arrow

युद्धकाे सय दिनमा रुसले बेच्याे १२३ खर्बकाे उर्जा, ६१ प्रतिशत युराेपले किन्याे

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ ३० सोमबार
vladimir-putin-russia.jpg

काठमाडौं । रुसले युक्रेन युद्धको पहिलो १०० दिनमा जीवाश्म इन्धन निर्यातबाट ९८ अर्ब अमेरिकी डलर (१२३ खर्ब भन्दा बढी नेपाली रुपैयाँ) आम्दानी गरेको छ ।

फिनल्याण्डमा आधारित एक स्वतन्त्र सेन्टर फर रिसर्च अन एनर्जी एन्ड क्लिन एयर (सीआरईए) द्वारा सोमबार प्रकाशित प्रतिवेदनले यस्तो तथ्यांक सार्वजनिक गरेको हो ।

उक्त अनुसन्धान प्रतिवेदन अनुसार रुसी उर्जाको प्रमुख आयातकर्ता युरोपेली संघ रहेको छ । संयुक्त राज्य अमेरिका र ईयूले रुसमाथि अभुतपूर्व प्रतिबन्ध लगाएको छ भने युक्रेनलाई हतियार र नगद पठाएर रुसलाई रोक्न मद्दत गरेको छ ।

तर किभले फेब्रुअरी २४ मा भएको आक्रमणपछि रुससँगको अन्य सबै व्यापार कटौती गर्न माग गर्दै आएको छ ।

युद्धअघि युरोपले आफ्नो ४० प्रतिशत ग्यास र २७ प्रतिशत तेल रुसबाटै आयात गर्दै आएको थियो ।

सोमबार प्रकाशित सीआरईएको अध्ययन प्रतिवेदनले युक्रेन युद्धका १०० दिनमा रुसको कूल निर्यातको ६१ प्रतिशत जुन ६० अर्ब अमेरिकी डलर बराबरको उर्जा युरोपले नै आयात गरेको छ ।

समग्रमा चीनले १३.२ अर्ब, जर्मनीले १२.७ अर्ब, इटालीले ८.२ अर्ब, नेदरल्याण्डले ८.४ अर्ब, टर्कीले ७ अर्ब, पोल्याण्डले ४.६ अर्ब, फ्रान्सले ४.५ अर्ब र भारतले ३.६ अर्ब डलरबराबरको उर्जा रुसबाट आयात गरेको छ ।

युद्धका १०० दिनमा रुसले ४८.२ अर्ब कच्चा तेल, २५.१ अर्बको ग्यास, १३.६ अर्बको तेलजन्य पदार्थ, ५.३ अर्बको नेचुरल ग्यास र ४.८ अर्बको कोइला बेचेर ९८ अर्ब डलर आम्दानी गरेको हो ।

गत मेमा रुसको निर्यातमा गिरावट आए पनि विभिन्न देश र कम्पनीले युद्धमा यसको आपूर्ति त्याग्दा जीवाश्म इन्धनको मूल्य बढेर क्रेमलिनको खजाना भर्न जारी रहेको छ । 

सीआरईएको रिपोर्ट अनुसार रुसको औसत निर्यात मूल्य गत वर्षको तुलनामा करिब ६० प्रतिशत बढी रहेको छ ।

चीन, भारत, संयुक्त अरब इमिरेट्स र फ्रान्स लगायतका केही देशले रुसबाट किनबेच बढाएका छन् । 

कूल रुसी निर्यातको १८ प्रतिशत खरिद गर्दै भारत रुसको कच्चा तेलको महत्त्वपूर्ण आयातकर्ता बनेको छ । यस्तै ईयूले रुसमाथि थप प्रतिबन्ध लगाउने भन्दै गर्दा फ्रान्सले विश्वमा एलएनजीको सबैभन्दा ठूलो खरिदकर्ता बन्न आफ्नो आयात बढाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ