्टीले अपेक्षा गरेअनुसार भोट ल्याउन नसकेको भनाइ राखेका थिए ।
‘स्थानीय तहको निर्वाचनमा कतै पाँच दलीय गठबन्धन थियो भने गठबन्धन नभएको ठाउँमा पनि गठबन्धनको मनोविज्ञान थियो ।
पाँच दलीय भित्रकै दलले चुनाव जित्नु पर्छ भन्ने मनोविज्ञान थियो, ‘झाले भने, ‘त्यस्तो स्थितिमा हामी एक्लै चुनाल लडेका थियौं । तैपनि हामीले जति भोट ल्यायौं त्यसमा सन्तोष गर्ने ठाउँ छ ।’
प्रतिकुल परिस्थितिमा लोसपा चुनावमा होमिएकाले पार्टीले अपेक्षा गरेअनुसार सिट ल्याउन नसकेको धारणा बैठकमा नेताहरूले राखेका थिए । ‘एकातिर राज्य शक्तिको व्यापक दुरुपयोग भएको थियो । अर्को तिर हाम्रोलागि परिस्थिति प्रतिकुल थियो’ झाले भने ।
बैठकमा अध्यक्ष ठाकुरले शनिबार प्रधानमन्त्री र आफूबीच भएको भेटवार्ताको बारेमा बिफ्रिङ गरेका थिए । भेटमा प्रधानमन्त्रीले लोसपाले राखेका माग मुद्दा कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएको ठाकुरले बताएका थिए ।
यसैगरी जनमत पार्टीले पनि संसदीय निर्वाचनमा अन्य कुनै दलसँग गठबन्धन या तालमेल गरेर अघि बढ्ने नीति बनाएको छ ।
जनमत पार्टीका नेता वीपी साहले आगामी संसदीय निर्वाचनमा विचार मिल्ने दलसँग गठबन्धन या तालमेल गर्ने पार्टीले निर्णय गरेको बताए ।
जनमत पार्टी पहिलो पटक स्थानीय तहको निर्वाचनमा सहभागी भएको थियो ।