arrow

बुद्धिचाल संघको चुनावी साधारणसभा शुक्रबार, सर्वसम्मत नेतृत्व छान्ने तयारी, गौतम अगाडि

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार २३ बिहिबार
chess-association.jpg

काठमाडौं । नेपाल बुद्धिचाल संघको चुनावी साधारण सभा असार २४ गते शुक्रबारदेखि हुँदैछ । यसअघि दुईपटकसम्म मिति तोकेर पनि चुनाव गर्न नसकेको बुद्धिचालले यसपटक भने राजधानीको येल्लो प्यागोडामा दुई दिने चुनावी सभाबाट नेतृत्व छान्न लागेको हो । 

हरेक चार वर्षमा हुनुपर्ने संघको निर्वाचन सात वर्षपछि हुँदै गर्दा सर्वसम्मतको प्रयास तीव्र पारिएको छ । बुद्धिचालमा राजनीति हावी छ । एमालेको पकडमा संघ छ । एकलाल श्रेष्ठ (एमालेका मकवानपुर जिल्ला अध्यक्ष) को नेतृत्वमा रहेको संघले यसअघि मिति घोषणा गरेको भए पनि कोरोनाका कारण रोकियो । 

दोस्रोपल्टको चुनाव पार्टी विभाजनपछि भाँडभैलो भएर रोकियो । संघका महासचिव हिराकाजी महर्जनको नेतृत्वमा एउटा टिम नेकपा एकीकृत समाजवादीमा गएपछि संघ पनि टुक्रेजस्तै भयो । 

अहिले राखेप पनि चुनावका लागि लचिलो भएपछि शुक्रबारदेखि चुनावी साधारणसभा हुन लागेको हो । एमाले र एकीकृत समाजवादीबीच हानथाप बढी नै भएपछि अहिले आएर वरिष्ठ उपाध्यक्ष गौतमको नेतृत्वमा सर्वसम्मत गर्ने प्रयास भइरहेको छ । अध्यक्ष श्रेष्ठले राजनीतिमै आफू लाग्ने भन्दै नदोहोरिने निर्णय गरेपछि गौतम एक्ला दावेदारजस्ता देखिएका छन् । 

संघको ३१ सदस्यीय कार्यसमितिमध्ये २१ जना प्रत्यक्ष निर्वाचित हुनेछन् । अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, पाँच उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्ष, सहकोषाध्यक्ष र कम्तीमा दुई महिलासहित १० जना सदस्य निर्वाचनमार्फत आउनेछन् । सदस्यमा सात प्रदेशबाट एक–एक जना र तीनजना खुला प्रतिस्पर्धाबाट निर्वाचित हुनेछन् । कार्यसमिति चयनका लागि ११४ जना मतदान अधिकारप्राप्त प्रतिनिधि हुनेछन् । 

गौतम अध्यक्ष पदका एक्ला दावेदार
गौतम अहिले अध्यक्ष पदका एक्ला दावेदार छन् । उनी नेपाली कांग्रेस समर्थित हुन् । अध्यक्षमा खासै प्रतिस्पर्धा देखिएको छैन । जब अध्यक्षले नै छाड्ने भएपछि वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्षका दावेदार देखिएका छन् । र अध्यक्षमा प्रतिस्पर्धा गर्नका लागि कोही खुलेका छैनन् । 

तर अन्य पदमा भने प्रतिस्पर्धा कडा हुने देखिएको छ । विशेष गरी वरिष्ठ उपाध्यक्षमा राजेन्द्रप्रसाद रिजाल, शुवोधराज शेर्पाली र हिराकाजी महर्जनको दावेदारी देखिएको छ ।  

महासचिवमा धरमबहादुर लामा र नारायणदास गमाल (हालका उपाध्यक्ष) को दाबी देखिएको छ । सचिवमा भुपेन्द्र निरौला (पूर्व च्याम्पियन), उमेश केसी र धनबहादुर बोगटी सम्भावति दावेदार हुन् । 

कोषाध्यक्षमा वर्तमान कोषाध्यक्ष ज्ञानेन्द्र महर्जन दोहोरिन खोजिरहेका छन् । पूर्व च्याम्पियन मोनालिसा खम्बो पनि कोषाध्यक्षकी दावेदार हुन् । 

अध्यक्षका एक्ला दावेदार गौतम सहमतिको प्रयास भइरहेको बताउँछन् । उनले भने, ‘सहमतिको प्रयास भइरहेको छ । सकभर सर्वसहमतिमै अगाडि बढ्छौं ।’

उनले आफू सर्वसहमत भए अन्य पदमा पनि सहमतिका लागि प्रयास गर्ने बताएका छन् । 

दुई दशकदेखि संघमा रहेका गौतम सचिव, उपाध्यक्ष हुँदै पछिल्लो कार्यकाल वरिष्ठ उपाध्यक्षमा रहेका छन् । उनी आफू अध्यक्षको स्वभाविक दावेदार हुन् र उनले संघलाई सही दिशामा लैजान सक्ने दाबीसमेत गरिएको छ । 

अहिलेसम्म संघको आफ्नै कार्यालय नहुँदा त्यो नै अबको नेतृत्वकर्ताको प्रमुख चुनौती हुनेछ । गौतमले आफूले नेतृत्व सम्हालेपछि संघको व्यवस्थापनलाई प्रमुख प्राथमिकतामा राख्ने बताएका छन् । 

उनले चुनाव सकिएपछि भावी योजनाहरु सार्वजनिक गरेर सोही अनुसार नै अगाडि बढ्नेसमेत बताएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ