arrow

आफ्नै घर अगाडि गोली हानी मिडियाकर्मीकाे हत्या

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार २० सोमबार
IFJ-1.jpeg

काठमाडौं । फिलिपिन्सको रेडियो नाटिनका प्रसारक फेडेरिको डिंग गेम्पेसालाई जुन २९ मा कार्मेन कागायन डे ओरो सिटी मिन्डानाओमा उनको घर अगाडि दिउँसै गोली हानी हत्या भएको थियो ।

अन्तर्राष्ट्रिय पत्रकार महासंघ (आईएफजे) र यसको फिलिपिन्स स्थिती सम्बन्ध फिलिपिन्स राष्ट्रिय पत्रकार युनियन (एनयुजेपी)ले हत्याको भत्र्सना गर्दै दोषीलाई तुरुन्तै कानुनी दायरामा ल्याउन आग्रह गरेको छ ।

गेम्पेसा एक राजनीतिक टिप्पणीकार र स्थानीय सामुदायिक रेडियो नेटवर्क, रेडियो नाटिनमा प्रसारित दैनिक ब्लक टाइम कार्यक्रम बितायन सा कहांगीनानका प्रस्तोता थिए ।

प्रहरी रिपोर्टका अनुसार दुई मुखौटाधारी बन्दुकधारीले गेम्पेसालाई गोली हानेका थिए। गेम्पेसा ट्याक्सीबाट तल ओर्लिएपछि एक अपराधीले उनलाई नजिकबाट गोली हानेको थियो।

उनको टाउकोमा दोस्रो गोली लाग्नु अघि घाइते गेम्पेसा एक आक्रमणकारीसँग लडेका थिए। उनको घटनास्थलमै मृत्यु भएको थियो । प्रत्यक्षदर्शीका अनुसार हत्याराहरु लाइसेन्स प्लेट बिनाको मोटरसाइकलमा भागेका थिए ।

गेम्पेसा यस वर्ष मिन्डानाओमा मारिने तेस्रो रेडियो प्रसारणकर्ता हुन्। जनवरीमा, रेडियो नाटिनका स्टेशन प्रबन्धक जेनार्ड एन्जलसलाई अज्ञात संदिग्धहरूले सुल्तान कुदारातको टाकुरोङ शहरको कारमेनमा गोगोली हानी हत्या गरेका थिए।

अप्रिल २४ मा मागुइन्डानाओ प्रान्तको दातु अङ्गल मिडतिम्बाङ सहरमा झन्ना भिलेगासको हत्या गरिएको थियो ।

एनयुजेपीले गेम्पेसाको हत्या फिलिपिन्समा प्रेस स्वतन्त्रतामाथिको गम्भीर प्रहार भएको बताएको छ । जुन ३० मा पद छोडेका पूर्व राष्ट्रपति रोड्रिगोको कार्यकाल पत्रकारको हत्या, वैकल्पिक सञ्चारमाध्यमको पहुँचमा रोक लगाउने र रातो ट्यागिङ लगायतका सञ्चारमाध्यममाथि हमलाहरूकारुपमा चित्रण गरिएको छ ।

एनयुजेपीले भनेको छ, 'गेम्पेसाको क्रूर हत्याको लोकतान्त्रिक समाजमा कुनै स्थान छैन । हामी कुनै कसर बाँकी नराखी दोषी र मास्टरमाइन्डलाई न्यायको दायरामा ल्याउन माग गर्दछौं ।'

आईएफजेका महासचिव एन्थोनी बेलाङ्गरले भनेका छन्,'आईएफजेले फेडेरिको गम्पेसाको हत्याको निन्दा गर्दछ। हत्याको छानबिन गरी दोषीलाई कानूनी कठघरामा ल्याउन सम्बन्धित निकायले तत्काल कदम चाल्नुपर्छ । हामी फिलिपिन्स सरकारलाई पत्रकार र सञ्चारकर्मीहरूका लागि स्वतन्त्र र सुरक्षित वातावरण सिर्जना गर्न आग्रह गर्दछौं ।'



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ