arrow

प्रत्यक्ष चुनाव लड्ने विनोद चौधरीको घोषणाले दिन खोजेको सन्देश 

logo
सोम, 
प्रकाशित २०७९ असार १९ आइतबार
binod chaudhary-super-all-in-one.jpg

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य, सांसद एवं नेपालको सबैभन्दा ठूलो औद्योगिक घरानियाँ चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीले आगामी प्रतिनिधि सभाको निर्वाचनमा प्रत्यक्षबाट चुनाव लड्ने घोषणा गरेसँगै नेपाली राजनीतिमा तरङ्ग छाएको छ । 

आगामी कार्तिक वा मंसिरमा संघ र प्रदेशका निर्वाचन हुँदै गर्दा सांसद चौधरीले नवलपुरबाट प्रत्यक्षतर्फ उम्मेदवारी दिने बताएका हुन् । उनले पार्टीले आफूलाई प्रत्यक्षतर्फको टिकट दिने विश्वास पनि व्यक्त गरेका छन् । उनको घोषणाले नवलपुरमा उत्साह छाएको छ । त्यसको पछाडि उनको सक्रियताले त्यो क्षेत्रमा हुनसक्ने थप विकास नै हो । 

उनले दुई पटकसम्म समानुपातिकबाट सांसद भइसकेको भन्दै अब प्रत्यक्षबाटै चुनाव लड्ने बताएका हुन् । उनले आफू अब पूर्णकालीन राजनीतिमा आउन चाहेकोसमेत बताएका छन् । 

उनले भने, ‘म पूर्णकालीन राजनीतिमा भन्नुको मतलब राजनीति छाड्दिन भनेको हुँ । भोलिको प्राथमिकता राजनीति हो । दोस्रो कुरा संगठनकै राजनीति हो । नत्र किन वार्डमा चुनाव लड्न जान्थेँ र ? किन केन्द्रीय सदस्य हुन्थेँ र ?’ उनले आफू ‘फ्रन्टडोर’ बाट राजनीति गर्न नै लागेको बताए । 

उनी यसअघि एमालेबाट सांसद थिए । अहिले कांग्रेस छन् । भोलिका दिनमा अन्य पार्टीमा पनि जान सक्ने आँकलन गर्न सकिन्छ । उनलाई अन्य दलबाट अहिले अफर आइरहेको चर्चासमेत गरिएको छ । तर सांसद चौधरी भने स्पष्ट छन् । उनले भने, ‘म कांग्रेस खराव स्थितिमा रहेका बेलामा इन्टर गरेको हुँ । छोड्ने भए त्यतिबेला नै छोड्ने थिएँ । सोचेर सम्झेर नै कांग्रेसमा लागेको हुँ । मेरो बाँकीको राजनीति नेपाली कांग्रेसमै बित्छ ।’

सधै सोचेजस्तो नहुन सक्छ । तर उनी भने अडिक छन् । कांग्रेस बाहेक अब बाँचुन्जेल अर्को पार्टी नरोज्ने । उनले भने, ‘भोलि कांग्रेसमा अट्न सकिन भने र चेन्ज ल्याउन दिएन भने घरमा विश्राम गरेर बस्छु । तर कांग्रेस छाडेर अर्को पार्टीमा जान्न ।’

उनले आफू २०४६ सालदेखि व्यवसायिक राजनीतिमा लागेको भन्दै अब राजनीतिबाट टाढा भाग्नै नसक्ने बताएका छन् । उनी नेपाल उद्योग बाणिज्य महासंघ (एफएनसीसीआई) का पदाधिकारी भएका थिए । २०५० देखि ०५२ सम्म उनले एफएनसीसीआई नै सम्हाले । त्यसपछि उनी नेपाल उद्योग परिसंघमा रहे । 

सबैको रोजाइमा चौधरी
नेपाली कांग्रेसको २०७८ साल मंसिरमा काठमाडौंमा भएको १४ औं महाधिवेशनले पार्टीमा विभिन्न पेशा, तह र तप्काका नेताहरुलाई केन्द्रीय कार्यसमितिमा ल्याएको छ । उक्त निर्वाचनअघि हाम्रा कुरा डटकम सञ्चालन गर्दै आएको कम्पनी ईआईसीटी नेपालले एउटा सर्वेक्षण गरेको थियो । 

७० जिल्लाका सम्भाव्यता छनोट विधिबाट छनोट गरिएका महाधिवेशन प्रतिनिधिहरुसँगको टेलिफोन अन्तर्वार्ताका आधारमा गरिएको उक्त सर्वेक्षणमा छुटाउनै नहुने लोकप्रिय नेताको नाममा विभिन्न पेशाको वर्गमा सबैभन्दा अगाडि थिए उद्योग व्यवसायी एवं सांसद विनोद चौधरी । 

त्यो सर्वेक्षणमा तत्कालीन केन्द्रीय कार्यसमितिमा रहेर स्वतः महाधिवेशन प्रतिनिधि हुन पाउने व्यक्ति, जिल्ला पार्टी सभापति, भ्रातृ, शुभेच्छुक तथा जनसम्पर्क समितिबाट प्रतिनिधि बनेर आउने प्रतिनिधिहरूलाई भने सहभागी गराइएको थिएन ।

अर्थात् धेरैजसो युवा अनि नयाँ अनुहारलाई समेटेर गरिएको सर्वेक्षणमा पेशा व्यवसायबाट कांग्रेस कार्यसमितिमा रुचाइएको सबैभन्दा लोकप्रिय नाम चौधरीको परेको थियो । ३३ प्रतिशत प्रतिनिधिले उद्योग व्यवसायीहरुलाई नयाँ कार्यसमितिमा देख्न चाहिरहँदा नेपालकै प्रतिष्ठित घरानियाँ चौधरी ग्रुपका अध्यक्ष चौधरीलाई सबैभन्दा लोकप्रिय मत आएको थियो । 

चौधरीलाई कांग्रेसको कार्यसमितिमै देख्न चाहनेको संख्या सर्वाधिक हुनुले विभिन्न पेशा व्यवसायीलाई राजनीतिमा आएर सेवा गर्नका लागि थप हौसला मिल्ने देखियो ।  सर्वेक्षणमा सहभागी सुदूरपश्चिमसँगै कर्णालीको विकट क्षेत्रका प्रतिनिधिले समेत चौधरीको नाम लिनुले उद्योगी व्यवसायी पनि पार्टीको कार्यसमितिमा हुँदा विकास र समृद्धिको ढोका खोल्न मद्धत पुग्ने उनीहरुको मतले विश्वास गर्न सकिन्थ्यो । 

र्याण्डम विधिबाट छानिएका ९१४ प्रतिनिधिहरुलाई बढीमा तीन जना आफूलाई मन पर्नेहरुको नाम लिन दिइएको विकल्पमा नवप्रवेशीहरुमा सबैभन्दा बढी मत उद्योगी व्यापारीमा आएको थियो । जसमा ३३ प्रतिशतले उद्योगी व्यवसाय क्षेत्रका आउन् भन्ने चाहना व्यक्त गरेका थिए । जसमा सबैभन्दा अगाडि चौधरी नै थिए । 

चौधरी नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधिमा सर्वसम्मत चयन भएका थिए । नवलपुर क्षेत्र नं १ बाट चौधरी सर्वसम्मत महाधिवेशन प्रतिनिधिमा चयन भएका हुन् । उनलाई केन्द्रमा नपुर्याएसम्म विकास हुन्न भन्ने स्थानीयलाई लागेसँगै उनलाई सर्वसम्मत चयन गरिएको थियो । 

चौधरी आफ्नो सपनाको अगाडि अडिक थिए । त्यसका लागि वडातहदेखि नै निरन्तर लागिरहे । राजनीतिमा प्रतिस्पर्धा हुनुपर्छ तर सौहार्दरुपले सर्वसम्मत हुँदा विवाद कम हुने भएकाले उनले धेरैजसोलाई सर्वसम्मतको बाटो रोजाए । उनको त्यो बोलीको प्रभाव हो । 

महाधिवेशन प्रतिनिधि हुनुको पछाडि उनको लक्ष्य केन्द्रीय कार्यसमितिमा रहनु नै थियो । उनी त्यसरी नै आए केन्द्रीय कार्यसमितिमा पनि । १४औं महाधिवेशन अन्तर्गत मधेसी खुलातर्फको केन्द्रीय सदस्यमा उनी निर्वाचित भए । 

यसरी वडातहदेखि निर्वाचित हुँदै केन्द्रीय सदस्य भइसक्नुले उनी सक्रिय राजनीतिको मैदानमा अगाडि बढिरहेको स्पष्ट हुन्छ । उनी भन्छन् ‘दुई पटक समानुपातिकबाट सांसद भइयो । अब प्रत्यक्ष लड्ने हो । प्रत्यक्ष नलड्ने हुन्थेँ भने किन पो यो ६६ वर्षको उमेरमा वडामा लड्न जानु पर्दथ्यो र ।’

उनको भनाइमा दम छ । उनी नेपालकै सर्वाधिक सफल व्यवसायी हुन् । उनलाई राजनीति जरुरीको विषय पनि होइन । तर उनी यसबाट टाढा भने कहिल्यै भाग्न सकेनन् । 

भन्ने गर्छन् ‘म राजनीतिबाट जति जति पर भाग्न खोजे पनि राजनीति मबाट कहिल्यै टाढा हुन चाहिरहेको छैन । राजनीतिसँग मेरो बारम्बार जम्काभेट भइरहन्छ ।’ 

स्थानीय तहको निर्वाचनको घरदैलोले दियो थप प्रेरणा 
स्थानीय तहको निर्वाचनमा चौधरी नवलपुर घुमे । उनको भागमा गृहजिल्ला नवलपुरका कांग्रेसलाई जिताउने जिम्मा परेको थियो । उनी पार्टीको निर्देशन बमोजिम नवलपुरमा खटिए । जिल्लाका आठ वटै स्थानीय तहमा नेपाली कांग्रेस र गठबन्धनका उम्मेदवारहरुलाई विजयी गराउने घोषणाका साथ उनी निर्वाचन अभियानमा होमिए ।  

सो क्रममा उनी गठबन्धनका उम्मेदवारहरूको नेतृत्व गर्दै घरदैलो कार्यक्रममा सक्रिय भए । जिल्लाका विभिन्न ठाउँमा आयोजित चुनावी कोणसभालाई पनि सम्बोधन गरे । जिल्लाका दुर्गम गाउँहरूमा समेत पुगे । स्थानीयसँग प्रत्यक्ष भेटघाट गर्ने, उनीहरूका समस्या बुझ्ने र ती समस्या समाधानका लागि ठोस पहल गर्ने प्रतिवद्धता जनाउँदै हिँडे । कतिपय समस्याको समाधान त उनले गरी पनि सकेका छन् । 

यही घरदैलो अभियानले उनलाई थप उत्साही बनाएको छ । नवलपुरलाई नमूना जिल्ला बनाउन विकास योजना सार्वजनिक गरिसकेका चौधरीले स्थानीय समस्यालाई यस योजनामा समावेश गरेर दिगो विकासको आधार तयार गर्ने रणनीति बनाइरहेका छन् ।

नवलपुरमा देशकै नमूना औद्योगिक पार्क, शाश्वतधाम र उन्नती कल्चरल भिलेज जस्ता संस्थाहरू स्थापना गरेर आफूलाई राष्ट्रकै अब्बल उद्यमीमा स्थापित गरिसकेका चौधरी पहिलो पटक यसरी जनताको घरदैलोमा पुगेर जिल्लाको विकासको अभियानका बारेमा नेतृत्व लिएका हुन् । 

उनी घरदैलोमा घुमिरहँदा झुठा नेताको रुपमा चित्रित थिएनन् । किनकि उनी त समाधानका स्रोत हुन् भन्ने स्थानीयलाई राम्रोसँग थाहा छ । ‘विनोद चौधरीलाई हामी अन्य नेताहरूजस्तो चुनावको बेलामा आकाशको तारा झारिदिने र त्यसपछि केही नगर्ने नेताका रुपमा लिएका छैनौँ । उहाँका विकासका प्रतिबद्धताले नवलपुर जिल्ला र हामी नवलपुरवासीलाई नै गौरवान्वित गराउनेछ भन्नेमा विश्वस्त छौँ’, देवचुली नगरपालिका ७ का हर्कबहादुर सोमैले बताएका थिए । 

उनले सोचेका विनोद चौधरी फरक हुन् । उनले भनेका थिए, ‘अहिलेको चुनाव हाम्रा लागि विशेष छ किनभने विनोद चौधरीजस्ता देशलाई नै ठूलो योगदान पुर्याएका नेता हाम्रो घरदैलोमा भोट माग्न आएका छन् । उनले हाम्रा लागि पक्कै पनि राम्रो काम गरेर देखाउने छन् ।’

जब विनोद चौधरी पार्टीका नेताहरुका लागि भोट माग्न जाँदा त मतदाताको यो विश्वास छ भने उनी आफैं नै उम्मेदवार भएर भोट माग्न गए भने उनलाई हेर्ने विश्वास अझ कति फराकिलो होला ? किनकि जिम्मेवारीले नै मानिसलाई कर्तव्यबोध बनाउने हो । 

त्यस्तै मध्यबिन्दु नगरपालिका ३ का मतदाता शिवलाल श्रेष्ठले स्थानीय तहको निर्वाचनलाई आफूले फरक तरिकाले हेरेको बताएका थिए । उनले भनेका थिए, ‘नवलपुर जिल्ला वास्तवमा बत्तीमुनिको अँध्यारोमा रहँदै आएको छ । देख्दा धेरै विकसित जस्तो देखिन्छ तर यो जिल्ला वास्तवमै अविकसित छ ।’, श्रेष्ठले भने, ‘देशका एकमात्र अर्बपति विनोद चौधरीलाई हामीले हाम्रा नेताको रुपमा पाएका छौँ । जहाँसम्म मैले उनलाई चिनेको छु, उनी आँटेको काम फत्ते नगरेसम्म आफू पनि सुत्दैनन् र अरुलाई पनि सुत्न दिदैनन् । जिल्लाको विकासका लागि अहिले उनले जे भनिरहेका छन् मलाई विश्वास छ गरेर देखाउने छन् । नवलपुर जिल्लाले आफ्नो पुरानो पहिचान बदल्ने छ ।’

शिवलालले भनेजस्तै चौधरीको चुनावी अभियानलाई नियाल्दा उनी जिल्लामा चुनावी अभियान मात्रै चलाइरहेका देखिन्नथे । उनले स्थानीय तहमा भोलि चुनिएर आउने जनप्रतिनिधिहरुलाई कसरी काम गनुपर्छ भनेरसमेत उर्जा भरिरहेका थिए ।  

उनले गत बैशाखमै भनेका थिए, ‘स्थानीय निकायका जनप्रतिनिधि दश माइलको रफ्तारमा हिँड्नुभयो भने म सय माइलको रफ्तारमा हिँड्नेछु ।’ 

स्थानीय तहको निर्वाचनमा उनले सम्बोधन गर्ने क्रममा एक शब्द पनि विपक्षीलाई गाली गर्नमा खर्चेनन् । उनको अभियानले गालीको पछि लागेको नेपाली राजनीतिक संस्कारलाई बदल्न खोज्यो । उनका जति पनि अभिव्यक्ति आए ती सबै विकास निर्माण र जनताको जीवनस्तर परिवर्तनमा केन्द्रित रहे । विपक्षीहरुलाई होचो देखाएर आफू अग्लो देखिने राष्ट्रिय राजनीतिको दृष्य त्यहाँ देखिएन । त्यो दृष्यलाई सबै दलका नेता तथा कार्यकर्ता एवं समर्थकले पनि देखेकै हुन् । 

स्थानीय तहको निर्वाचनमा चौधरीले चालेको यो अभियानले अन्य दलमा आवद्ध रहेका आम मतदाताहरुलाई पनि प्रभावित पारेको पाइएको छ । किनकि स्थानीय तहको निर्वाचनमा उनी जहाँ जहाँ गए कांग्रेस प्रवेश गर्नेको लहर नै चलेको थियो । 

त्यतिबेला एमालेबाट कांग्रेसमा प्रवेश गरेकी बिमला सुनारले भनेकी थिइन्, ‘हामीलाई विकास चाहिएको छ त्यसका लागि विनोद चौधरीभन्दा ठूलो भरोसा अरु हुन सक्दैन । चौधरीले नवलपुरमा तीन हजार मानिसलाई रोजगारी दिनुभएको छ । त्यसमध्ये पनि आधाजसो महिला छन् । हाम्रो जीवनस्तर सुधारमा उहाँले जति योगदान दिनुभएको छ त्यो अन्य कसैसँग पनि अपेक्षा गर्न सकिँदैन । त्यसैले म लामो समयदेखिको एमालेसँगको आवद्धता छोडेर उहाँको हातबाट टीका लगाउन पाउँदा उत्साही छु ।’  

यो भरोसा चौधरीले स्थानीय तहको निर्वाचनमै दिलाएका छन् । त्यसलाई आधार बनाउँदा पनि चौधरीले मतदाताको मन जितिसकेको विश्वास गर्न सकिन्छ । 

भ्रष्टाचार रोक्न मद्धतकारी
नेपालमा नेताहरु सबैभन्दा भ्रष्ट रहेको तथ्याङ्क सार्वजनिक हुँदै आएको छ । ट्रान्सपरेन्सी इन्टरनेशनलको प्रतिवेदनले सरकार नै भ्रष्ट हुँदै गएको निष्कर्ष निकालेको थियो । पहिले भनिन्थ्यो चप्पल पड्काउँदै राजधानी छिरेका नेताहरु अहिले करोडपतिको सूचीमा छन् । भ्रष्टाचार नगरी यो सम्भव छैन । 

यसबाट विनोद चौधरी अछुतो रहन सक्छन् । किनकि उनी भारत बाहेक दक्षिण एसियाका एक्ला अर्बपति हुन् । उनको आफ्नो व्यवसाय दिनानुदिन फस्टाउँदो छ । अब उनलाई पैसा हैन थप मान र प्रतिष्ठासहित समाजसेवा गर्ने अवसर चाहिएको छ । त्यसका लागि उनले कमाएको सम्पत्ति खर्च गरेर नेपालको विकासमा लगाउन सक्छन् । तर चप्पल पड्काउने नेताजस्तो लुट्दैनन् भन्ने विश्वास गर्न सकिन्छ । 

किनकि उनी राजनीति पेशा हैन सेवा गरौं भन्ने भावनाले अंगालेका हुन् । राजनीति जनसेवा गर्ने माध्यम बन्नेछ । नेपालमा पदमा पुगेका जति पनि नेताहरु बदनाम भएका छन् उनीहरु भ्रष्ट भएरै हो । सीमित पैसाका लागि जस्तोसुकै अनधिकृत काम पनि गर्न पछि नपर्ने नेताहरुकै कारण देश विकास भन्दा विनाशको गतिमा छ । 

गत चैत २२ गते फोर्ब्सले सार्वजनिक गरेको पछिल्लो सूचीअनुसार दक्षिण एसियामा भारतमा बाहेकका अर्बपति विनोद चौधरीमात्र हुन् । नेपालका एकमात्र डलर अर्बपति चौधरीको सम्पत्तिमा पनि वृद्धि भएको छ । फोर्ब्सका अनुसार उनको सम्पत्ति गत वर्ष १.४ अर्ब डलर रहेकोमा यो वर्ष दश करोड डलरले वृद्धि भई १.५ अर्ब डलर पुगेको छ । 

अर्थात् उनको श्रीवृद्धि भइरहेको छ । उनका कम्पनीहरुले आम्दानी गरिरहेका छन् । उनलाई कुनै दुःख वा अभाव छैन । तर देशको गरिबीप्रति उनी चिन्तित छन् । उनले एउटा व्यक्ति मात्र धनी हुँदैमा आफूलाई सन्तुष्टि नमिल्ने बताउँदै देशलाई आर्थिक रूपले समृद्ध बनाउन सक्दाको दिनमा मात्र वास्तविक आत्मसन्तुष्टि मिल्ने जनाएका छन् । 

‘मेरो सपना समृद्ध नेपाल निर्माण गर्ने हो’, चौधरीले भने, ‘आफूसँग भएको ज्ञान र सिकेको सीप सबै नेपालीले देखेको देशको आर्थिक समृद्धिको सपना साकार पार्न प्रयोग गर्न सकौँ भनेर नै म राजनीतिमा आएको हु ।’

चौधरीले अहिलेसम्म आँटेका काम पूरा गरेका छन् । उनको लगाबले नै उनी शिखरमा पुगेका हुन् । सफलताको सूत्र उनीसँग छ । त्यसैले त युवाहरु उनीप्रति झुम्मिन्छन् । किनकि उनी स्वयं उदाहरण हुन् । उनलाई पछ्याउन इमान चाहिन्छ । 

व्यवसायिक रुपमा उनको इमानले नै चौधरी ग्रुप यहाँसम्म आइपुगेको हो । चौधरी ग्रुपले आर्थिक वर्ष २०७७–०७८ मा नेपाल सरकारको राजश्वमा १४ अर्ब २८ करोड रुपैयाँ योगदान गरेको छ । चौधरी नेतृत्वमा सञ्चालित उद्यम व्यवसायबाट एक वर्षमा सरकारी ढुकुटीमा उक्त रकम योगदान भएको हो । पछिल्लो वर्ष नेपाल सरकारको कुल राजश्वमा चौधरी ग्रुपको योगदान १ दशमलव ७३ प्रतिशत रहेको छ । एउटा व्यापारिक समूहबाट सरकारको राजश्वमा भएको सम्भवतः यो सबैभन्दा ठूलो योगदान हो ।

कोरोनाका कारण विश्वव्यापी अर्थतन्त्र ओरालो लागेको, नेपालको समग्र अर्थतन्त्र शिथिल बनेको, निजी क्षेत्रद्वारा सञ्चालित उद्यम व्यवसायमा प्रत्यक्ष नकारात्मक असर परेको र आपूर्ति श्रृखंला अवरुद्ध भइ व्यापारिक कारोबारमा व्यापक गिरावट आएको समयमा सीजीले सरकारी ढुकुटीमा उक्त रकम योगदान गरेको हो ।

‘कोभिडका कारण राष्ट्रिय अर्थतन्त्र नै संकुचित भएको समयमा चौधरी ग्रुपले राजश्वमा गर्न सकेको उल्लेख्य योगदानको तथ्यले मलाई उत्साही बनाएको छ’, चौधरीले भने, ‘स्वास्थ्य सङ्कटको व्यवस्थापन र कोभिड खोप खरिदलगायत सरकारका अत्यावश्यक दायित्व व्यवस्थापनमा यसले महत्वपूर्ण भूमिका निर्वाह गरेको होला भन्ने मैले विश्वास लिएको छु ।’

विगत चार आर्थिक वर्षमा चौधरी ग्रुपले नेपाल सरकारको राजश्वमा ४५ अर्ब ५० करोड रुपैयाँ योगदान गरेको छ । चौधरी ग्रुपले खाद्य पदार्थदेखि जलविद्युत् र वित्तीय क्षेत्रसम्म लगानी गरेको छ । 

राजनीतिमा विनोद चौधरी 
चौधरीको पृष्ठभूमि व्यवसायीक नै हो । उनी व्यवसायबाट राजनीतिमा आएका हुन् । तर उनको राजनीतिसँगको नाता भने पुरानो हो । कुनै समय बहुदल नआउँदै उनी सूर्यबहादुर थापासँग नजिक थिए । बहुदलपछि उनी दलका नेताहरुसँग नजिक भए । 

उनी परिवर्तन चाहन्छन् । विकास चाहन्छन् । खोजतलास गरिरहन्छन् युवाहरुको भविष्य । सुन्दर सपना देख्छन् । २०६४ सालमा उनी नेकपा एमालेका तर्फबाट संसदमा पुगे । उनले त्यतिबेला पार्टीभित्र खेलेको भूमिका प्रशंसायोग्य रह्यो । 

त्यसपछिको निर्वाचनमा भने उनी शान्त रहे । तर राजनीतिबाट टाढा भने भाग्न सकेनन् । नेताहरुसँग उनको हिमचिम रहिरह्यो । उनलाई एमालेको नीति पटक्कै मन परेन । त्यसकारण पनि उनी नेपालमा विकास केवल कांग्रेसलेमात्र गर्न सक्ने आँकलनसहित कांग्रेसी नीतिबाट प्रभावित भए । 

त्यसपछि उनलाई सभापति शेरबहादुर देउवाले उनको उद्योग रहेको क्षेत्र नवलपुरमा तत्कालीन पार्टी महामन्त्री डा. शशांक कोइरालालाई जिताउने जिम्मामा खटिए । कोइरालाले सहजै चुनाव जिते । अनि उनी समानुपातिकबाट सांसद बने । 

यसरी उनी दुईपटक प्रतिनिधि सभाको समानुपातिकबाट सांसद भइसकेपछि अब प्रत्यक्ष चुनाव लड्न खोजिरहेका छन् । आखिर उनको प्रसिद्धी बढिरहेको छ भने उनी प्रत्यक्षमै चुनाव लड्न सक्छन् ।

अर्थ, पर्यटन र परराष्ट्र, व्यवस्थापन मामिलाका विज्ञ
मुलुक अप्ठेरोमा परेका बेला चौधरी जुनसुकै भूमिकामा पनि देखिन सक्षम छन् । खासमा उनको व्यवस्थापन शैली अजब छ । उनको उत्पादन विदेशमासमेत चर्चित हुनु चानचुने होइन । कोरोना कालमासमेत सीजी कमजोर भएन । उनलाई विपद् व्यवस्थापन नआउने भएको भए सीजी पनि अन्य जस्तै घाटामा जाने थियो । तर सीजीले आफूलाई निरन्तर अगाडि बढाउँदै लग्यो । 

चौधरी अर्थविद् र व्यवस्थापन मामिलाका विज्ञ त हुन् नै आफ्नो चौधरी ग्रुपसँगै लगानीलाई विदेशमा विस्तार गर्ने क्रममा उनको परराष्ट्र सम्बन्ध पनि मजबुद बन्दै गएको छ । 

उनको ब्राण्ड विश्वभर फैलिएको छ । उनले आफ्नो ब्राण्डलाई विश्वभर चिनाएका छन् र आफू पनि चिनिएका छन् । उनको त्यो लोकप्रियताले गर्दा नै उनी परराष्ट्र मामलाका जानिफकार बन्दै गएका छन् । देशको परराष्ट्र नीति र छिमेकी मुलुकहरुको सम्बन्धमा उतारचढाव आएका बेलामा चौधरीको भूमिका अहम् हुन सक्छ ।

व्यवस्थापनबाटै उनको चौधरी ग्रुपले गगन चुमेको छ । विश्वमै उनको व्यापार संजाल फैलिएको छ । यदि व्यवस्थापनमा विज्ञ नहुने हो भने उनी नेपालका एक्ला अर्बपति हुने थिएनन् । तसर्थ उनी व्यवस्थापनका पनि विज्ञ हुन् । 

उनी पर्यटनविद् पनि हुन् । उनले देश विदेशमा गरेको र भोगेको अनुभव नै त्यसका लागि बलियो आधार बन्न पुग्यो । उनले गत जेठमा संसदमा सरकारको नीति तथा कार्यक्रमको योजनाकै बेला भनेका थिए, ‘नयाँ २० लाख हैन ५० लाख पर्यटक भित्र्याउन सकिन्छ ।’ उनको योजनाले काम गर्ने हो भने त्यो सफल पनि हुन्छ । अर्थात् उनी पर्यटन विज्ञ पनि हुन् । 

युवाकै वरिपरि चौधरी 
चौधरीका फ्यान फलोअर्स सबैभन्दा बढी युवा नै छन् । किनकि युवालाई चौधरीको जीवनीबाट प्रेरणा मिल्छ । युवालाई आफ्नो जीवनमा केही गरौं भन्ने लागेको हुन्छ । त्यही बेलामा कसैको अभिभावकीय भूमिका खोज्छन् युवा । आइडिया लिन्छन् कसैबाट । ती प्रेरणाका स्रोत हुन् विनोद चौधरी । 

संघर्षको जीवनबाटै विनोद चौधरी विश्वविख्यात छन् । उनको व्यवसाय फस्टाउँदो छ । उनको वैदेशिक कूटनीतिसमेत राम्रो हुँदै गएको छ । चौधरी अक्सर आफ्ना व्यवसायिक सफलता वा सामाजिक कामहरूमा आफ्नो संलग्नतालाई सामाजिक सञ्जालबाट सार्वजनिक गरिरहन्छन् । 

सामाजिक सञ्जालमा उनलाई फलो गर्नेहरूमध्ये दुई तिहाइ युवा छन् । उनको सफलतामा त्यस समूहलाई कतै न कतै आफ्नै सफलताको झल्को आएजस्तो भान हुँदो हो । उनी पथप्रदर्शक पनि हुन् । उनी ‘मोटिभेशनल स्पिकर’ अर्थात् प्रेरक वक्ता पनि हुन् । विश्वविद्यालयदेखि विद्यालयसम्मका विद्यार्थीसँगै युवालाई उनले ‘स्पिच’ दिन्छन् । उनको स्पिचमा उनको सफलताको कथा जोडिन्छ । 

गत वर्ष बैशाखको दोस्रो सातातिर उनले त्रिभुवन विश्वविद्यालयको एउटा सभाहलमा करिब १५ सय विद्यार्थीमाझ बोलिरहेका थिए । उच्च शिक्षाको अध्ययन गरेर देशमै केही गर्ने सपना बोकेका ती विद्यार्थीहरु चौधरीको प्रवचन सुनेर लठ्ठ थिए । खचाखच हल मौन प्रायः थियो । बहुराष्ट्रिय कम्पनी चौधरी ग्रुपलाई विश्वस्तरीय बनाउँदाको कथा त छँदै थियो त्यो भन्दा पनि राजनीतिमा होमिएर नेपाललाई कसरी समृद्धिको बाटोमा डोहोर्याउन सकिन्छ भन्ने योजना सुनाइरहँदा विद्यार्थीहरु तालीको पर्रा छुटाउँथे ।

हुन पनि विनोद चौधरी जब राजनीतिमा होमिए तबदेखि उनी समृद्ध र समुन्नत नेपालको परिकल्पनामा तल्लिन छन् । सीजीलाई जसरी सफलताको सिंढीमा उकाले त्यसैगरी नेपाललाई समृद्धिको आकार दिन उनी महत्वाकांक्षी योजनाहरुका साथ तयार रहेको उनको प्रस्तुतिबाट बुझ्न सकिन्छ । तिनै योजनाहरुको सार विद्यार्थीहरुमाझ सुनाइरहँदा सुन्नेहरु मन चंगा भएको अनुभूत गर्थे ।

विश्वव्यापी धनाढ्यहरुको सूचीमा सूचीकृत भएको एउटा व्यवसायी किन राजनीतिको समुद्रमा हाम फाल्यो भन्ने जिज्ञासा उनले सुनाएका सपनाहरुबाट काफी हुन्छ । उनले लेखेको आत्मकथाले पनि यसलाई छर्लङ्ग पार्छ मेहनत गरे असम्भव केही छैन । 

युवाहरुमा उनको यही स्पिचले केही गरौं भन्ने हुटहुटी चलाउँछ । एक वर्षमा पाँच लाख युवाले विदेश जानका लागि स्वीकृति लिएको तथ्याङ्क सुनाउँदै चौधरी भन्छन् –यो जमातलाई स्वदेशमै राखेर देश विकास गर्न सकिन्छ । 

त्यसैले पनि आर्थिक वर्षको बजेट बनाउने बेलामा उनी सक्रिय हुन्छन् । नीति तथा कार्यक्रममा उनी संसदमा पुगेर आवश्यक विषयमा बोल्छन् । विशेषगरी युवा केन्द्रीत कार्यक्रममा जोड दिन्छन् । उनलाई राम्रोसँग थाहा छ युवा भनेका देशका पिलर हुन् । उनीहरुलाई दिइने ‘गाइडलाइन’ ले देश बन्न बेर लाग्दैन । आर्थिक समृद्धिमा युवाले खेल्ने भूमिका अरु कसैले खेल्न सक्दैनन् भन्नेमा स्पष्ट छन् चौधरी । 

प्रतिनिधि सभाका सांसद उनी युवाहरूलाई भविष्यप्रति उत्साही बनाउने गरी आर्थिक वर्षको बजेट ल्याउनुपर्ने बताउँदै आएका छन् । युवाहरू भविष्यप्रति विश्वस्त नहुँदा विदेशिने लहर नै चलेकाले यो देशको विकास अभियानका लागि राम्रो संकेत नभएको उनको निष्कर्ष छ । 

उनी भन्ने गर्छन्, ‘हाम्रो ध्यान युवाहरुका लागि गुणस्तरीय शिक्षाको ग्यारेन्टी गर्नेतर्फ हुनुपर्छ । उनीहरुका लागि आकर्षक रोजगारी श्रृजना गर्नेतर्फ हुनुपर्छ । बजेट हाम्रा लागि आउने होइन भन्ने युवाहरूको धारणामा परिवर्तन ल्याउँदै उनीहरु उत्साही हुने बजेट ल्याउनुपर्छ ।’

चौधरी अगाडि भन्छन्, ‘हामीले युवाहरूलाई केन्द्रमा राखेर सरकारको नीति र बजेट बनाउन सकेनौँ भने हाम्रा युवाहरु रोजगारीको खोजीका लागि गोरखपुर पुगेर रेल चढ्ने र कोही युवा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विमान चढ्ने क्रम जारी नै रहने छ ।’ 

नेपालको हालको जनसंख्याको बनोटमा २५ वर्ष आसपासको उमेर समूह निर्णायक छ । राजनीतिमा यसको अर्थ अबको राजनीतिक निर्णयकर्ता देशका युवा हुन् भन्ने हो । आगामी निर्वाचनमा कम्तीमा ३० लाख युवा मतदाता थपिने छन् । तिनले आफ्नो मत दिन देशमा आर्थिक समृद्धिको जग हाल्ने भरपर्दो अनुहार खोज्नेछन् । 

आगामी निर्वाचनदेखि गैरआवासीय नेपालीले पनि मताधिकार प्रयोग गर्ने सम्भावना छ । उनीहरूको छनोट पनि यस्तै अनुहार हुनेछ । किनभने नेपालले आर्थिक विकासमा फड्को मार्न नसक्दा उनीहरूमध्येका अधिकांशले विदेशको यात्रा तय गर्नु परेको हो । उनीहरू देशमा आफू बसेको देशको जस्तै विकास गर्ने नेतृत्व चाहन्छन् । 

चौधरी पनि विदेशमा भासिएको युवा शक्तिलाई स्वदेश फर्काउन चाहन्छन् । उनीहरुका आकांक्षा पूरा गर्न चाहन्छन् । उनी विदेशमा झण्डै ५० लाख नेपालीहरु रहेको अनुमानसहित तीमध्ये २५ लाखले मात्र पनि मताधिकारको प्रयोग गर्ने हो भने युवाको मत कता छ भन्ने स्पष्ट हुने बताउँछन् । 

युवाले विदेशमा चुहाएको पसिनाबाट आर्जित रेमिट्यान्सको भरमा देश चल्न हुने तर तिनै युवाले मतदान गर्न नपाउने भन्ने हुन नहुनेमा चौधरी अडिक छन् । उनी लामो समयदेखि गैरआवासीय नेपालीले पनि मतदान गर्न पाउनुपर्ने आवाज उठाउँदै आएका छन् । 

अरु असफल भएपछि देश बनाउने खाका लिएर जागे चौधरी 
अझै विकासोन्मुख नै रहेको नेपालमा बहुदल आएपछि पनि थुप्रै सरकारहरु फेरिए । दर्जनौं मन्त्रीहरु झन्डावाला गाडीमा हुइँकिए । सिंहदरबारमा धेरै जना प्रधानमन्त्रीका तस्वीरहरु टांगिए । धेरै वटा घोषणापत्रमा मुलुक समृद्धिका सपनाहरु बाँडियो । स्थिर सरकारको म्यान्डेट लिएर आएका निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले पनि सपना बाँडदा बाँड्दै थाके । तर विनोद चौधरी त्यतिबेला पनि सपना पूरा गराउने आँट देखाउँदै सीजीलाई झैं मुलुकलाई समृद्धिको दिशामा अघि बढाउने स्पष्ट म्यान्डेट आफूसँग तयार रहेको दावा गरिरहेका थिए । 

अहिले नेपाली कांग्रेसकै नेतृत्वमा सरकार रहेको छ । अब त्यो म्यान्डेट उनी प्रत्यक्ष निर्वाचित सांसद भएर थप जिम्मेवारीका साथ पूरा गर्ने अठोटसाथ अगाडि बढिरहेका छन् ।  

चौधरी भन्ने गर्छन्, ‘कुनै पनि देशको विकासका लागि राजनीति सही दिशामा चल्नुपर्छ । सबै कुरा ठीकठाक भए पनि राजनीति बिग्रियो भने देश बन्दैन । त्यसैले राजनीतिलाई जनता र समृद्धिसँग जोड्ने संकल्प लिएको छु ।’ 

उनलाई नेपाली राजनीति भित्रको वेथिति उतिसारो ज्ञान थिएन तर अहिले त्यसलाई पनि राम्ररी चिन्न थालिसके । त्यसैले ति वेथितिलाई चिर्न सक्ने शक्ति  आफूसँग रहेको उनले बताउँदै आएका छन् । 

कांग्रेस पार्टी आफ्नो एउटा लक्ष्य र बाटो तय गरी आफूले नेतृत्व गरेको सीजी ग्रुपझैं चल्नुपर्छ भन्ने उनी ठान्छन् । र मुलुक पनि सोही अनुसार सिस्टममा चलाउनुपर्ने उनको मत छ । 

त्यसैले त उनले बुढानीलकण्ठ स्कुलको उदाहरण दिने गरेका छन् । उनले बुढानीलकण्ठ अहिले ७७ वटै जिल्लामा विस्तार हुनु पर्नेमा किन दुई वटा पनि हुन सकेन भनी प्रश्न गर्छन् ? व्यवस्थापनको कमजोरीका कारण यसले विस्तार गर्न नसकेको उनको भनाइ छ । नयाँ शिराबाट अगाडि बढ्नुपर्नेमा उनको जोड छ । त्यसरी नै राजनीतिक दलहरुमा पनि सिष्टम नभएको उनको ठम्याइ छ ।

जिम्मेवारी पूरा गराइछाड्ने पात्र
नीति र नेतृत्व स्पष्ट भएपछि मिसन सफल बनाउन कुनै चुनौती नहुने विनोद चौधरीको अनुभव छ । कुनै समय एमालेबाट सांसद बनेर सदन छिर्दा उनले सुझाव दिए अनुसारको अर्थनीति धेरैहदसम्म उपयोगी सावित भयो । पछि कांग्रेसभित्र बसेर उनले जिम्मेवारी पाए अनुसार सुझाएको रणनीतिलाई सबैले ताली बजाए । 

जहाँ जहाँ चौधरीले हात हाले त्यहाँ नयाँ तरङ्ग ल्याइदिए । उनले भन्ने गरेका छन्, ‘गतिशील संगठन र वैचारिक नेतृत्व पार्टी पुनर्जीवनका अनिवार्य पूर्वसर्त हुन्, त्यसैले यसमा गम्भीर होमवर्क गर्नैपर्छ ।’ उनको बुझाइमा परम्परागत राजनीतिक संस्कारलाई आधुनिक युग सुहाउँदो बनाउनुपर्छ ।

पछिल्लो समय कांग्रेसले विनोदलाई दिएको जिम्मेवारीलाई पनि लोभलाग्दो रुपमा पुरा गरिदिएका छन् । कोभिड–१९ का कारण प्रभावित लगानी, पूर्वाधार र रोजगारबारे अध्ययन गर्न चौधरीको नेतृत्वमा गठन गरेको समितिले तयार पारेको प्रतिवेदन पनि कोभिडपछि मुलुकलाई समद्धितर्फ डोहोर्याउने स्पष्ट खाकासहितको सुझावले कांग्रेसप्रति आम सर्वसाधारणको झुकावलाई केही भए पनि बढाएको छ । 

यसको उदाहरण स्थानीय तहको निर्वाचनमा कांग्रेसले आत्मसाथ गरेको नतिजाले पनि देखाउँछ । त्यसो त संसदमा चौधरीले प्रस्तुत गरेका विचारले नेपाली अर्थतन्त्रको क्षेत्रमा नयाँ तरंग ल्याउने गरेको छ । उनले बताउने गरेका छन्, ‘उदार अर्थतन्त्रलाई बढावा दिन सानोतिनो ओखतीमूलो नभइ ठूलै शल्यक्रिया आवश्यक छ ।’ 

विपद्का बेलामा सधै अगाडि 
आफूले वचन दिएको कुरा पूरा गर्ने चौधरीको बानी छ । उनी निकटकाहरु सधै भन्ने गर्छन् ‘उहाँ कि कमिटमेन्ट नै गर्नुहुन्न, गर्नुभयो भने कुनै हालतमा पूरा गरेर छाड्नु हुन्छ ।’

उनी विपद्का बेलामा उनी अगाडि नै हुन्छन् । चौधरी ग्रुप नै अग्रसर हुन्छ । पछिल्ला दुई वटा उदाहरण काफी छन् । उनले २०७२ सालको गोरखा भूकम्पपछि पीडितका लागि गरेको काम र त्यसपछि कोभिड १९ का बेलाको अस्तव्यस्ततालाई मिलाउन सरकारलाई सघाएको काम अतुलनीय छ । 

भूकम्प गइसकेपछि चौधरीको टिम पूर्णरुपले मानवीय सेवामा समर्पित भयो । भूकम्पले सबैभन्दा प्रभावित १० वटै जिल्लामा पुगेर ट्रान्जिस्नल शेल्टर (संक्रमणकालीन आश्रय) बनायो । भूकम्प पीडितलाई त्यतिबेला सडकबाट ओतमा ल्याउन काम चौधरीले गरे । गोर्खाका गाउँदेखि रामेछापको माझीबस्तीसम्म, दोलखादेखि काभ्रे सिन्धुपाल्चोकसम्म पुगिएको चौधरी सुनाउँछन् ।  

त्यस्ता आश्रय २५ सय वटा बनाइएको थियो । तत्काल स्कुलहरुलाई राहत सेन्टरमा परिणत गरेर पीडितलाई राहत दिने कामसमेत चौधरी ग्रुपले गर्यो । मुख्य १० जिल्लामा गोर्खाको गाउँदेखि रामेछापको माझीबस्तीसम्म, दोलखादेखि काभ्रे सिन्धुपाल्चोकसम्म पुगियो । 

चौधरी ग्रुपले ४० वटा भत्केका विद्यालयहरु बनायो । बस्ने खाने र औषधि उपचारको काम तिनै विद्यालयहरुबाट गर्यो । सिन्धुपाल्चोकको बिरानचौरमा ६२ घर भएको मोडल घर बनाएर हस्तान्तरण गर्यो । 

सरकारसँग समन्वय गरेर चौधरी ग्रुपले काम गरेको थियो । आवश्यकताअनुसारको सहयोग गर्दै गएको थियो । 

त्यस्तै कोरोना महामारीका बेलामा चौधरी ग्रुपले अहम् भूमिका खेल्यो । कोभिडका बिरामी राख्न अस्पताल भरिभराउ भएसँगै आईसीयू वार्ड र अक्सिजन प्लान्ट बनाउन मद्धत गर्यो । 

चौधरी ग्रुपले वीर अस्पतालमा १८ शैयाको आईसीयू बनायो । जसलाई सीजी आईसीयू नामाकरण गरिएको छ । त्यस्तै वीर अस्पतालमा अक्सिजन प्लान्ट पनि बनायो । 

धनगढी र सुर्खेतमा स्थानीय नगरपालिकाको समन्वयमा अस्पताल बाहिरै अक्सिजन प्लान्ट बनायो । कोभिडका बिरामीको ज्यान जान थालेपछि सांसद विनोद चौधरी चुप लागेर बसेनन् । उनले आठ वटा भेन्टिलेटर सरकारलाई हस्तान्तरण गरे । 

कोभिडका बेलामा चाहिने कोभिड किटको अभाव हुन दिएनन् । चौधरी ग्रुपको टिम पूर्व मेचीदेखि महाकालीसम्म नै पुगेर बाँड्यो । 

बालबालिकाका लागि पनि चौधरी ग्रुपले सहयोग गरेको छ । कान्तिबाल अस्पतालमा २५ शैयाको इमरजेन्सी वार्ड ‘सारिकादेवी चौधरी इमरजेन्सी वार्ड’ बनाएर अस्पताललाई हस्तान्तरण गरिसकेको छ । 

यसबाट पनि विनोद चौधरी हरदम अगाडि नै हुन्छन् । उनका पुत्रहरु यस मामलामा उत्तिकै संवेदनशील छन् ।  
 

राष्ट्रको नेतृत्वमा व्यवसायिक पृष्ठभूमिका नेताहरुको इतिहास र विनोद चौधरी 
विश्व राजनीतिको पछिल्ला दिनमा केवल राजनीति मात्रै नभएर आर्थिक विषयसमेत जोडिएको अर्थराजनीतिलाई महत्व दिन थालेको छ । बीसौंं शताब्दीसम्म एक अर्काबीच चल्ने हानाथाप र साना ठूला युद्धलाई विस्तारै बिर्सिएर विश्वका प्रभावशाली मुलुकहरु विज्ञान र प्रविधिमार्फत् थप शक्तिशाली बन्ने प्रयासमा लाग्न थालिरहेका छन् । 

राजनीतिक आस्थाको भन्दा पनि व्यापार र व्यवसायको आधारको भूराजनीतिक सम्बन्धहरु दीगो र प्रभावकारी हुन थालिसकेका छन् । विश्व राजनीतिमा द्विदेशीय व्यापारले कुटनीतिलाईसमेत प्रभाव पार्न थालेपछि व्यवसायिक नेतृत्वकर्ताहरुको चर्चा पनि अन्तर्राष्ट्रिय राजनीतिमा हुन थालेको छ । पछिल्लो समय व्यवसायिक क्षेत्रका मानिसहरुले देशकै राजनीतिक नेतृत्वसमेत लिन थालेबाट अब व्यवसायिक नेतृत्व पनि वैकल्पिक राजनीतिक नेतृत्वका रुपमा तयार देखिएको हो । कतिपय ठाउँमा व्यवसायिक नेतृत्व वैकल्पिक नेतृत्वका रुपमा मात्र नभइ मूलधारकै नेतृत्वको रुपमासमेत खडा हुन थालेको छ । 

राजनीतिक रुपमा भिन्न आदर्श मान्ने भारत र चीन व्यापारको मामलामा अहिले एउटै लाइनमा खडा हुन थालेका छन् । यसबाहेक भूराजनीतिमा देखिने धेरै विवाद तथा असमझदारीहरु सबै आर्थिक विषयबस्तुलाई लिएर नै हुने गरेका छन् । बीसौं शताब्दीदेखि २१ औं शताब्दीसम्म आइपुग्दा अमेरिका लगायतका देशहरुले पटक पटक उद्यमी व्यवसायीलाई देशको राजनीतिक नेतृत्व गर्ने जिम्मा दिएको घटनाले पनि पछिल्लो समय विश्वले आर्थिक विषयबस्तुलाई बढी महत्व दिएको देखिन्छ । 

वारेन जी हार्डिङ अमेरिकाका २९ औं राष्ट्रपति हुन् । सन् १९२१ देखि १९२३ मा अमेरिकाको राष्ट्रपति बनेका हार्डिङसहित अहिलेसम्म दुईजना राष्ट्रपतिहरु व्यवसायिक क्षेत्रबाट आएका छन् । अमेरिकाका ४४ औं राष्ट्रपति डोनाल्ड ट्रम्प पनि लामो व्यवसायिक अनुभव भएका एक सफल व्यवसायी हुन् । उनको विविध क्षेत्रमा व्यापार व्यवसाय रहेको छ । रियल स्टेट, होटल, क्यासिनो जस्ता क्षेत्रमा ट्रम्पको लगानी रहेको छ ।

त्यसैगरी अमेरिकामा व्यवसायिक क्षेत्रबाट राजनीतिमा सफल भएका अर्का व्यक्ति क्यालिफोर्नियाका पूर्व गभर्नर आर्नोल्ड पनि हुन् । पूर्व गभर्नर आर्नोल्ड एक विशिष्ट व्यवसायी, राजनीतिज्ञ र सामाजिक अभियन्ता थिए । उनी पेशाका हिसाबले गभर्नर बन्नु भन्दा पूर्व खेल तथा कलाका साथै सामाजिक जीवनमा सक्रिय थिए । जसका कारण उनी राजनीतिमा स्वभाविक रुपमा आकर्षित भए । पछि उनी अमेरिकाको गभर्नर नै बने । 

त्यस्तै लेबनानका पूर्व प्रधानमन्त्री राफिक अल हरिर पनि व्यवसायमार्फत् राजनीतिमा छिरेर प्रधानमन्त्री बनेका व्यक्ति हुन् । प्रधानमन्त्री बन्नुपूर्व उनी साउदी ओगर लिमिटेडका प्रमुख कार्यकारी अधिकृत थिए । यस बाहेक पनि साउदी अरेबियामा ठूला कन्स्ट्रक्सन कम्पनीकासमेत मालिक हरिर फोर्ब्सको अर्बपतिको सूचीमा परिसकेका व्यक्ति हुन् । हरिरको सन् २००५ मा हत्या हुनु अघिसम्म पनि उनी व्यवसायका अतिरिक्त राजनीतिमा पनि त्यतिकै सक्रिय थिए । 

इटालीका व्यवसायी एवं पूर्व प्रधानमन्त्रीसमेत रहेका सिल्भियो बेर्लुस्कोनी पनि व्यवसायद्वारा राजनीतिमा आएर सफल भएका व्यक्ति हुन् । उनी तीन पटकसम्म इटालीका प्रधानमन्त्री भए । राजनीतिमा आउनुपूर्व उनी रियल स्टेट र कन्स्ट्रक्सन क्षेत्रमा लगानी गर्ने व्यवसायी थिए । 

पाकिस्तानी पूर्व प्रधानमन्त्री इमरान खान पनि पहिले राष्ट्रिय क्रिकेट टिमका कप्तान थिए । पछि उनले पार्टी खोले र प्रधानमन्त्री नै बने ।

नेपालमा पनि राजनीतिमा लगनसहित लागेका व्यवसायीहरुलाई हेरेर नेपाली राजनीतिले उद्यमी व्यवसायीक पृष्ठभूमिको व्यक्तिलाई हेरेर देशको राजनीतिक नेतृत्वमा उद्यमी व्यवसायीक जगत्को मानिस आउनु पर्ने चर्चा भइरहेको छ । त्यसमा विनोद चौधरीको नाम अग्रणी स्थानमा आउँछ । 

उनको व्यवस्थापन पाटो निकै सबल छ । कोभिडका कारण सीजी इन्डष्ट्रियल पार्कमा रहेका उद्योगहरू करिब दुई महिना बन्द रहेका थिए । स्वास्थ्य सङ्कटका कारण व्यहोर्नु परेको लकडाउनले आपूर्ति शृङ्खलामा नराम्रो असर परेको थियो । सीजीका अधिकारीहरूले लकडाउन व्यहोर्नु नपरेको भए सरकारको राजश्वमा योगदान दुई प्रतिशतभन्दा माथि पुग्ने विश्वास गरिएको छ ।

‘अर्को पक्षबाट हेर्दा यस्तो सङ्कटमा पनि यो तहको योगदान गर्न सक्नु ग्रुपको कुशल व्यवस्थापनको नतिजा हो जसले हामीलाई क्राइसिस म्यानेजमेन्टमा धेरै कुरा सिकाएको छ’, सीजीका प्रबन्ध निर्देशक निर्वाण चौधरी भन्छन्, ‘हामी नेपालका धेरै क्षेत्रहरूमा लगानी विस्तार गरिरहेका छौँ र चालु आर्थिक वर्षको राजश्वमा हाम्रो योगदान पक्कै पनि योभन्दा माथि रहनेछ । नेपालको आर्थिक विकासको प्रक्रियामा उल्लेख्य योगदान गर्न पाउनु हाम्रा लागि सदैव गर्वको विषय हो ।’

कोभिड सङ्कटका बाबजुद पनि चौधरी ग्रुपको अब्बल व्यवस्थापनका कारण राष्ट्रिय ढुकुटीमा गर्व गर्न लायक योगदान गर्न सम्भव भएको विश्वास गर्न सकिन्छ । 
 



नयाँ