arrow

लिउले प्रचण्डसँग राखे वामगठबन्धनको प्रस्ताव, के होला केपी ओलीसँग कुरा ?

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार २८ मंगलबार
prachanda-leu-chianchao-china.jpg

काठमाडौं । चीनले नेपालको आन्तरिक मामिलामा आफू पनि हस्तक्षेप नगर्ने र अरु देशले पनि नगरुन् भन्ने सन्देश दिएको भनिए पनि प्रचण्ड निवासमा वामगठबन्धनको प्रसङ्ग भने छुटेन । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) विदेश विभाग प्रमुख लिउ जियान्चाओले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग खुमलटारमा भेट गर्दै गर्दा नेपालको कम्युनिष्ट पार्टीहरु एक आपसमा किन मिल्न नसकेका र किन भिन्न शक्तिसँग सहकार्य गरिरहेका छन् भन्ने प्रसँगबाट वामगठबन्धनको कुरा उठेको थियो । 

आफ्ना पार्टीका तर्फबाट नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा, वर्षमान पुन, देव गुरुङ र पम्फा भुषालसहित भेटघाटमा बसेका प्रचण्डलाई सहभागी थिए । उनीहरुसँग सीपीसीका विदेश विभाग प्रमुख लिउले चीन नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गर्दैन, अरु शक्तिले पनि हस्तक्षेप नगरुन् भन्ने चाहेको बताउँदै नेपालका कम्युनिष्टहरु मिलेका आन्तरिक शक्ति बलियो हुने कुरा राखेका थिए । 

लिउसहितको ७ सदस्यीय प्रतिनिधिमण्डलले प्रचण्डलाई खुमलटार निवासमै पुगेर सोमबार अपरान्ह ४ बजेदेखि ६ बजेसम्म २ घण्टा लामो  भेट गरेको थियो । त्यसको जवाफमा  माओवादी अध्यक्ष प्रचण्डले आफूहरुले पनि वामपन्थी शक्ति बलियो बनाउने प्रयास गरिरहेको र यसमा चिनियाँ पक्षको पनि सहयोगको अपेक्षा रहेको बताएका थिए । 

लिउले एमाले, कांग्रेससँग पार्टी टु पार्टी सम्बन्ध राम्रो बनाउने र दुई देशको सम्बन्ध राम्रो बनाउन यो भ्रमण गरेको बताए पनि खुमलटारमा भने वामपन्थी शक्तिहरु मिलेर ठूलो शक्तिको रुपमा उदाउँदा छिमेकी मुलुकलाई पनि सहज हुने अपेक्षा गरेको स्रोतले जनाएको छ । 

प्रचण्डले चिनियाँ कम्युनिष्ट पार्टीको आगामी महाधिवेशन सफलताको शुभकामना दिएका थिए । यस्तै नेपाल एक चीन नीतिको पक्षमा रहेको, नेपाल र चीनबीच सम्बन्ध थप सुदृढ गर्न चाहेको प्रचण्डले भेटमा बताएका थिए । चीनले नेपाललाई भूकम्प र कोभिड महामारी नियन्त्रणमा गरेको सहयोगका लागि प्रचण्डले धन्यवाद दिएका थिए । 

वामपन्थी शक्तिहरु मिलेर जाने कुरामा लिउ र प्रचण्डबीच आधाघण्टा छुट्टै वार्ता भएको थियो । दुई नेताहरुबीच नेपालको वाम आन्दोलन र तत्कालीन नेकपा विभाजन हुनुको कारणबारे छलफल भएको स्रोतको दाबी छ । 

साथै अहिले छरिएर रहेका कम्युनिष्टहरुलाई कसको नेतृत्वमा गोलबन्द गराउने हो भन्ने बारेमा चिनियाँ पक्ष स्पष्ट नभएकाले प्रचण्डसँग यसबारेमा माओवादी पार्टीको धारणा बुझ्न खोजेको खुमलटार स्रोतले जनाएको छ ।

खुमलटार भेटपछि चिनियाँ नेताहरु र माओवादीका नेताहरुबीच साइडलाइन वार्तासमेत भएको थियो । सो वार्तामा पनि वामपन्थी पार्टीहरुलाई एकताबद्ध बनाउने विषयमा छलफल केन्द्रीत भएको थियो । चिनियाँहरुको चासोमा माओवादी नेताहरुले चाँडै नै वामपन्थीहरु एकताबद्ध हुने र नेपालमा वामपन्थीहरुको सरकार बन्ने गरी तयारी थाल्ने आश्वासन दिएका थिए । 

‘चिनियाँहरुको एउटै चासो रह्यो नेपालमा वामपन्थी शक्तिहरु सधै किन विभाजित हुन्छन् ?’, खुमलटार स्रोतले भन्यो‘ अबको केही समयपछि वामपन्थीहरु एकताबद्ध भएर अघि बढ्न त्यसका लागि थोरै समय कुर्नुपर्छ भन्ने जवाफ दिइएको छ ।’ 

प्रचण्डले पनि चीन नजिक रहेका माओवादी नेताहरुलाई साथमा राखेर सीपीसीका विदेश विभाग प्रमुखसँग भेटघाट गरेका थिए ।

वामगठबन्धनका विषयमा प्रचण्डसँग मात्र कुरा गरेर पक्कै हुने छैन आज लिउले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पनि भेट गर्दैछन् । त्यसपछि मात्र एउटा खाका बन्न सक्नेछ । 

२०७४ सालमा एमाले र माओवादीबीचको चुनावी गठबनधनदेखि लिएर २०७५ सालमा भएको पार्टीएकता सम्ममा सीपीसीले भूमिका खेलेको थियो । अहिले पनि सीपीसीको भूमिका अहम् हुन सक्ने विश्लेषण गरिएको छ । 

पार्टी एकता सम्भव नभए चुनावी एकता गरेर भए पनि आगामी सरकार वामगठबन्धनले बनाउनु पर्नेमा चिनियाँ रहेको बुझिन्छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ