- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
महोत्तरी । मध्य असारयता छिटो पानी नपरेपछि मधेसको मध्यभेगको महोत्तरीमा धान रोपाइँ अलपत्र परेको छ । महोत्तरीबाहेकका मधेसका अन्य जिल्लामा पनि सिञ्चितबाहेकका आकाशे पानीको भरका खेतमा पानी नभएर नै रोपाइँ रोकिएको छ ।
असार मध्ययता पानी परेको छैन । त्यसअघि परेको पानीमा धान रोप्न भनेर हिल्याइएका खेत अहिले सुकेका छन् । ब्याड पनि लगातार पानी नपाउँदा पहेँलिन थालेको महोत्तरीका किसानले बताएका छन् । असार सिद्धिनै लाग्दासम्म धान रोपाइँले गति लिन नसकेपछि किसान यसपालि अन्नको सङ्कट पर्ने चिन्ताले पिरोलिएका छन् । मुख्यबाली धान नै रोप्न नसकिएपछि परिवार कसरी पालन गर्ने भन्ने चिन्ताले यहाँका किसानलाई पिरोलेको छ ।
“ल, भन्नोस् न, आज (शनिबार) असार त सकिने हो, पानी नभएर धान रोप्न पाइएन, के गरी गुजारा गर्ने होला ?” भङ्गाहा नगरपालिका-४ पलारका ८० वर्षीय किसान चौठी बाँतरले वीरक्तिँदै भने । मध्य असारअघिको वर्षाको पानीले एक झमट रोपाइँमा लागेका किसान त्यसयता खेतमा पानी सुकेपछि चिन्तामा परेका हुन् । असार सकिनैलाग्दा धान रोपाइँ जिल्लामा एकतिहाई नाघेको छैन ।
“उता खेत सुक्दो छ, यता घरमा ज्वरो, रुघाखोकीले परिवारका मान्छे बिरामी भएर लड्दाछन्”, भङ्गाहा नगरपालिका-५ कर्पुरगञ्जका किसान रामजुलुम सर्दार भन्छन्, “यो बढ्दो तापले सबै भताभुङ्ग पार्याे, न समयमा खेती सक्न पाइयो, न सञ्चोसँग बस्न ।” जिल्लामा अहिलेसम्म ३३ प्रतिशत मात्र रोपाइँ सकिएको कृषि ज्ञान केन्द्र महोत्तरी, जलेश्वरले नै जनाएको छ । रोपोको पनि सुकेकोे छ । रोपाइँ गर्ने भनेर हिल्याइएको खेत चर्को घामले सुकेर गिखरिक्क परेको छ ।
रोपेको खेतमा धाँजा फाट्दै छ । जिल्लामा कूल ७० हजार खेतीयोग्य जग्गामध्ये लगभग ५० हजार हेक्टर धानखेतीका लागि योग्य मानिन्छ । जिल्लाका १० प्रतिशत जग्गामा स्थायी सिँचाइको प्रबन्ध छ । बिहानैदेखि चर्कने घामको प्रचण्ड राप र सँगसँगैको तातो हावाले कृषि मजदुर काममा निस्कन छाडेका छन् ।