arrow

प्रधानमन्त्रीसहित गठबन्धनका नेताहरु निजगढ विमानस्थलको स्थलगत निरीक्षणमा 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार १८ शनिबार
nijgadh-international-airport-priliminary.jpg

बारा । सत्तारुढ पाँच दलीय गठबन्धनका नेताहरुले बाराको निजगढस्थित ‘अन्तर्राष्ट्रिय विमानस्थल निर्माणस्थल’को शनिबार बिहान स्थलगत निरीक्षण गर्ने भएका छन् । काठमाडौंबाट बिहान ९ बजे प्रधानमन्त्री शेरबहादुर देउवासहितको शीर्ष नेताहरुको टोली निजगढ भ्रमणमा आउन लागेको गठबन्धनका एक नेताले जानकारी दिए ।

प्रधानमन्त्री देउवासँगै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालसहितका शीर्ष नेताहरू विमानस्थल निर्माणक्षेत्रको अवलोकनमा आउन लागेका हुन् । ‘वातावरण र पूर्वाधार विकासबीच सन्तुलन कायम गरेर विमानस्थल निर्माण गर्न सकिने सर्वोच्च अदालतको फैसला आएपछि शीर्ष नेताहरुले पहिलो पटक निर्माणक्षेत्रको भ्रमणमा आउन लाग्नुभएको हो । भ्रमणपछि अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्यलाई अघि बढाउने वा नबढाउने विषयमा सरकारले आवश्यक निर्णय गर्ने छ,’ ती नेताले भने । 

यसअघि सर्वोच्च अदालतले गत बुधबार विमानस्थल सम्बन्धी मुद्दाको फैसला गर्दै निर्माण गर्ने जिम्मा सरकारको हातमा दिएको थियो । जैविक विविधतायुक्त घना जंगल फडानी गरेर विमानस्थल निर्माण गर्न खोजिएको भन्दै विरोध हुँदै आएको छ । 

यता, निजगढका स्थानीयले भने सर्वोच्चको यसअघिको फैसलापछि निजगढमा नै विमानस्थल निर्माण गरिनु पर्ने भन्दै पूर्वपश्चिम लोकमार्गमा गर्दै आएको रिले अनशन बिहीबारबाट अन्त्य भएको छ । 

विमानस्थल निर्माण सम्बन्धमा सर्वोच्च अदालतले बुधबार सार्वजनिक गरेको पूर्णपाठलाई सकारात्मक भन्दै समितिले २४ दिनअघि देखि गर्दै आएको रिले अनशन अन्त्य गर्ने निर्णय गरेको हो । 

नेकपा एमालेका पोलिटब्युरो सदस्य एंव युवा तथा खेलकुद पूर्वमन्त्री पुरुषोत्तम पौडेल अनशनकारीलाई जुस खुवाएर अनसन तोड्न लगाएका थिए । विमानस्थल निर्माणको माग राखेर निजगढको शहीद चोकमा अनशन हुँदै आएको थियो ।  

निजगढ विमानस्थल निर्माणको माग राखेर समितिले जेठ २४ गतेदेखि निजगढको शहीद चोकमा रिले अनशन शुरु गरेको थियो । निजगढ सार्वजनिक सरोकार समिति र निजगढ स्वतन्त्र युवा विद्यार्थीहरुले विमानस्थल निर्माण नगर्ने अदालतको यसअघिको जेठ १२ को फैसला पुनरावलोकन हुनुपर्ने माग गर्दै सोही दिनदेखिनै राँके जुलुस, पूर्वपश्चिम लोकमार्गमा चक्काजाम र प्रदर्शन गर्दै आएका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ