arrow

ओली र प्रचण्डलाई जोड्न सुपर ग्लू बोकेर आउँदै चिनियाँ नेता लिउ

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार २४ शुक्रबार
liu-jianchao-cpc-leader-china.jpg

काठमाडौं । नेपालका दुई ठूला कम्युनिष्ट पार्टीका अध्यक्षद्वय केपी शर्मा र पुष्पकमल दाहाल प्रचण्डसँग भिडियो संवाद गरेका चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियाञ्चाओ २६ असारमा नेपाल  भ्रमणमा आउने भएका छन् । 

लिउ आकस्मिक रूपमा नेपाल भ्रमणमा आउन लागेका हुन् । सीपीसीको विदेश विभाग प्रमुख सम्हालेपछि लिउको पहिलो विदेश भ्रमण नेपाल रहेको बताइएको छ । कूटनीतिक स्रोतका अनुसार चार दिने नेपाल भ्रमणमा आउन लागेका लिउको मुख्य उद्देश्य वाम गठबन्धनका लागि बल पुर्याउनु रहेको छ ।

‘निर्वाचन अघि नै वाम गठबन्धन गर्न दबाब दिने उद्धेश्यले उनी नेपाल आउन लागेका हुन्’, स्रोतले भन्यो । स्थानीय तहको निर्वाचनअघि नै दुई पार्टीबीच गठबन्धन गराउने कोसिस भएको थियो तर एमालेबाट विभाजन भएको नेकपा एसका कारण गठबन्धन हुन सकेको थिएन । 

अहिले भने सकेसम्म एमालेबाट विभाजन भएको एस पार्टीलाई पनि मिलाउने गरी चिनिया पक्षले तयारी गरेको छ । आउने चुनावमा संसदमा वामपन्थीहरूको उपस्थिति बलियो होस् भन्ने चिनियाँ चाहना रहेको छ र सकेसम्म एमाले र माओवादी केन्द्र आउने चुनावमा गठबन्धन गरेर जाउन् भन्ने पनि रहेको छ । 

खासगरी चिनिया नेताहरुले एमाले र माओवादी केन्द्रका नेताहरुलाई चीनमै बोलाएर वामगठबन्धनको विषयमा कुराकानी गरेका थिए । केपी ओली सकारात्मक बने केही समयभित्रै वामगठबन्धन हुने चिनियाँहरुको बुझाइ रहेको छ । 

नेपालमा अमेरिकी प्रभाव बढेको चर्चा भइरहेका बेला चिनियाँ कम्युनिस्ट पार्टीका वरिष्ठ नेताको आकस्मिक भ्रमणलाई अर्थपूर्ण रूपमा हेरिएको छ । स्रोतका  अनुसार भ्रमणका क्रममा लिउले उच्च राजनीतिक तहमा भेटवार्ता गर्नेछन् । 

नेता लिउले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली लगायतसँग भेटवार्ता गर्ने तयारी रहेको छ ।  

अमेरिकी लविङमा नेपाल पुगेको भन्दै आलोचना हुन थालेपछि परराष्ट्रमन्त्री नारायण खड्काले चीन भ्रमणको प्रयास गरेका थिए । तर, चीनले खड्काको भ्रमणप्रति अनिच्छा देखाइरहेको छ । त्यही क्रममा लिउको भ्रमण हुन लागेको हो । ५८ वर्षीय नेता लिउ चीनका पूर्व वरिष्ठ कुटनीतिज्ञ हुन् । गत जुन महिनामा उनी चिनियाँ कम्युनिस्ट पार्टीको विदेश विभाग प्रमुख नियुक्त भएका थिए । 

तत्कालीन विदेश विभाग प्रमुख सोङ् थाओको स्थानमा लिउ नियुक्त भएका हुन् । त्यसैले अब हुन लागेको उनको नेपाल भ्रमण परिचयात्मक भनिए पनि सरकारी अधिकारीहरुका अनुसार चिनियाँ वरिष्ठ नेताको भ्रमणमा पार्टीगत, द्विपक्षीय र भूराजनीतिक गरी तीन आयाम छन् । 

नेपालका राजनीतिक दलसँग सीपीसीको सम्बन्ध विस्तार गर्नु उनको भ्रमणको एउटा एजेन्डा हो । त्यसैगरी बेल्ट एन्ड रोड अवधारणा (बीआरआई) फ्रेमवर्क भित्र रहेर चिनियाँ सहयोगमा रेल र सडक जस्ता विकास परियोजनामा अघि बढाउन नेपालको ढिलाइबारे यहाँको राजनीतिक नेतृत्वसँग छलफल गर्नु उनको अर्को एजेन्डा हो । 

साथै अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) नेपालको संसदबाट अनुमोदन भएपछि त्यसको बारेमा पनि चासो राख्न सक्ने कुटनीतिक क्षेत्रका विज्ञहरुले जनाएका छन्  ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ