arrow

अति गर्नु, अतिचार नगर्नु 

logo
डा बद्रीप्रकाश ओझा,
प्रकाशित २०७९ असार ३२ शनिबार
badri-prakash-ojha-article3.jpg

दक्षिण एसियाका पुराना देशमै पर्छ श्रीलंका । यसको इतिहास हेर्दा बुद्धकालीन सम्राट अशोकका छोरा अर्हत महिन्दाले शासन गरेपछि श्रीलंकाको इतिहास सुरु भएको मानिन्छ । यो तेस्रो शताब्दीको कुरो हो । अझै पनि महिन्दा शब्द श्रीलंकामा विशेष मानिन्छ। 

त्यसपछिको इतिहासमा श्रीलंकामा करिब दुई सय राजाले शासन गरेको पाइन्छ । पछि गएर भारतमा ब्रिटिश आउनुअघि दक्षिण एसियाका कतिपय देशमा पोर्चुगलको उपनिवेश बन्यो । जस्तो भारतको गोवा, श्रीलंका, भारतकै तटीय क्षेत्र निकोबार र अन्डामन आदि । 

पछि पोर्तुगिजहरुले हारेपछि डचहरुको उपनिवेश हुँदै १८१५ मा बेलायती उपनिवेशमा श्रीलंका समेटियो । भारत स्वतन्त्र भए पनि सन् १९७२ सम्म श्रीलंका परोक्ष रुपमा बेलायतकै उपनिवेशमा थियो । 

सन् १९७२ मा स्वतन्त्र हुनासाथ श्रीलंकामा गणतन्त्र लागू गरियो । खासगरी सन् १९७८ मा जारी संविधानले कार्यकारी राष्ट्रपतिको व्यवस्था गर्यो । लगत्तै श्रीलंका द्वन्द्वमा फस्यो । यसको एउटै कारण थियो, तमिललाई दबाउनु । 

हामीले यसबाट पाठ सिक्नुपर्छ । कुनैबेला उसका पिता पुर्खाले शासन गरे, शोषण गरे, कमाए भनेर नाति नातिना माथि अन्याय गर्दा तमिल विद्रोह शुरु भएको हो । नेपालमा पनि फलानो चिलानोका पिता पुर्खाले खाए । अब हाम्रो पालो भन्ने आवाज सुनिन्छ । यसले देशलाई उँभो लगाउँदैन । 

श्रीलंकाको संविधानले बहुमत पक्षीय सिंहाला जातिको वर्चस्वको विषयलाई मात्र केन्द्रीत गर्यो । ब्रिटिश कालमा हिन्दूहरु सत्तानजिक रहेका, पढेलेखेका कारण उनीहरुको उपनिवेशका नायकहरुसँग पहुँच बढेको, खुब मस्ती लुटेको भन्दै सिंहालाहरुले तमिललाई उत्तरी भारतीय सीमावर्ती क्षेत्रमा खुम्च्याए । फलस्वरुपः पृथकतावादी आन्दोलन शुरु भयो । 

म बाहुन परिवारमा जन्मेकाले हिन्दूको पक्षमा वकालत गरेको नबुझियोस् । तर श्रीलंका र नेपालको अवस्था धेरै मिल्दो छ । श्रीलंकामा सिंहला जाति जो बौद्धमार्गी छन् उनीहरु ७० प्रतिशतभन्दा बढी छन् । 

हिन्दूको जनसंख्या मात्र २१ प्रतिशत छ । बाँकी पाँच सात प्रतिशतजति मुस्लिम र इसाई छन् । उनीहरुले बहुमतका आधारमा अल्पमतमाथि शासन गर्दा अथवा उपनिवेश कालमा तमिलहरुले शासन व्यवस्थाको वरिपरि बसेर तर मारेको आरोपमा विभिन्न जातजाति मिलेर बनेको सिंहला समाजले तमिलमाथि अन्याय गरेकाले द्वन्द्व शुरु भएको हो । 

सन् १९८३ मा पहिलो पटक जाफ्नामा भएको एम्बुसमा १३ सैनिक मारिएपछि उत्तरी श्रीलंकामा द्वन्द्व बढ्यो । त्यतिमात्र नभई भेलुपिलाई प्रभाकरणको संगठन लिबरेस टाइगर्स अफ तमिल इलम विश्वमै सबैभन्दा खतरनाक आतकंवादीका रुपमा पनि परिचित भयो । 

दक्षिण एसियामा आतकंवादी भनिए पनि पश्चिममा यसलाई पृथकतावादी आन्दोलन मानिन्छ । हुन पनि पृथकतावादी आन्दोलन नै थियो । 
एउटा गजबको कुरा के छ भने एलटीटीईलाई हतियार दिने र शान्ति वार्ताका लागि पहल गर्ने दुवै नर्वेलीहरु थिए । श्रीलंकामा नर्वे, स्वीडेन, डेनमार्कहरुले नै हतियार सप्लाइ गरेका थिए ।

पछि महिन्दा राजापक्षे सत्तामा आएपछि चीनसँग साँठगाँठ बढाए । चीनले तमिल आन्दोलन दबाउन कुनै कसर बाँकी राखेन । सन् २००९ मा प्रभाकरण मारिएपछि तमिल विद्रोह औपचारिक रुपमा दबियो । 

खास भन्ने हो भने हाल श्रीलंकामा संकट आउनुमा चीनको हात छ । यस्तो घटना तिब्बतमा पनि भएको थियो । भोट नेपाल युद्धमा तिब्बतले नेपाललाई हराउन चिनियाँ सेना बोलायो । सोही निहुँमा तिब्बत प्रवेश गरेको चिनियाँ सेनाले अन्त्यमा तिब्बत खायो । 

श्रीलंकाको अवस्था पनि करिबकरिब तिब्बतकै जस्तो छ । फरक यतिमात्र छ कि श्रीलंकाको भौगोलिक स्वाधीनता गुमेको छैन । तर आर्थिक रुपमा ऊ चीनको शरणमा परिसकेको छ । आसामी उठाउन आएको साहुअघि गरिबका जवान सन्तानको हविगत जस्तो हुन्छ, त्यस्तै छ श्रीलंकाको अवस्था चीनसामु । 

द्वन्द्व बढ्दै जाँदा हालका राजापक्षे दाजुभाइ र उनका कूलकुटुम्ब जति सबैले मिलेसम्म युरोपेली मुलुकहरु, अमेरिका र क्यानाडाको ग्रिनकार्ड लिएका थिए । हिजोमात्र सत्ता छोडेर भाग्ने राष्ट्रपति दाजुको कार्यकालमा विदेशमन्त्री थिए । त्यति नै बेला उनको हातमा क्यानाडाको ग्रिनकार्ड थियो । 

दाजुभाइले पालैपालो देशको शासन गरे । चुसे । सकेसम्म खल्ती भरे । हाम्रा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले दमकमा भ्युटावर बनाउन बजेट हालेजस्तै र भरतपुर महानगरमा प्रचण्ड पुत्री रेणु यादवले पैसा खन्याएजस्तै गरी राजापक्षेले ऋण लिएर गाउँमा बन्दगाह बनाए । 

ताइँ न तुइको त्यो बन्दरगाहले देशलाई आर्थिक संकटमा धकेल्यो । फलस्वरुपः चीनलाई बन्दरगाह नै सय वर्षका लागि सुम्पिनुपर्यो । 

यही बीचमा हावाकै भरमा बिना पूर्व तयारी अर्गानिक खेतीको अभियानलाई श्रीलंकाले समात्यो । खाद्य संकटमा फस्यो । सत्याच्युत भएका राजापक्षे र उनका कुलकुटुम्बहरु विदेश  भागिसकेका छन् । तर जनता यसरी नै जागरुक हुने हो भने उनीहरुलाई विदेशबाट थुतेर ल्याउन सक्छन् । उनीहरुले कुम्ल्याएको पैसा विदेशी बैंकबाट थुत्न सक्छन् । 

अब यतैका कुरा गरौं – 
हाम्रा नेतागण हो सिक । श्रीलंकाबाट सिक । सत्ताबाहिर बस्दा कस्तो पीडा हुन्छ भन्ने कांग्रेसले बुझ्यो होला । एमाले अहिले बुझ्दै होला । राजाले पनि बुझे होलान् । हिजो जुत्ता पुछिदिनहरुले अहिले घोक्र्याएर भ्यानमा कोच्दा कत्तिको नराम्रो लाग्दो हो । त्यस्तै भएको छ हामी जनतालाई ।  

छोरी केन्द्रीय सदस्य बनाउँदा, ज्वाइँ राजदूत बनाउँदा, सासु राजदूत बनाउँदा, जेठीसासु अध्यक्ष बनाउँदा, भान्सेकेटो मन्त्री बनाउँदा, श्रीमतीको साथीको बुढो सल्लाहकार बनाउँदा, घरमा काम गर्ने मजदुरको ज्वाइँ मन्त्री बनाउँदा, चिया बाँडेको गुनमा आयुक्त बनाउँदा, छोराछोरी, बुढाबालाई मेडल दिँदा वा मन्त्री हुँदाको सरकारी गाडी पचाउँदा पनि हामी चुप छौं । 

अब आजकै दरमा महँगी बढ्ने हो भने नेपाली पनि सिंहदरबार छिर्लान् । नेताहरुका महलमा पुग्लान् । छोराछोरीले विदेशमा कमाएको नाममा खोलिएका व्यवसायमाथि जाइ लाग्लान् । सरकारी कोटामा विदेश पुगेर पीडितको नाममा शरणार्थी बनेकाहरुलाई थुत्लान् । विचार गर है । 

अनि गाउँको एक सुर्को बारी बेचेर काठमाडौंमा २,४ बिल्डिङ ठड्याउने कतिपय कर्मचारी पनि ठण्डा दिमागले सोच । जनता उठेपछि तिम्रो तिकडम चल्दैन। तिम्रो कानून फिका बन्छ । 

त्यसैले भनिन्छ नि, अति गर्नु, अतिचार नगर्नु, अब अतिचार अथवा अत्याचार बढ्यो । श्रीलंकाको बाटोमा नजाऔं नेपाली । सबैलाई चेतना भया ।
 



नयाँ