विश्व स्वास्थ्य नेटवर्कद्वारा 'मङ्कीपक्स महामारी' घोषणा, विश्वभर झण्डै ३५०० संक्रमित
हाम्रा कुरा
प्रकाशित २०७९ असार १० शुक्रबार
1.5k
Shares
काठमाडौं। थुप्रै देशहरु मङ्कीपक्सको चपेटामा परेसँगै कोभिड-१९ को खतरासँग लड्न गठित वैज्ञानिकहरूको स्वतन्त्र गठबन्धन विश्व स्वास्थ्य नेटवर्क (डब्ल्यूएचएन)ले यो रोगलाई महामारी घोषणा गरेको छ।
डब्ल्यूएचएनले मङ्कीपक्सको महामारी घोषणा गर्नुको मुख्य उद्देश्य व्यापक क्षति रोक्नको लागि धेरै देशहरू वा विश्वभरि संयुक्त प्रयास हासिल गर्नु भएको बताएको छ।
कुनै सङ्क्रमण विभिन्न देश एवं क्षेत्रमा बढेर अन्तर्राष्ट्रिय रुपमै र ठूलो सङ्ख्यामा फैलियो भने यसलाई महामारी घोषणा गरिन्छ।
अहिले विभिन्न ५८ देशमा देशमा ३ हजार ४ सय १७ जना भन्दा बढीमा मङ्कीपक्सको संक्रमण पुष्टि भएको डब्ल्यूएचएनले जनाएको छ। यो प्रकोप प्रमुख महाद्वीपहरूमा द्रूत रूपमा फैलिरहेको संगठनले जनाएको छ।
विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले मङ्कीपक्सलाई महामारी घोषणा गर्ने की नगर्ने भनेर बिहीबार बैठक बसेर समीक्षा गर्ने भनेका बेला डब्ल्यूएचएनले मङ्कीपक्सलाई महामारी घोषणा गरेको हो।
'मङ्कीपक्सलाई महामारी घोषणा गर्नका लागि अझैं पर्खनुको कुनै औचित्य छैन। कदम चाल्ने उत्तम समय अहिले हो। तत्काल कदम चालेर हामी कम से कम प्रयासमा प्रकोपलाई नियन्त्रण गर्न सक्छौं र नतिजालाई अझ खराब हुनबाट रोक्न सक्छौं,' न्यू इङ्गल्याण्ड कम्प्लेक्स प्रणाली संस्थानका अध्यक्ष एवं डब्ल्यूएचएनका सह संस्थापक यानीर बार यामले भनेका छन् ।