arrow

राप्रपाभित्र कमल थापा र रवीन्द्र मिश्र अटाउँदै बृहत एकताको कसरत

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार २८ मंगलबार
rpp-raprapa.jpg

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लाई सशक्त पार्टी बनाउने योजना बनिरहेको पाइएको छ । स्थानीय तहको निर्वाचनको परिणामपछि अब शीर्ष दलहरुसँग चुनावी एकताका लागिसमेत राप्रपा सशक्त हुनु जरुरी रहेको भन्दै विभिन्न मन मिल्ने दलहरुलाई अटाउने योजना बनाइरहेको पाइएको हो । 

राप्रपाका पुराना नेताहरु यसका लागि प्रयासरत रहेका छन् । एक नेता भन्छन्, ‘राष्ट्रिय दलको रुपमा आफ्नो पनि भूमिका खोज्नका लागि पनि हामी उद्धेश्य मिल्ने पार्टी र समूहहरुसँग सहकार्यका लागि लागिपरेका छौं ।’ 

उनका अनुसार आगामी प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन अगाडि नै एकता गर्ने गरी तयारी भइरहेको छ । उनी भन्छन्, ‘अब चुनाव अगाडि नै कमल थापादेखि रविन्द्र मिश्रसम्म अटाउने एउटा फराकिलो दायरा बनाएर पार्टी एकता गरेर पहिले आफू मजबुद हुन खोजिरहेका छौं ।’

एकतापछिमात्रै ठूला पार्टीहरुसँग सहकार्यको निमित्त आफूहरुको योग्यता पुग्ने उनको दाबी छ । स्रोतका अनुसार यस्तो किसिमको रणनीतिलाई राप्रपाका धेरैजसो नेताहरुले रुचाएका छन् । स्रोत भन्छ, ‘यसका लागि अधिकांश नेताहरुको समर्थन रहेको छ । दिलनाथ गिरी, श्याम तिम्सिना, राजाराम श्रेष्ठ, दमन बस्नेत लगायतका धेरै नेताहरु यो अभ्यासमा लागिरहेका छन् ।’

हालैमात्र राप्रपामा प्रवेश गरेका युवा नेता ज्ञानेन्द्र शाहीजस्तै थुप्रै युवा नेताहरुसमेत यो अभियानमा जोडिन सक्ने दाबी गरिएको छ । 

किन यस्तो गर्नुपर्यो त ? 
बलियोको बलियोसँगमात्र न सहकार्य हुन्छ । कमजोरसँग कसको सहकार्य ? दुई मिल्दा एकले जित्ने र अर्कोको स्वार्थ मिल्ने भयो भने न सहकार्य हुने हो । अहिलेको अवस्थामा मात्रै ठूला पार्टीले राप्रपासँग सहकार्य गरेर जाने अवस्था देखिँदैन । 

सबैकुरा बिर्सेर पार्टीलाई मजबुद बनाउनु पर्नेमा नयाँ योजनामा जोडिएका नेताहरुको जोड छ । एक पुराना नेता भन्छन्, ‘कमल थापाले पार्टीको अध्यक्षमा हार्नासाथ उनलाई निषेध गरेर जाने राजनीति ठीक भएन । रविन्द्र मिश्रहरुसमेत पनि आफ्नो एजेन्डामा विद्रोह गरेर बसेका छन् । रविन्द्र मिश्र पनि ठूलो र विकल्पको पार्टी बन्छ भने हामी पनि सहभागी हुन सक्छौं भनेर भनेका छन् । कमल थापालाई पनि तपाईका विगतका कमजोरी पनि सुधार्नुस् र तपाईले बनाएको पार्टीलाई थप सशक्त बनाऔं । पार्टीहरुसँग मिलेर अगाडि बढौं भनेर बताएका छौं ।’
 
पार्टीको महाधिवेशनमा एउटा नयाँ अभ्यास गरेको दाबीसहित ती नेताले भने, ‘नयाँ पुस्तालाई नेतृत्वमा लैजाने र एजेन्डा स्थापित गर्नका लागि नयाँ युवाहरुको सहभागीता प्रचुर मात्रामा गराउने सन्दर्भलाई लिएर त्यो अभ्यास गर्यौं । त्यसमा सफल पनि भइयो । कमल थापा जस्तो नेतृत्वलाई पराजित गर्न त्यति सहज थिएन ।’

स्पष्ट पार्दै उनले अगाडि भने, ‘कमल थापा भनेको शीर्ष दश नेताहरुमा पर्ने मान्छे हो । राजेन्द्र लिङ्देनलाई जोडेर कमल थापा सरह हेर्न मिल्दैन । तर पनि हामीले नयाँ पुस्ताले कहिले अवसर पाउने त भनेर लाग्यौं । एउटा प्रणालीमा गयौं भने त सबैले पालो पाउँछन् । कसैले पनि दुई कार्यकालभन्दा बढी खान नपाउने भनेर विधान पनि बनायौं ।’

उनले विगत सात आठ महिनादेखिको अवधिमा मेचीकालीको अभियान हेर्दा राप्रपाको माहोल राम्रो देखिएको भए पनि जनता राप्रपासँग जोडिएका छन् कि छैनन् भन्ने महत्वपूर्ण रहेको बताए । 

उनका अनुसार अभियानमा जनताले साथ दिएको भए पनि उनीहरुको साँच्चैको साथको विश्वास निर्वाचनले गर्ने भएकाले त्यो माहोल अझै नबनेको स्पष्टै हुन्छ । 

उनी भन्छन्, ‘यो पार्टीसँग जनता जोडिएको छ कि छैन भनेर हेर्ने निर्वाचन हो । स्थानीय तहको निर्वाचनमा हामी हौसिने कुरा भएन । जनता हामीलाई हेर्न आए तर पार्टीमा प्रवेश गर्ने स्थिति त देखिएन । यसैले पनि मन र उद्धेश्य मिल्नेबीच एकता गरेर अगाडि बढ्नुको विकल्प छैन ।’

यदि यस्तो गर्न नसके राप्रपा पुरानै स्थितिमा पुग्ने सम्भावनासमेत बढेको छ । यसको कारण बारे उनी भन्छन्, ‘नयाँ नेतृत्वले हौसिएर पुराना नेताहरुलाई पछाडि धकेलेर नयाँलाई भित्र्याउने क्रम बढेको छ । यदि यसरी नै अगाडि बढ्ने हो र राप्रपाका सच्चा नेता, कार्यकर्ताहरु छुटेर नयाँ जोगीले खरानी घसेको जसरी उनीहरुलाई थप अगाडि बढाइन खोज्ने हो भने राप्रपामा पुरानै नियत दोहोरिने आशंका बढेको छ ।’

राप्रपाको विगत टुट्ने र फुट्नेमात्र हो । 

के हुन्छ राजसंस्थाको एजेन्डा ?
फेरि राप्रपामा पूर्वराजा ज्ञानेन्द्र शाह जोडिँदै आएका छन् । यही अवस्थाले कहाँ पुगिएला त ? 

नयाँ अभियानमा लागेका एक नेता भन्छन्, ‘अबको लक्ष्य भनेको दलभन्दा माथि तीन करोड नेपाली जनताको अभिभावक राजसंस्था हुने भन्ने हो । हाम्रो कल्पना त्यही हो । राजा माथि भन्ने हैन ।’

उनले भने, ‘कमल थापाले जबरजस्ती राजालाई राप्रपामा मुछ्ने काम गरे । राप्रपामा राजालाई तान्नु भनेको नेपालमा राजसंस्थाको अन्त्य भएको भन्ने हो । हामी त राजसंस्था चाहिन्छ अभिभावकका रुपमा मात्रै भन्ने हो । राजसंस्थाको भूमिका कांग्रेस, एमालेको चुनावमा कसलाई जिताउने र हराउने भन्ने भूमिका हुँदैन । राजसंस्था दलहरुको भभिभावक मात्रै हो ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ