arrow

ताइवान: चीन र अमेरिकाबीचकाे 'फ्ल्यासपोइन्ट'

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ ३० सोमबार
us-china-taiwan-relation.png

काठमाडौं । युक्रेनमा रुसको आक्रमणले सयौं मानवीय क्षति निम्त्याएकाे छ । १३ अप्रिल २०२२ मा मानव अधिकारका लागि संयुक्त राष्ट्रसङ्घीय उच्चायुक्तको कार्यालय (ओएचसीएचआर) ले १६१ बालबालिकासहित कूल १,९६४ युक्रेनी नागरिकको मृत्यु भएको पुष्टि गरेको थियो।

ओएचसीएचआरका अनुसार वास्तविक ज्यान गुमाउनेको संख्या अझै धेरै हुन सक्छ। यसबाहेक युक्रेनमाथिको रुसी आक्रमणले नागरिक पूर्वाधारको विनाशसमेत निम्त्याएको छ ।

युद्धको पहिलो पाँच हप्तामा ४० लाख भन्दा बढी युक्रेनी मानिसहरू आफ्नो घर छोडेर छिमेकी देशहरूमा शरण लिन बाध्य भएका थिए । तर चीनले ताइवानमाथि आक्रमण गरेमा रुस–युक्रेन युद्धभन्दा पनि ठूलो र गम्भीर क्षति हुने अनुमान गरिएको छ । 

युक्रेन नर्थ एट्लान्टिक ट्रिटी अर्गनाइजेसन (नेटो) को हिस्सा होइन न त ताइवान नै हो । तर यहाँ फरक के छ भने सन् १९७९ को कानून अनुसार ताइवानमाथि आक्रमण भए अमेरिका आफ्नो सेना पठाउन बाध्य हुनेछ ।

चीनले ताइवानमाथि आक्रमण गर्ने निर्णय गरेको छ । तर अमेरिका र ताइवानबीचको यो सन्धि अस्पष्ट छ ।  तसर्थ दुई ठूला शक्तिबीचको प्रत्यक्ष टकराव चिन्ताको विषय बनेको छ । यसले बाँकी विश्वमा मात्रै नभइ यस क्षेत्रका विकासोन्मुख राष्ट्रहरूमा समेत ठूलो असर पार्नेछ ।

स्पष्ट रूपमा चीनलाई पश्चिमले आक्रामक राज्यको संज्ञा दिँदै आएको छ। चीनले ताइवान आफ्नो अभिन्न अंग वा आफ्नो टुक्रिएको प्रान्त हो भन्दै त्यसलाई एकीकरण गर्न जुनसुकै हदसम्म जाने भन्दै आएको छ ।

अर्कोतर्फ ताइवानले आफूलाई स्वतन्त्र राज्यको रूपमा दाबी गर्छ र आफ्नो सार्वभौमसत्ता प्रयोग गर्न कुनै पनि प्रकारको बाह्य प्रभावबाट मुक्त छ। 

आफूलाई लोकतन्त्रको संरक्षक ठान्ने अमेरिकाले मुख्यतया सैन्य माध्यमबाट ताइवानको अडानमा समर्थन गर्छ।

ताइवानको रणनीतिक महत्व

कम जनसंख्या र क्षेत्रफलका हिसाबले सानो टापु भए पनि ताइवानको आर्थिक र रणनीतिक महत्व निकै नै बढी छ । 

अमेरिका र चीन दुवैको ताइवानमा निहीत स्वार्थ छ यसभन्दा बढी दक्षिण चीन सागरको नियन्त्रण कायम राख्न ताइवानलाई गेटवे अथवा प्रवेशद्वार मानिन्छ ।

यदि ताइवानलाई एकीकरण गर्न सफल भयो भने चीनले पूर्वमा आफ्नो नौसेना बल विस्तार गर्न सक्षम हुनेछ । जुन अमेरिकाको लागि  ठूलो खतरा हुनेछ।

कम्प्युटर चिप्सको विश्वव्यापी उत्पादनमासमेत ताइवानको प्रभुत्व छ। ताइवान सेमिकन्डक्टर म्यानुफ्याक्चरिङ कम्पनी (टीएमएससी) को बजार पूरै विश्वको लगभग आधा छ ।

ताइवान एकीकरण गर्दा बेइजिङले संसारको सबैभन्दा महत्त्वपूर्ण उद्योगहरू मध्येका केही उद्योगको नियन्त्रण गर्नेछ । यसभन्दा बढी ताइवान एकताबद्ध गर्न सफल भएमा चीन पश्चिमी प्रशान्त क्षेत्रमा आफ्नो शक्ति प्रक्षेपण गर्न सफल हुनेछ ।

यो भनेको अमेरिकाको हवाइ र गुआमसम्मका अमेरिकी सैन्य अड्डाहरुमा खतरा सिर्जना हुनु हो । जुन अमेरिकालाई मन नपर्ने कुरा हो ।

विगतबाट अनुमानहरू

रुस युक्रेन संकटले युद्धको रूप लिनुअघि रुसमाथिको प्राकृतिक ग्यास र तेलको निर्भरताका कारण युरोपेली युनियनले रुसको पक्ष लिन सक्ने र अमेरिकालाई किनारा लगाउन सक्ने अनुमान गरिएको थियो। 

तर, स्थिति त्यसको ठीक उल्टो भयो । युरोपेली संघ पूर्णरुपमा अमेरिकाको पक्षमा गयो भने युक्रेनमा रुसी आक्रमणको निन्दासमेत गर्‍यो यस भन्दा बढी त्यहाँका जनताले समेत सामाजिक सञ्जालका प्लेटफर्म मार्फत ऐक्यबद्धता व्यक्त गरे। 

युरोपेली संघले रुसबाट युक्रेन हुँदै प्राकृतिक ग्यास प्राप्त गरिरहेको छ । तर सोही अवस्थामा रुसी तेलको आयात रोक्न खोजिरहेको छ भने आक्रमणको निन्दा गरिरहेको छ ।

अर्बौं डलरको जोखिम हुने भएका कारण रुस आफै‌ंले पनि युरोपेली संघलाई प्राकृतिक ग्यास आपूर्ति बन्द गर्ने मनसाय राखेको छैन । यस्तो ठूलो परियोजना रुसले बेवास्ता गर्न सक्ने देखिन्न ।

यस्तै चिनियाँ सन्दर्भमा चीनले आफूलाई विश्वको व्यापारिक साझेदार ठानेर आफूले ताइवानमाथि आक्रमण गरेमा धेरै मुलुकको समर्थन पाउँछु भनेर सोच्छ भने यो विषयले काम नगर्न सक्ने देखिन्छ । तर चीनले आफ्नो हितको रक्षा गर्न वर्तमान स्थितिबाट उत्कृष्ठ नीति तर्जुमा गर्नेतर्फ ध्यान दिइरहेको हुन सक्छ ।

चीनको बढ्दो परमाणु क्षमता

चीनको आणविक अथवा परमाणु क्षमतामा भइरहेको द्रूत विकासले निकट भविष्यमा ताइवानसँग एकता हासिल गर्ने दृढ संकल्पलाई झल्काएको छ ।

ताइवानलाई सैन्य हस्तक्षेपबाट मात्रै एकीकरण गर्ने हो भने अमेरिकी क्षमतालाई टक्कर दिन आफ्नो परमाणु क्षमता निकै शक्तिशाली चाहिनेमा चीनको विश्वास छ ।

त्यसलै पनि चिनियाँ राष्ट्रपति सी चिनफिङले यसअघि नै जनमुक्ति सेना (पीएलए) लाई उच्चस्तरीय रणनीतिक प्रतिरोधात्मक प्रणाली विकास गर्न आदेश दिएका छन् । यसरी चीनले आफ्नो आणविक क्षमताको व्यापक विकास गरिरहेको छ ।

चीनको उदयलाई कसरी हेरिएको छ ?

स्यामुएल हन्टिङ्टनले आफ्नो पुस्तक ‘सभ्यताको संघर्ष’ मा लेखेका छन्, 'कन्फ्युसियन सभ्यता र इस्लामिक सभ्यता बीचको अपवित्र गठबन्धनले पश्चिमका लागि ठूलो खतरा निम्त्याउने छ।' 

बाँकी विश्वका लागि चीनको उदयलाई शान्तिपूर्ण रूपमा हेर्न सकिन्छ तर अमेरिकाका लागि चीनको उदय सधै खतरापूर्ण छ र हुनेछ । 

सोभियत संघको विघटन भएदेखि नै अमेरिका विश्वव्यापी प्रभुत्वको रूपमा रहँदै आएको छ। चीनसँगको प्रतिस्पर्धा वैचारिक प्रकृतिको भएका कारणले समेत अमेरिकाका लागि यसको उदय सधै खतरा नै हुनेछ ।

ताइवान मुद्दा चीन र अमेरिका बीचको फ्ल्यासपोइन्टका रुपमा रहनेछ। चीनको तीव्र आर्थिक वृद्धिले ढिलोचाँडो निश्चितरुपमा चीन विश्वव्यापी प्रभुत्व बन्नेमा अमेरिका विश्वस्त छ ।

चीनले ढिलोचाँडो ताइवानमाथि आक्रमण गर्छ । किनकि यसो हुँदैन भन्ने सम्भावना निकै कम छ । सोही अवस्थामा चीनले अमेरिका र बाँकी पश्चिमी देशहरूको संलग्नता र ताइवानप्रतिको समर्थनलाई कमजोर पनि पार्न सक्दैन। 

यसका साथै अन्तर्राष्ट्रिय कानून अन्तर्गत पनि ताइवान सार्वभौम र स्वतन्त्र मानिन्छ। यी यावत् कुराहरुका कारण चीनका लागि ताइवानको एकीकरण निकै चुनौतीपूर्ण र समस्याग्रस्त छ। 

वास्तवमा चीनले ताइवानमाथि आक्रमण गरेमा त्यसको नराम्रो नतिजा र दुवै पक्षमा ठूलो मानवीय क्षति हुने निश्चित छ । यति मात्रै हैन यसले क्षेत्रीय र विश्वव्यापी आर्थिक मन्दीसमेत ल्याउन सक्छ । 

रुस–युक्रेन संकट होस् वा चीन–ताइवान संकट होस् पश्चिमाहरूको संलग्नता र विशेषगरी अमेरिकाको संलग्नता हुने निश्चित नै छ ।

यस सन्दर्भमा ‘दुई हात्ती लड्दा घाँसले नै पीडा भोग्छ’ भन्ने एउटा शक्तिशाली अफ्रिकी उखानले राम्रो मेल खान्छ । यसको अर्थ भनेको अमेरिका भर्सेस रुस होस् वा अमेरिका भर्सेस चीन होस् सबैभन्दा बढी कष्ट भोग्ने युक्रेन र ताइवान नै हुनेछन् ।

त्यसकारण ताइवानको मुद्दामा चीनले भविष्यमा कुनै ठूलो रक्तपात नगरी शान्तिपूर्ण तरीकाले एकीकरण गर्ने रणनीतिक धैर्यताको रणनीति अपनाइरहेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ