- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
कास्की । गण्डकी प्रदेशको राजधानी सहर पोखरामा नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी शुरु गरिएको छ । कोरोना महामारी र पछिल्लोपटक स्थानीय तह निर्वाचनका कारण पटक-पटक मिति सर्दै आएको राष्ट्रिय खेलकुद आगामी असोज २८ देखि कात्तिक ३ गतेसम्म गण्डकी प्रदेश र मुख्यगरी पोखरामा आयोजना हुने निश्चित भएपछि तयारीका काम अघि बढाइएको छ ।
करिब चार दशकपछि गण्डकी प्रदेशले राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजनाको अवसर प्राप्त गरेको छ । विसं २०४० मा दोस्रो संस्करणको आयोजनापछि पोखरालाई नवौं संस्करण आयोजनाको मौका जुरेको हो । पछिल्लो समय राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले प्रतियोगिताको मिति घोषणा गरेर जिम्मेवारी बाँडफाँट गरेसँगै स्थानीस्तरमा पनि खेल पूर्वाधार निरीक्षण, खेलाडी प्रशिक्षणलगायतका काम अघि बढेको छ ।
प्रतियोगिता सञ्चालनका लागि राखेपले गठन गरेको खेलस्थल व्यवस्थापन उपसमितिले केही दिनयता कास्कीका विभिन्न खेलमैदान तथा पूर्वाधारको निरीक्षण गरेको छ । सो उपसमितिका संयोजक एवं रोखप सदस्य राजेशकुमार गुरुङको नेतृत्वमा सहारा क्लबको फुटबल मैदान, पोखरा-१९ स्थित गोष्टेघाट खेलमैदान, माछापुच्छ«े गाउँपालिकाको महेन्द्र मावि खेलमैदान, हेमजाको गौरीशङ्कर खेलमैदान र नेपाली सेनाका खेलमैदान निरीक्षण गरिएको छ ।
संयोजक गुरुङले प्रतियोगिता पोखरा रङ्गशालामै सञ्चालन हुने भए पनि सहभागी टोलीको प्रशिक्षणलाई ध्यान दिएर अभ्यास मैदानको खोजी गरिएको बताए । खेल पूर्वाधारका लागि पोखराका विभिन्न वडामा निर्माण सम्पन्न भएका कभर्डहल र खेलमैदानको भरपुर उपयोग गरिने छ । उनले भने, “देशको गौरवको रूपमा रहेको राष्ट्रिय खेलकुदलाई भव्यताका साथ सम्पन्न गर्नका लागि अहिलेदेखि नै तयारीका काम अघि बढाएका छौँ । खेलस्थलको अनुगमन शुरु गरेका छौँ, पूर्वाधार कस्तो अवस्थामा छन्, के-के काम गर्नुपर्ने हुन्छ भनेर अनुगमन गर्छौँ । प्रतियोगितामा सहभागी टोलीलाई अभ्यास र तयारीमा राम्रो सुविधा दिने योजना छ ।”
गण्डकी प्रदेश खेलकुद परिषद्ले पनि राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी शुरु गरेको छ । प्रतियोगिता आयोजनाको मुख्य जिम्मेवारी सङ्घ सरकार मातहतको राखेपको भए पनि आफ्नो प्रदेशमा हुने प्रतियोगितालाई सफल बनाउन प्रदेश खेलकुद परिषद्ले पनि काम अघि बढाएको हो । परिषद्को सोमबार सम्पन्न पूर्ण बैठकले नवौं राष्ट्रिय खेलकुद तथा प्रदेशमा सञ्चालन हुने प्रतियोगिता सम्पन्न गर्ने गरी कार्य विभाजन गरेको सदस्यसचिव तेजबहादुर गुरुङले बताए ।
उनका अनुसार खेलस्थल व्यवस्थापन, अनुशासन तथा प्राविधिक उपसमिति, बसोबास व्यवस्थापन, स्वास्थ्य, यातयात व्यवस्थापन, सुरक्ष, प्रचार प्रसार, खेल सामग्री तथा पोशाक व्यवस्थापनलगायतका समिति गठन गरी जिम्मेवारी तोकिएको छ । परिषद्ले खेल सञ्चालन कार्यविधि-२०७९ स्वीकृतिका लागि युवा तथा खेलकुद मन्त्रालयमा पठाउने निर्णयसमेत गरेको छ ।
राष्ट्रिय खेलकुदको तयारी तथा टिम छनोट तथा बन्द प्रशिक्षणका लागि करिब रु सात करोड खर्च लाग्ने अनुमान रहेको सदस्यसचिव गुरुङले बताए । राष्ट्रिय खेलकुदमा दुई प्रदर्शनसहित ३८ खेल सञ्चालन हुने निर्णय यसअघि नै भइसकेको छ । अधिकांश खेल पोखरामा नै सञ्चालन हुनेछ । केही खेलको पूर्वाधार अझै पनि तयार हुनसकेको छैन ।
स्वीमिङ, सुटिङ र हक्की खेलको पूर्वाधार पोखरामा पनि छैनन् । पूर्वाधार नभएका खेल कहाँ खेलाउने भन्ने चिन्ता आयोजकलाई छ । प्रदेशका ११ वटै जिल्लामा कम्तीमा एक खेल सञ्चालन गर्ने योजना छ । लामो समयपछि हुन लागेको राष्ट्रिय खेलकुदको अपनत्व सबै प्रदेशवासीलाई दिन सबै जिल्लामा खेल आयोजना गर्न प्रस्ताव गरिएको भए पनि फुटबल, क्रिकेट, भलिबल, ह्यान्डबललगायत मुख्य-मुख्य खेलसहित अधिकांश खेल पोखरामा सञ्चालन हुने पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका कार्यालय प्रमुख लक्ष्मण योगीले बताए ।
उनले भने, “चार दशकपछि हुन लागेको प्रतियोगितामा सबैको अपनत्व होस् भनेर हामीले ३६ वटा खेलको खेलस्थल सिफारिस गरेर पठाएका छौँ । यसबारेमा राखेपले केही दिनमै निर्णय गर्ला । धेरैजसो खेल पोखरामै सञ्चालन हुने निश्चित छ ।” योगीका अनुसार प्रतियोगिता तयारीका लागि निर्माणाधीन खेल पूर्वाधार सम्पन्न गर्ने, भइरहेकाको स्तरोन्नति तथा प्रतियोगिताका लागि क्षमतावान् खेलाडीको खोजी, नयाँ खेलाडी उत्पादन र उनीहरूलाई प्रशिक्षण दिने गरी योजना निर्माण गरिएको छ ।
राष्ट्रिय खेलकूदको मुख्य आयोजनास्थल पोखरा रङ्गशालाभित्र ‘इन्डोर’ र ‘आउटडोर’ खेलका पूर्वाधार तयारी छन् । पोखरामा फुटबलको अन्तर्राष्ट्रिस्तरको रङ्गशाला, सुविधासम्पन्न बहुउद्देश्यीय कभर्डहल, ब्याडमिन्टन कोर्ट, भलिबल कोर्ट, टेनिस कोर्ट, क्रिकेट मैदानलगायत अधिकांश खेलका पूर्वाधार तयारी अवस्थामा रहे पनि केहीको मर्मत र स्तरोन्नति गर्नुपर्ने छन् । रासस