arrow

सिन्को नभाँच्ने सुवास नेम्वाङलाई इलामबाट बिदा गर्ने नेताहरुको घोषणा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन २९ आइतबार
ilam-kathmandu-congress.jpg

काठमाडौं । नेपाली कांग्रेस इलामका नेताहरुले २७ वर्षसम्म प्रतिपक्ष दल नेकपा एमालेले इलामका जनतालाई छलकपट गरेर गुमराहमा राखेको आरोप लगाएका छन् । इलामबाट एमाले परास्त नगरे विकासको गति कहिल्यै अघि बढ्न नसक्ने उनीहरुको ठम्याइ छ । 

मंसिर ४ गते हुन गइरहेको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका विषयमा कांग्रेस इलाम–काठमाडौं सम्पर्क समितिले आयोजना गरेको कार्यक्रममा बोल्दै कांग्रेस केन्द्रीय सदस्य एवम सांसद सुजाता परियारले पार्टीका आकांक्षीहरुलाई व्यवस्थापन गर्दै सबै एकढिका भएर अघि बढ्नुपर्ने बताइन् । 

उनले भनिन्, ‘यतिबेला इलामेली जनता एमालेका सुवास नेम्वाङबाट सन्तुष्ट छैनन् । नेम्वाङले पटक पटक बेइमान गरेका छन् । उनीप्रति वितृष्णा बढेको छ । त्यसैले कांग्रेसीहरुमा सहमति, सहकार्य र एकता आवश्यक भएको छ । कांग्रेसका उम्मेदवारले चुनाव जित्नैपर्छ ।’

कांग्रेस इलाम सभापति डम्बर खड्काले एमालेबाट प्रतिनिधित्व गर्दै पटक पटक विजयी भएका सुवासचन्द्र नेम्वाङले सिन्को भाँच्न नसकेको आरोप लगाए । ‘अहिले इलाममा कांग्रेस बलियो भएर आएको छ । नेम्वाङ दुब्लो भइसके । यस पटक इलामेली जनताले उनलाई बिदाइ गर्नेछन् र कांग्रेसका उम्मेदवार भारी मतले विजयी हुनेछन्,’उनले भने, ‘२७ वर्षको अवधिमा एमालले जिल्लामा कुनै पनि राष्ट्रिय योजना ल्याउन सकेन । पाँच वटा पनि योजना रातो किताबमा राख्न सकेन । आउँदो निर्वाचनमा कांग्रेसले विजयको झन्डा फहराउने छ । यसका लागि सबै लोकतन्त्रवादीहरु एकजुट हुनुपर्छ ।’

पूर्वराज्यमन्त्री एवम् पूर्वजिल्ला सभापति केशव थापाले कांग्रेसले आफ्ना कमीकमजोरीहरुलाई सच्याएर एमाले परास्त गर्ने अभियान अघि बढाउनुपर्ने बताए । ‘यस पटक सहमतिमा उम्मेदवार छनोट गरौं । पार्टीलाई अन्तरघातमा जोगाउँदै एमाले परास्त गरेरै छाडौं,’ उनले भने । 

कांग्रेस इलाम उपसभापति खगेन्द्र देवानले यस पटक इलाममा कांग्रेसको जो उम्मेदवार भए पनि चेन अफ कमान्डका रुपमा काम गरेर एमालेलाई पाखा लगाउनु पर्ने बताए ।

संविधानसभा सदस्य नगेन्द्रकुमार कुमालले आदिवासी जनजातिका मुद्दामा एमाले पूर्वाग्रही रहेको आरोप लगाउँदै संस्कृति र संस्कार जोगाउँदै विकासका कामहरु अघि बढाउन कांग्रेसका उम्मेदवारलाई विजयी गराउनुपर्ने बताए ।

महाधिवेशन प्रतिनिधि राजु कार्की र प्राध्यापक याम कार्कीले पार्टीले आर्थिक मुद्दा र विकास निर्माणका क्षेत्रमा स्पष्ट भिजन बनाएर काम गर्नुपर्ने बताए । 

विद्यार्थी नेता पुजन चाम्लिङले सहमतिमा उम्मेदवार छनोट गरिए आफूहरुले जिताएर पठाउने प्रतिबद्धता जनाए ।

इलाम–काठमाडौं सम्पर्क समितिका सभापति समीप घिमिरेले कुनै गुट उपगुट नभनी इलामेली कांग्रेसलाई एकढिक्का बनाउन आफूहरुले भूमिका खेल्ने बताए । 

उनले सम्पर्क समितिलाई स्थापित गराउँदै विधागत रुपमा आफूहरु काम गर्न इच्छुक रहेकाले पार्टीले पूर्ण रुपमा सहयोग गर्न माग राखे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ