arrow

नेपाली राजनीतिमा युवाको भूमिका

logo
भावना शाही, 
प्रकाशित २०७९ साउन १ आइतबार
bhawana-shahi-article222.jpg

कुनै पनि देशको युवा शक्ति राजनीतिक, आर्थिक र सामाजिक परिवर्तनको संवाहक हो । युवा जनशक्तिको संख्यात्मक तथा गुणात्मक विकासका माध्यमबाट अहिलेका विकसित तथा विकासशील राष्ट्रले विकास निर्माणमा प्रगति हासिल गरेको देखिन्छ । हरेक देशको विकास र प्रगतिमा युवाको महत्वपूर्ण योगदान नै प्रमुख हुने गरेको छ ।

यसबाट नेपाली युवा जनसांख्यीक लाभांशबाट फाइदा लिइ समृद्धि र विकासको सुनौलो युगमा प्रवेश गर्न सक्ने अवसरको अवस्था रहे पनि राजनीतिक संक्रमणका कारण देशको आर्थिक र सामाजिक क्षेत्रमा अपेक्षाकृत परिवर्तन हुन सकेको छैन । युवाका अधिकार, चाहना र आवश्यकतालाई मूर्त रुप दिन एउटा दूरगामी दृष्टिका साथ ठोस र विशिष्ट रणनीति कार्ययोजना बनाउनु आजको आवश्यकता हो । 

यसले चार ‘अ’ र चार ‘स’ को निर्देशन सिद्धान्तलाई आत्मसात गर्दछ । यसले नयाँ पुस्ता र देश विकासका लागि आवश्यक राष्ट्रिय भावना, एकता, समता, न्याय, सौहार्दता, समावेसीजस्ता साझा मान्यताहरुलाई जोड दिन्छ । यसले युवामा व्यापक लगानी गरी आर्थिक समृद्धि हासिल गर्न उत्तरदायी युवा तयार पार्ने कुरालाई केन्द्रमा राख्दछ । द्रूत विकासशील राष्ट्रमा पुर्याउन शिक्षालाई गुणस्तरीय, व्यवसायीक र रोजगारीमुलक बनाउँदै सम्पूर्ण युवाको पहुँच सुनिश्चित गर्नुपर्दछ । यो युवा विकासको लागि गरिनु पर्ने आधारित कार्य हो ।

युवा उद्यमशीलता, सीप, रोजगारी सिर्जना अर्को प्रमुख कार्य हो । कृषि , पर्यटन उर्जा, पूर्वाधार र जडिबुटी नेपालका लगानी र रोजगारका महत्वपूर्ण क्षेत्र हुन् । त्यसैगरी सबल र स्वस्थ्य युवा निर्माणका लागि अर्को महत्वपूर्ण काम युवाका लागि स्वास्थ्य र सामाजिक सुरक्षाको सुनिश्चितता हो । युवालाई कस्तो प्रणालीबाट हामी स्वास्थ्य र सामाजिक सुरक्षा प्रदान गर्न सक्छौं भन्ने कुरा महत्वपूर्ण हुन आउँछ । युवा परिचालन, सहभागिता र नेतृत्व विकास बिना कुनै पनि देशले विकासको अपेक्षित लक्ष्य हासिल गर्न सक्दैन । युवा राष्ट्रिय अभियानहरु र देश निर्माण प्रक्रियामा उनीहरुको सक्रिय सहभागिता र स्वयंसेवकीय भूमिकामार्फत समाज र देशलाइ आर्थिक, सामाजिक र सांस्कृतिक रुपान्तरण गर्न सकिन्छ ।

युवा स्वावलम्बन, सशक्तीकरण, सहकार्य पहलकदमीमार्फत राष्ट्र निर्माणका निमित्त युवा नेतृत्वलाई विकास र विस्थापित होइन स्थापित गर्दै जानुपर्छ । साथै खेलकुद र मनोरञ्जनलाई पनि युवाको मानसिक र शारीरिक स्वास्थ्य र व्यक्तित्व विकाससँगसमेत जोड्नु राम्रो हुन्छ । खेलकुदको विकासले युवामा राष्ट्रिय भावना र ऐक्यवद्धता कायम गर्नसमेत मद्दत गर्दछ । 

यसका लागि मनोरञ्जन केन्द्र, व्यायाम केन्द्र, पार्कहरु, रंगशाला, कभर्डहल, खेल मैदानहरु कलाकेन्द्र स्थापना गर्न राज्यको लगानी आवश्यक हुन्छ । खेलकुद क्षेत्रलाई व्यापकता दिन विद्यालय स्तरदेखि नै योजनाबद्ध विकास गरी सबै युवाको पहुँच सुनिश्चित गरिनु आवश्यक छ । पार्टीबाट प्रतिनिधित्व गरी केन्द्रसम्म पहुँच राख्ने युवा नेताहरुले आफ्नो व्यक्तिगत स्वार्थका लागि मात्र नभएर समग्र युवा, नेपाली समाज र पार्टीको हितमा आफ्नो धारणामा स्पष्टता आउनुपर्ने देखिन्छ ।

प्रशिक्षित कार्यकर्ता नै पार्टीको विचार र संगठन विस्तारका संवाहक हुन् । हामीले प्रत्येक व्यक्तिहरुलाई उच्च जीवनको समानता दिन सक्नु आजको आवश्यकता हो । अहिलेको राजनीतिक परिवेश हेर्ने हो भने नेपाली राजनीतिमा पार्टी र राज्यको महत्वपूर्ण जिम्मेवारी ठाउँमा युवा नेता हुनुहुन्छ । तपाईंका कार्ययोजना र भिजनले नेपाली राजनीतिमा हलचल आउनुपर्ने होइन र ? 

प्रायः युवा नेताहरु खाली अरुको विरोधमा आलोचना खेपिरहेको पाइन्छ । आफ्नो भिजनलाई अगाडि कँुदाएर यो देश र पार्टीलाई दिशा निर्देश गर्ने बेला होइन र ? साँच्चिकै पार्टी भित्रकै प्रोटोकलको लडाइँमा अस्तव्यस्त हुनुले के पार्टीले मूर्तरुप लेला र ? वैैकल्पिक नेतृत्व जन्माउन अग्रज नेताहरूको विरोध गर्नु प्रमुख कुरा होइन ।  

हाम्रो अग्रज नेताहरूले गरेको संघर्ष र त्याग नेपाली जनताको आधारभूत अधिकार स्थापनाका लागि थियो । अनेक कष्ट र बलिदानले हाम्रो देश सिंगारिएको हो । त्यसको संरक्षण र सम्बद्र्धनका लागि नेतृत्वले वैचारिक रूपमा स्पष्ट भइ मूल्य र मान्यतामा समर्पित एवं जनताको विश्वास आर्जन गर्नैपर्छ । सभ्य समाज अधिकारमा मात्र आधारित हुँदैन । बरु एकले अर्को प्रतिको दायित्वले पनि सामाजिक सद्भाव र एकता बढाएको हुन्छ । 

नेपाली कांग्रेसले परिकल्पना गरेको लोकतान्त्रिक समाजवादको अभिष्ट सबैलाई सम्पन्न बनाउनु हो र आर्थिक स्वतन्त्रताको अधिकारसँगै इमानदारीपूर्वक राज्यलाई कर तिर्ने सामाजिक क्षेत्रमा लगानी गर्ने र उत्पादनका साधनहरुको लोकतान्त्रिकरण गर्ने दायित्वसमेत रहेको हुन्छ । नेपालको संविधान र नीतिहरुले पनि यी विषयहरुलाई व्यक्त गरेका छन् । संवैधानिक राज्य व्यवस्थाको सबलीकरणले यी नीतिहरुको कार्यन्वयन गर्न सकिन्छ । यसबाटमात्र नागरिक अधिकारहरु कार्यान्वयन हुन सक्छन् ।

देशभर स्वतन्त्र उम्मेदवार जित्नुको मुख्य कारण अनुभव र तथ्यबाट सत्यको खोजी गर्नुको सट्टा कांग्रेसलगायत विभिन्न पार्टीका जिम्मेवार युवा नेताहरु आफैं अलमलमा पर्नुले पनि यो परिणाम आएको तितो सत्य हो । राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा भएका राम्रा अभ्यास र अनुभवबाट सिक्नुपर्छ । वास्तविक तथ्यबाट सत्य पत्ता लगाइ समग्र युवाहरूलाई हित हुनेगरी विकासका योजना निर्माण गरिनु पर्छ । 

युवा विकासका लक्ष्य हासिल गर्न विज्ञानसम्मत विधि अनुशरण गर्नुपर्छ । यसका माध्यमबाट युवा विकासमा विशिष्टबाट आम र तलदेखि माथि जाने विधिलाई जोड दिन्छ । सोही अनुसार अगाडि बढी देशलाई विकास गर्नुको विकल्प छैन । (शाही नेपाली कांग्रेसकी महाधिवेशन प्रतिनिधि हुन्) 
 



नयाँ