arrow

पत्रकारिता जगतका दुई कार्यविधि मधेस सरकारले गर्‍यो स्वीकृत 

logo
निरञ्जनकुमार साह, 
प्रकाशित २०७९ असार १७ शुक्रबार
madhes-pradesh-griha-tatha-sanchar-mantralaya.jpg

जनकपुरधाम । मधेस प्रदेश सरकारले मधेस प्रदेश लोककल्याणकारी विज्ञापन व्यवस्थापन कार्यविधि–२०७९ र मधेस प्रदेश पत्रकार स्वास्थ्य र दुर्घटना बीमा कार्यविधि–२०७९ स्वीकृत गरेको छ । 

मधेस प्रदेश सरकारको गृह तथा सञ्चार मन्त्रालयद्वारा प्रस्तुत दुवै कार्यविधि प्रदेश सरकार मन्त्री परिषद्को बसेको बेठकले स्वीकृत गरेको गृह तथा सञ्चार मन्त्री भरतप्रसाद साहले बताए ।

मन्त्री परिषद्बाट दुवै कार्यविधि पारित भएसँगै अब मधेश प्रदेशमा सञ्चालित पत्रपत्रिका, एफएम र रेडियो, टेलिभिजन र अनलाइन सञ्चारमाध्यमहरुले मधेस प्रदेश सरकारको लोकहितका विज्ञापन एवम् सूचनाहरु प्राप्त गर्नेछ ।

त्यस्ता विज्ञापन एवम् सूचनाहरु सञ्चारमाध्यमहरुले प्रकाशन र प्रशारण गरे वापत आमसञ्चार प्राधिकरणबाट कार्यविधिमा तोकिए बमोजिम भुक्तानी उपलब्ध गराइने मन्त्री साहले जानकारी दिए । 

त्यसैगरी मधेस प्रदेश पत्रकार स्वास्थ्य र दुर्घटना बीमा कार्यविधि स्वीकृत भएपछि मधेस प्रदेशका जुनसुकै जिल्लालाई कार्यक्षेत्र बनाएर निरन्तर पत्रकारिता गर्दै आएका पत्रकारहरुले बीमा कार्यक्रमबाट लाभ लिने बाटो खुलेको छ । 

बीमा कार्यक्रममा सहभागी पत्रकारले वर्षमा एक पटक एक लाख रुपैयाँसम्मको औषधि उपचार खर्च पाउने र सात लाख रुपैयाँसम्मको दुर्घटना बीमा प्राप्त गर्ने कार्यविधिमा व्यवस्था गरिएको मन्त्री साहले बताए ।

सरकारले कार्यविधि स्वीकृत गरेपछि लोककल्याणकारी विज्ञापन उपलब्ध गराउने र पत्रकारहरुको बीमा गराउने कार्य चालु आर्थिक वर्षदेखि लागु गर्ने तयारी थालिएको आमसञ्चार प्राधिकरण मधेश प्रदेशका अध्यक्ष श्यामसुन्दर यादवले बताए । 

प्रदेशका सञ्चारमाध्यम र सञ्चारकर्मीहरुको लागि महत्वपूर्ण मानिएको कार्यविधिलाई मूर्तरुप दिन भूमिका निर्वाह गरेकोमा मधेस प्रदेश सरकार तथा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सहयोग गर्ने सबैमा अध्यक्ष यादवले धन्यवादसमेत ज्ञापन गरेका छन् । 

 गत असार ८ गते दुवै कार्यविधि स्वीकृतका लागि मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालयमा दर्ता गराइएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ