arrow

युक्रेनी अन्न निर्यात गर्ने योजनामा टर्की र रुस असफल: खाद्य संकट बढ्दै

बन्दरगाहबाट रुसले युक्रेनी अन्न चाेरेकाे आरोप

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ २६ बिहिबार
Sergei Lavrov-Mevlut Cavusoglu.jpg

काठमाडौं। बुधबार अंकारामा वरिष्ठ अधिकारीहरू बीचको बैठकपछि रुस र टर्की ब्ल्याक सी बन्दरगाहबाट बाँकी विश्वमा युक्रेनी अन्न निर्यात गर्ने योजनाको टुंगोमा आउन असफल भएका छन् ।

रुसी विदेश मन्त्री सर्गेई लाभरोभले मिकोलाएभ र ओडेसा बन्दरगाहमा बिष्फोटक पदार्थ राखेर अन्न र सुर्यमुखी तेल जस्ता पदार्थको निर्यात रोकिएको भन्दै यो संकटका लागि युक्रेनलाई दोषी देखाएका छन् ।

टर्कीका विदेश मन्त्री मेभल्ट काभुसोग्लुले पश्चिमी प्रतिबन्धहरू खुकुलो पारेमा खाद्य निर्यातलाई सहज बनाउन सकिने सुझाव दिएका छन् ।

अंकारा बैठकमा आमन्त्रित नगरिएको युक्रेनले रुसमाथि विश्वसा नभएको बताएको छ। बन्दरगाहबाट बिष्फोटक पदार्थ हटाएमा राष्ट्रपति भ्लादिमिर पुटिनको आदेशमा ब्ल्याक सीमा रहेको सेनाले आफुमाथि आक्रमण गर्ने चिन्ता व्यक्त गरेको छ।

'ठूलो दुस्खका साथ हामी देख्छौं कि युद्धसँगै विनाश र मानवीय त्रासदी बढ्दै गएको छ,' टर्कीका विदेशमन्त्री काभुसोग्लुले पत्रकारहरूसँग बोल्दै भनेका छन्, 'हामी विश्वास गर्छौं कि यो लडाइँको अन्त्य गर्नु यो सम्पूर्ण क्षेत्र र सम्पूर्ण मानवताको हितमा हुनेछ।'

संयुक्त राष्ट्रसंघले टर्की र अन्य देशहरूसँग ब्ल्याक सी हुँदै सुरक्षित कोरिडोर स्थापना गर्न वार्ता गरिरहेको छ। 

टर्कीले बोस्फोरस र डार्डानेलेस स्ट्रेटको नियन्त्रण गर्छ । ब्ल्याक सी बन्दरगाहहरूको एकमात्र समुद्री प्रवेश मार्गबाट ठूलो मात्रामा युक्रेनी गहुँ र अन्य खाद्यान्नहरू बाँकी विश्वमा ढुवानी हुने गर्छ ।

अन्तर्राष्ट्रिय संगठनहरूले युक्रेन विरुद्ध रुसको निरन्तर आक्रमणका कारण खाद्यान्नको मूल्य बढेको कारण व्यापक भोकमरी हुने चेतावनी दिएका छन्। 

कीभ र पश्चिमी सरकारहरूले रूसले विश्वव्यापी खाद्य आपूर्ति संकटलाई हतियार बनाएको आरोप लगाएका छन्, जुन आरोप मास्कोले अस्वीकार गर्दछ।

विश्व खाद्य कार्यक्रमका कार्यकारी निर्देशक डेभिड बिस्लेले गत महिना भनेका थिए 'अहिले युक्रेनको अन्न त्यहीँ भरिएको छ। एकै समयमा विश्वभर ४ करोड ४० लाख मानिस भोकमरी तर्फ दौडिरहेका छन्। हामीसँग समय कम छ यसको प्रभावहरु आगामी वर्षहरुमा महसुस हुनेछ ।'

रुसी विदेशमन्त्रीले युक्रेनले बन्दरगाह क्षेत्र र समुद्रबट बिष्फोटक पदार्थ हटाउनु पर्ने बताएका छन् । टर्कीकाका विदेमन्त्रीले पश्चिमी प्रतिबन्ध कम गर्नु पर्ने टिप्पणी गरेका छन् ।

युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले सोमबार न त आफू न आफ्ना विदेशमन्त्री दिमिट्रो कुलेबालाई बुधबारको वार्तामा निमन्त्रणा गरिएको बताएका थिए । 

किभका अधिकारीहरूले ब्ल्याक सी सुरक्षा कोरिडोरको निर्माणका लागि टर्की र युनाइटेड किंगडम दुबैसँग परामर्श गरिरहेका छन् ।

एक महिनामा एक करोड मेट्रिक टन खाद्यान्न निर्यात गर्न सुरक्षित करिडोरको आवश्यकता रहेको उनले बताएका छन् ।

ओडेसामा २ करोड २० लाख देखि २ करोड ५० लाख मेट्रिक टन अन्न पहिले नै अड्किएको छ, जुन संख्या शरद ऋतुमा ७ करोड ५० लाख पुग्न सक्छ।

जेलेन्स्कीले विभिन्न पक्षहरूले एउटा सूत्र खोजिरहेको बताएका छन् । जसमा अन्न बोकेका जहाजहरुलाई अन्य जहाजले सुरक्षा दिएर ब्ल्याक सी पार गराइने छ । यस्तै बिष्फोटक पदार्थबाट बच्न माइन क्लियरिङ भेसल प्रयोग गर्ने प्रस्ताव टर्कीले गरेको छ ।

संयुक्त राज्यका अधिकारीहरूले आफुहरु युक्रेनी र टर्कीका समकक्षीसँग सम्पर्कमा रहेको बताएका छन् । अमेरिकाले अन्न निर्यातका लागि सम्भव सबै प्रयासमा काम गरिरहेको बताएको छ ।

यसबीचमा टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगान भने अर्को वर्ष वा चाँडो आउन सक्ने चुनाव अघि उत्साहजनक विपक्षीको सामना गर्न विदेश नीतिको सफलता खोजिरहेका छन्।

टर्कीले उत्तरपूर्वी सिरियामा कुर्दिश नियन्त्रित स्वायत्त क्षेत्र विरुद्ध आफ्नो सम्भावित आसन्न सैन्य कारबाहीमा रुसी सहमति खोजेको छ।  टर्कीको सरकार समर्थक मिडियाले विश्वको बाँकी भागलाई खाना पुर्‍याउन अंकराको महत्वलाई झल्काउँदै आएको छ ।

'रूस युक्रेन युद्धको कारण विश्वव्यापी खाद्य संकट टर्कीले समाधान गर्नेछ,' त्यहाँको दैनिक पत्रिका सबाले लेखेको छ ।

धेरैले किभका अधिकारीहरूको सहभागिता बिना युक्रेनी अन्न निर्यातको वार्तामा संलग्न हुनुमा रूसको मनसायमाथि शंका गरेका छन्। धेरै विज्ञहरुले दुवै देशबीच युद्ध चलिरहेका बेला रुसले युक्रेनलाई अन्न बेचेर आम्दानी गर्न दिनमासमेत शंका गरेका छन् ।

मास्कोले ब्ल्याक सी बन्दरगाहहरू नियन्त्रणमा लिएपछि र खाद्य आपूर्तिहरू लुटेपछि आफ्नै लाभका लागि युक्रेनी अन्न चोरी गरेको आरोप समेत लगाइएको छ। 

यस्तै मंगलबार रूसी रक्षा मन्त्री सेर्गेई शोइगुले रुसले नै कब्जा गरेका मारिउपोल र बर्दियान्स्कलगायतका बन्दरगाहबाट युक्रेनी अन्न  निर्यात गर्न सकिने भन्दै सुझाव दिएपछि शंका बढेको छ ।

'पछिल्ला दुई हप्तामा चोरी बढेको छ। तिनीहरू सेबास्टोपोलमा चौबीसै घण्टा काम गरिरहेका छन्,' बोस्फोरस हुँदै जहाज यातायातको निगरानी गर्ने अनुसन्धानकर्ता योरुक इसिकले भनेका छन्,'गहुँ, मकै, जौ स्क्र्याप धातु ढुवानी भइरहेको छ। त्यसका लागि धेरै जहाजहरू संलग्न छन्।'



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ