- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का शीर्ष नेताहरु प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् । लोसपाका अध्यक्ष महन्थ ठाकुर नेतृत्वको टोली मङ्गलवार बालुवाटार पुगेको हो ।
अध्यक्ष ठाकुरका साथमा नेताहरू राजेन्द्र महतो, शरतसिंह भण्डारी, लक्ष्मणलाल कर्णलगायतका नेताहरू बालुवाटार पुगेका थिए । उनीहरूले जन्मसिद्ध नागरिकका सन्तानलाई नागरिकता प्रदान गरिनुपर्ने तथा आफ्ना नेता–कार्यकर्ताका मुद्दा फिर्ता लगायतका माग राख्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई ११ बुँदे ज्ञापन पत्र बुझाए ।
ज्ञापन पत्र बुझ्दै प्रधानमन्त्री देउवाले सो पार्टीका मागप्रति सकारात्मक रहेको भन्दै कार्यान्वयनका लागि पहल गर्ने बताएको लोसपाका नेता लक्ष्मणलाल कर्णले जानकारी दिए । उनले भने, “हामी (लोसपा) ले प्रधानमन्त्रीलाई मागसहितको ज्ञापन पत्र बुझायौँ, उहाँ सकारात्मक हुनुहुन्छ, कार्यान्वयन गर्ने बचन दिनुभएको छ, हामी विश्वस्त छौँ वर्तमान सरकारले यसलाई कार्यान्वयन गर्नेछ ।”
लोसपाले विगतदेखि उठाएका माग, यसअघिका विभिन्न सरकारसँग गरेका समझदारी र सम्झौता कार्यान्वयन नभएको भन्दै अविलम्ब कार्यान्वयन गर्न वर्तमान सरकारको ध्यानाकर्षण गराएको छ । ज्ञापन पत्रमा मधेस-थरुहट आन्दोलनलगायत नेता कार्यकर्तामाथि लगाइएका मुद्दा फिर्ता लिनुपर्ने, रेशम चौधरीलगायत बन्दीहरूको रिहाइ गरिनुपर्ने माग गरिएको छ ।
नेपालका उत्पीडित समुदाय मधेसी, थारु, आदिवासी जनजाति, शिल्पी (दलित), महिला, मुस्लिमलगायतका सम्मान, पहिचान र अधिकार प्राप्तिको लागि संविधान संशोधन गर्न लोसपाले माग गरेको छ ।
यस्तै तीन तहको सरकारद्वारा समानुपातिक बजेट वितरणको सिद्धान्त लागू गर्नुपर्ने, लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने, विगतमा संयुक्त लोकतान्त्रिक मधेशी मोर्चासँग गरिएका सम्झौता लागू गर्नुपर्ने ज्ञापन पत्रमा भनिएको छ ।
त्यसैगरी स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न सुनिश्चित गरिनुपर्ने, कृषकलाई मलको व्यवस्था गर्नुका साथै बाढीपहिरोलगायत विपद् जोखिम नियन्त्रण र विस्थापितको बसोबासको व्यवस्था गरिनुपर्ने, भूमीहिन उत्पीडित समुदायलाई प्राथमिकतामा राखेर जग्गा उपलब्ध गराउन लोसपाले ध्यानाकर्षण गराएको छ ।