arrow
ADVERTISEMENT

चीनमा विदेशी मिडियाको उपस्थिति खतरामा, के छ आईएफजेको एसिया–प्रशान्त क्षेत्रीय बुलेटिनमा ?

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ २१ शुक्रबार
IFJ-1.jpeg

चीनमा विदेशी मिडियाको उपस्थिति खतरामा, के छ आईएफजेको एसिया–प्रशान्त क्षेत्रीय बुलेटिनमा ? 
काठमाडौं । अन्तर्राष्ट्रिय पत्रकार महासंघ (आईएफजे) को प्रतिवेदनले चीनमा अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको उपस्थिति ‘खतरामा परेको’ बारे चिन्ता व्यक्त गरेको छ । २०२२ को शीतकालीन ओलम्पिक बेइजिङमा शुक्रबारदेखि शुरु हुँदा चीनको बारेमा आईएफजेको ताजा रिपोर्टले चीनमा काम गर्ने विदेशी संवाददाताहरूमाथि प्रतिबन्ध र तिनीहरूको सुरक्षा खतरा बढ्दै गएको फेला पारेको हो । 

चीनले आफ्नो देशभित्र मिडियाहरुलाई नियन्त्रण र देशबाहिरका सञ्चारमाध्यममा भने आफ्नो सकारात्मक प्रभुत्व फैलाउन खोज्ने गरेकोसमेत उक्त रिपोर्टले देखाएको छ ।

एसियाभरको आईएफजेको बुलेटिन
दक्षिण पूर्व एसिया

म्यानमारको सेनाले फेब्रुअरी १, २०२१ मा गरेको विद्रोहको एक वर्षबितिसक्दा त्यहाँ स्वतन्त्रताको अवस्था झन् खराब हुँदै गएको छ ।

कूको पहिलो वर्षमा ४६ पत्रकारहरू जेलमा, एकको हत्या र राष्ट्रिय मिडियामाथि कडा प्रतिबन्ध लगाइएको छ । रिपोर्टका अनुसार म्यानमारमा कू गरिएदेखि हालसम्म १२० पत्रकार र मिडियाकर्मीहरुलाई नियन्त्रणमा ल्याएको छ । जनवरी २६ सम्म तीमध्येका ४६ जना अझैं जेलमै रहेका छन् ।

पक्राउ परेका ४० जना पत्रकारलाई दण्ड संहिताको दफा ५०५ (क) उल्लङ्घन गरेको अभियोग लगाइएको छ । जुन सरकारी अधिकारीहरुलाई अनाज्ञाकारी वा अवज्ञाकारी गराउनु सम्बन्धी अपराध हो ।

पूर्वी एसिया
दुई प्रमुख चिनियाँ भाषाका स्वतन्त्र मिडिया संगठनहरू, स्ट्यान्ड न्यूज र सिटिजन न्यूजले जनवरीको शुरुमा एक हप्ता भन्दा कम समयको अन्तरालमा आफ्नो कार्यालय बन्द गर्ने घोषणा गरे । जुन २०२० मा हङकङमाथि चीनले राष्ट्रिय सुरक्षा कानून लगाएपछि प्रेस स्वतन्त्रतामाथिको अर्को प्रहार हो ।

स्ट्यान्ड न्यूजले डिसेम्बरसन् २०२१ को डिसेम्बर २९ मा र सन् २०२२ को जनवरी ४ मा सिटिजन न्यूजले आफ्नो प्रशारण एवं सञ्चालन बन्द गरेको हो । हङकङ प्रहरीले स्ट्यान्ड न्युजको न्यूजरूममा छापा मार्दै ‘देशद्रोहको प्रकाशन’ गरेको आरोपमा सात जनालाई पक्राउ समेत गरेको थियो ।

दक्षिण एसिया

भारत प्रशासित कश्मीरको सबैभन्दा ठूलो स्वतन्त्र मिडिया निकाय कश्मीर प्रेस क्लब (केपीसी) लाई जनवरी १५ मा सशस्त्र प्रहरी र भारतको सत्तारुढ भारतीय जनता पार्टीको समर्थन गर्ने पत्रकारहरूको सानो समूहले छापा मारेर जबरजस्ती बन्द गराएको थियो । 

छापा मारिएपछि, क्षेत्रीय प्रशासनले जनवरी १७ मा प्रेस क्लब समाज दर्ता ऐन अन्तर्गत दर्ता गर्न असफल रहेको घोषणा गरेको थियो ।

ओशिनिया

सूचनाको अधिकार र स्रोतको संरक्षणमा विशेष कानूनको अभावले प्रशान्त क्षेत्रमा भ्रष्टाचार विरुद्धको प्रगतिलाई रोकेको ट्रान्सपरेन्सी इन्टरनेशनलको २०२१ भ्रष्टाचार धारणा सूचकांक (सीपीआई) ले पत्ता लगाएको छ।

२०१८ मा सोलोमन टापुले भ्रष्टाचार विरोधी कानून पारित गरेको भए पनि भानुआटु र सोलोमन टापुहरू सीपीआई सुचकांको ४५ औं र ४३ औं स्थानमा रहेका छन् ।

सरकारलाई मिडियाको प्रत्यक्ष निरीक्षण प्रदान गर्ने फिजीको कानून र भानुआटुको हालैको मानहानिको अपराधीकरण जस्ता मिडिया स्वतन्त्रताको प्रतिबन्धहरूले यस क्षेत्रको पारदर्शितालाई असर गरेको छ। 

प्यासिफिकमा सबैभन्दा खराब स्कोरर बनेको पपुवा न्युगिनी ६ अंकले बढेर ३१ अंकमा पुगेको छ भने टिमोर–लेस्टेले पनि ११ अंकले सुधार गर्दै ४१ अंक बनाएको छ ।

विश्लेषण

इन्डोनेसियाली पत्रकार नुरहदीमाथि आक्रमण गरेको आरोपमा दुई प्रहरी अधिकारीलाई सजाय सुनाइएको विषयले पत्रकारको सुरक्षाको लागि महत्त्वपूर्ण उदाहरण स्थापित गरेको छ ।

तर, इन्डोनेसियामा प्रेस स्वतन्त्रतामा आएको गिरावटका कारण चिन्ता भने कायमै रहेको जिम नोलनको भनाइ छ ।

युनियनहरुको सक्रियता

अफगानिस्तान नेसनल जर्नलिस्ट युनियन (एएनयूजे) को सर्वेक्षणले तालिबान कब्जाको विनाशकारी नतिजाहरू देखाएको छ । सयौं सञ्चारमाध्यमहरु बन्द हुँदा हजारौं सञ्चारकर्मीहरु बेरोजगार बनेका एएनयूजेको सर्वेक्षणले देखाएको छ ।

एएनयूजेले ३३ प्रदेशमा गरेको सर्वेक्षणले भदौ १५ यता ३१८ मिडिया हाउस बन्द भएको र तालिवानको नियन्त्तण पूर्वको ५ हजार ६९ जना सञ्चारकर्मीमध्ये ​​२ हजार ३ सय ३४ ले मात्रै काम गरिरहेको देखाएको छ । 

अफगानिस्तानका विभिन्न मिडियामा अहिले २४३ महिला मात्र कार्यरत छन् । यस बीचमा जागिर गुमाउने मध्ये ७२ प्रतिशत महिला छन् ।

कम्बोडिया पत्रकार गठबन्धन संघ (कम्बोजा) ले कम्बोडियामा पत्रकारिताको स्थितिमा अक्टोबर डिसेम्बर २०२१ को लागि त्रैमासिक अनुगमन रिपोर्ट जारी गर्‍यो। यो रिपोर्ट प्रेस स्वतन्त्रताको लागि अनुगमन र वकालत गर्न क्याम्बोजाको निरन्तर प्रयासहरूको एक हिस्सा हो ।

प्रतिवेदनले कम्पोट प्रान्तमा भूमि विरोधको कभरेज गर्ने दुई पत्रकारलाई पक्राउ गरेको, प्रहरीले पत्रकारहरूलाई सामाजिक सुरक्षामा खलल पुर्‍याउने र दुर्भावनापूर्ण निन्दा गरेको आरोप लगाएको छ।

आईएफजेको सक्रियता

२०२२ को फेब्रुअरी १ मा आईएफजे अन्तर्राष्ट्रिय ट्रेड युनियन कन्फेडेरेसन (आईटीयूसी) र इन्डष्ट्रियललगायत धेरै अन्य विश्वव्यापी युनियन महासंघहरूसँग मिलेर म्यानमारका जनताको पक्षमा उभिएको छ । 

आईएफजेले स्वतन्त्र मिडिया, सेन्सरशिप र इन्टरनेट प्रतिबन्धको बन्दको निन्दा गरेको छ । यस्तै कू अन्तर्गत रहेका मिडिया पत्रकार र मिडियाकर्मीहरूलाई सहयोग र सुरक्षा गर्न अन्तर्राष्ट्रिय समर्थन बढाउन आह्वान गरेको छ ।

यस्तै आईएफजेले युनेस्कोसँग मिलेर २०२१ को डिसेम्बर २३ मा डिफेन्ड मिडिया फ्रिडम प्यासिफिक मिडिया किट लञ्च गरेको थियो । यसले प्रशान्तमा मिडिया स्वतन्त्रताको रक्षा गर्न ठूलो मद्दत  पुर्याउँछ ।

मिडिया भित्र

पाकिस्तानी पत्रकारहरूविरुद्ध अवहेलना मुद्दाको आरोप स्थगित भएको छ । जनवरी २० मा इस्लामाबाद उच्च अदालतले वरिष्ठ पाकिस्तानी पत्रकार अन्सार अब्बासी र आमिर गौरी, र द न्यूज इन्टरनेसनलको अंग्रेजी भाषाको अखबारका मालिक मीर शकिल उर रहमान विरुद्धको अवहेलनाको आरोपको अभियोगलाई स्थगित गरेको छ ।

डिसेम्बर २८ मा इस्लामावाद उच्च अदालतले पत्रकारहरूविरुद्ध अवहेलनाको आरोपहरू दायर गर्न सरेको थियो । जुन सफल भएमा पत्रकारहरूलाई उनीहरूको व्यावसायिक कर्तव्यहरू पूरा गर्नका लागि प्रभावकारी रूपमा सजाय हुने थियो । 

यसले रिपोर्टिङको भविष्य र पाकिस्तानमा मिडियाको अभिव्यक्ति स्वतन्त्रतालाई गम्भीर रूपमा खतरामा पार्ने देखिन्छ । प्रधानन्यायाधीश अथर मिनाल्लाहले उक्त फैसला सुनाउँदा प्रेस स्वतन्त्रताको महत्व रहेको बताएका थिए ।

आईएफजेको एसिया प्यासिफिक मोनिटरिङ

२०२२ मा हत्या, हमला र गिरफ्तारीको क्रम बढेको छ । २०२२ को पहिलो महिना एशिया प्रशान्त क्षेत्रका मिडियाकर्मी र संगठनहरूविरुद्ध धेरै हमला र धम्कीले प्रभावित भएको छ । जसमा दुई हत्याहरू पनि समावेश भएका छन् ।

यस्तै चिनियाँ लेखक र स्वतन्त्र भाषण अधिवक्ता याङ माओडोङलाई थुनामा राख्नेलगायत यस क्षेत्रमा धेरै गिरफ्तारीका घटनाहरु बढेका छन् ।

माओडोङलाई चिनियाँ सरकारद्वारा विद्रोहमा उक्साएको आरोप लगाइएको थियो । 

भारतमा कश्मीरवालासँग सम्बद्ध प्रशिक्षार्थी पत्रकार सज्जाद गुललाई जनवरी ५ मा गिरफ्तार गरिएको थियो । सरकार विरोधी भावनालाई बढावा दिनको लागि सोसल मिडियामार्फत गलत जानकारी फैलाएको आरोप उनीमाथि लागेको थियो ।

अफगानिस्तानमा तालिबान अधिकारीहरूले जनवरी ६ मा काबुलको जिल्ला चारको शरी नाउ क्षेत्रको एक रेस्टुरेन्टमा फैसल मोदारिस, इद्रिस रहिमी र मिलाद अजीजी नामक तीन पत्रकारहरूलाई हिरासतमा लिएका थिए। 

सलाम अफगानिस्तान मिडिया अर्गनाइजेसनका उपनिर्देशक अफगान पत्रकार नूर मोहम्मद हासेमीलाई जनवरी १० मा तीन अज्ञात व्यक्तिहरूले आक्रमण गरेका थिए।

जनवरी २६ मा, तालिबानले अफगानिस्तानका सञ्चारकर्मीहरूलाई आईएफजेसँग सम्बन्धित अफगान राष्ट्रिय पत्रकार संघ (एएनयुजे) को मुख्यालयमा आयोजना हुन लागेको सम्मेलनमा उपस्थित हुन रोक लगाएको थियो ।

एसिया प्रशान्तमा पत्रकार सुरक्षा सूचकहरू हेर्नेहो भने जनवरी १, २०२२ देखि जनवरी ३१, २०२२ सम्ममा ४ सञ्चार संस्थामाथि आक्रमण भएको छ भने, २ पत्रकारको हत्या भएको छ । अन्य एक आक्रमण भएको छ भने ९ वटा धम्की मिलेका छन् । यस्तै तीन धम्की मिडिया संस्थाहरुविरुद्ध रहेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ