arrow

ट्रयाक्टर चालक मृतावस्थामा फेला

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन १९ बिहिबार
death photo.jpg

खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका- बाम्राङका २७ वर्षीय ट्र्याक्टर चालक किसन हिङ्माङ मृतावस्थामा परेका छन् । दिक्तेलस्थित किरातचोकमा सञ्चालित लाहुरे हार्डवेयरको ट्र्याक्टर चालक हिङ्माङ आज बिहान सुतेकै ठाउँमा मृत फेला परेका हुन् ।

हिङ्माङको नाकबाट रगत बगिरहेको देखिएको घटनास्थलमा पुगेका प्रहरी निरीक्षक रोमणराज अर्यालले बताए । “घटनाको अनुसन्धान भइरहेको छ”, उनले भने, “शव परीक्षण रिपोर्ट आएपछि मात्र यथार्थ भन्न सकिन्छ ।”

दिनभर घरधनीको कोदो रोप्ने काममा सघाएका हिङ्माङ बिहान अबेरसम्म नउठेपछि हेर्न जाँदा मृत फेला परेको स्थानीय राजन केसीले बताए । हिङ्माङको शव परीक्षणका लागि जिल्ला अस्पताल दिक्तेल लगिएको प्रहरीले जनाएको छ ।

किसनको शव शङ्कास्पद अवस्थामा फेला परेकाले छानविन नगरी परीक्षण गर्न नहुने उनका आफन्त रामकुमार हिङ्माङले माग गरे । “बुधबार बेलुका झगडा भएको भन्ने सुन्नमा आएको छ”, उनले भने, “किसनको मृत्यु नभई हत्या भएको अनुमान गरिएको छ । यस विषयमा छानविन नगरी शव परीक्षण गर्न हुँदैन ।” हिङ्माङका श्रीमती र एक छोरा छन् । उनीहरु आफ्नै घर बाम्राङमा बस्दै आएको जनाइएको छ ।



नयाँ