arrow

बेइजिङले मास्कोका विमानलाई प्रतिबन्ध लगाएपछि चीन-रुस सम्बन्धमा दरार

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार ५ आइतबार
russia-china-putin-xi.jpg

काठमाडौं। बेइजिङले मास्कोको एयरलाइन्सलाई आफ्नो हवाई क्षेत्रमा विदेशी स्वामित्वको जेटलाइनर उडान गर्न प्रतिबन्ध लगाएपछि चीन र रुसबीचको 'भ्रातृत्व सम्बन्ध' बिग्रन सक्ने देखिएको छ।

युक्रेनसँग चलिरहेको युद्धको बीचमा चीनले रुसलाई व्यापार, अर्थतन्त्र र अन्य क्षेत्रमा रुसी हतको रक्षा गर्न मास्कोलाई थप सहयोग गर्न बारम्बार अनिच्छा देखाउँदै आएको हङकङ पोस्टले रिपोर्ट गरेको छ। बेइजिङको पछिल्लो कदमले रुसले अब चीनमाथिको विश्वाससमेत गुमाउन थालेको देखिएको छ।

वासिङ्टन पोस्टमा हालै प्रकाशित गरेका रिपोर्टहरुले रुसी अधिकारीहरूमा चीनप्रति बढ्दो निराशाको प्रमाण झल्काएको छ।

रिपोर्टलाई उद्धृत गर्दै हङकङ पोस्टले लेखेको छ कि युक्रेनसँगको युद्धको बीचमा मास्कोलाई थप सहयोग प्रदान गर्न चीनले स्पष्ट रूपमा अस्वीकार गरेपछि रूसी अधिकारीहरू 'बढ्दो रूपमा निराश' हुँदैछन् ।

एक चिनियाँ अधिकारीलाई उद्धृत गर्दै यसले रिपोर्ट गरेको छ कि क्रेमलिनले फेब्रुअरीमा युक्रेनमा आफ्नो सैन्य अपरेशनको घोषणा गर्नुअघि चीन र रुसले उनीहरूको द्विपक्षीय सम्बन्धको 'कुनै सीमा' नभएको घोषणा गरेको तथ्यलाई हेर्ने हो भने यो पछिल्ला घटनाक्रम महत्त्वपूर्ण छ।

विज्ञहरूका अनुसार चीनले रुसको युद्धबाट आफूलाई टाढा राखेर आफ्ना कम्पनीहरूलाई निम्त्याउन सक्ने सजायबाट बच्न खोजेको छ। ङकङ पोस्टले रुसी मिडिया आउटलेटलाई उद्धृत गर्दै लेखेको छ कि रुसी एयरलाइन्सले आफ्नो विमान विदेशमा दर्ता नगरिएको कागजातहरु उपलब्ध गराउन नसक्दा चिनियाँ एयर स्पेसबाट प्रतिबन्धित भएको छ ।

युक्रेनमा रुसको सैन्य कारबाहीपछि चीनले रुसलाई पार्टपुर्जा दिन अस्वीकार गरेको थियो र अहिले रुसी विमानलाई चिनियाँ हवाई क्षेत्र प्रयोग गर्नबाट प्रतिबन्ध लगाउनुले यो बेइजिङमा पुटिनको समर्थनमा दरारको संकेत हुनसक्ने आंकलन गर्न थालिएको छ।

चीनले यसअघि नै युक्रेनमा भएको कारबाही चिन्ताजनक भएको बताउँदै यसले रुस र युक्रेनबीचको वार्तामा नेतृत्व लिने बताएको थियो।

रुससँगको कूटनीतिक सम्बन्धका कारण चीन रणनीतिक रूपमा पक्ष लिनबाट जोगिएको छ र रुसको निन्दा गरेको छैन। बरु चीनले नेटो र अमेरिकाकै कारण रुस 'ब्रेकिङ प्वाइन्ट' पार गर्न पुगेको आरोप लगाएको छ ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजानले युद्धमा चीनको अडान सुसंगत र स्पष्ट रहेको बताएका थिए ।

यस्तै उनले प्रतिबन्धले कहिल्यै शान्ति र सुरक्षा नल्याउने भन्दै अमेरिकाले प्रतिबन्धको बारेमा चीनको चिन्तालाई गम्भीरताका साथ लिनु आवश्यक रहेको बताएका थिए ।

रुसी कूटनीतिज्ञहरूले लामो समयदेखि बेइजिङ र मास्कोबीचको सम्बन्ध गठबन्धनभन्दा राम्रो भएको र युक्रेन युद्धका कारण उत्पन्न दबाबलाई सामना गरेको दाबी गर्दै आएका थिए ।

यसअघि चीनका लागि रुसी राजदूत आन्द्रे डेनिसोभ र विदेशमन्त्री सर्गेइ लाभरोभले युक्रेन संकटले मास्को र बेइजिङलाई झन नजिक धकेलेको बताएका थिए ।

चीनले रुसी एयरलाइन्सलाई विदेशी स्वामित्वमा रहेका जेटलाइनरहरूलाई आफ्नो आकाशमा उडान गर्नबाट रोक लगाएपछि रुसी कूटनीतिज्ञहरूले चीन र चीनका गतिविधिहरुबारे आफ्नो धारणालाई परिमार्जन गर्नसक्ने आंकलन गर्न थालिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ