arrow

चुनावी चर्चा

प्रतिनिधि सभा निर्वाचन- मकवानपुरमा महाभिडन्तको सम्भावना

logo
रविन्द्र गौतम, 
प्रकाशित २०७९ साउन २९ आइतबार
chunab-mklow.jpg

हेटाै‌डा । सरकारले आगामी मंसिर ४ गतेलाई प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनको मिति तय गरेको छ ।  निर्वाचनको मिति घोषणा भएसँगै मकवानपुरबाट को-को निर्वाचनमा सहभागी हुन्छन् भन्ने चर्चा शुरु भएको छ । दुईवटा प्रतिनिधि सभा क्षेत्र रहेको मकवानपुरमा सत्तारुढ गठबन्धन र एमालेबीच दुईपक्षीय भिडन्तको संभावना प्रवल देखिएको छ ।

यो पटक क्षेत्र नंबर १ मा चार जना 'हेविवेट’ को भिडन्त हुने संभावना छ । क्षेत्र १ मा गत निर्वाचनमा नेकपा एमाले र माओवादी केन्द्रको गठबन्धनले कांग्रेस, राप्रपाको गठबन्धनलाई पराजित गरेको थियो । अबको निर्वाचनमा यो क्षेत्रमा चार जना उम्मेद्वारबीच प्रतिस्पर्धा हुने देखिएको हो । 

गत निर्वाचनमा एमालेका कृष्णप्रसाद दाहालले राप्रपाका कमल थापालाई पराजित गरेका थिए । यो पटक पनि यस क्षेत्रमा राप्रपा नेपालका केन्द्रीय अध्यक्ष कमल थापा, नेकपा एमालेका केन्द्रीय सदस्य कृष्णप्रसाद दाहाल, नेपाली कांग्रेसका बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँ तथा राप्रपाका केन्द्रीय सदस्य दिपकबहादुर सिंहबीच प्रतिस्पर्धा हुने देखिएको छ ।

हालको सत्ता गठबन्धन कायम रहेको अवस्थामा माओवादीको समर्थन बानियाँलाई हुने देखिएको छ भने गठबन्धन नभएको अवस्थामा माओवादीको उम्मेद्वार को हुने भन्ने विषयमा अन्योल छ । 

मकवानपुर क्षेत्र १ मा बहुदलपछि प्रतिनिधि सभाको निर्वाचनमा अहिलेसम्म नेकपा एमालेले नै राज गरेको थियो । यो क्षेत्रमा २०५१ मा राप्रपा, २०६४ को पहिलो संविधान सभामा माओवादी, २०७० को दोश्रो संविधान सभामा नेपाली कांग्रेस विजयी भएका थिए भने पुनः २०७४ मा एमालेले ‘कमब्याक’ गरेको थियो । एमाले २०४८, २०५६ र २०७४ मा विजयी भएको थियो । एमालेबाट तीनै पटक कृष्णप्रसाद दाहाल विजयी भएका थिए ।

त्यस्तै मकवानपुर क्षेत्र नम्बर २ मा पनि एमाले र गठबन्धनबीच टक्कर पर्नेछ । यस क्षेत्र नेकपा एकीकृत समाजवादीका नेता तथा पूर्व स्वास्थ्य मन्त्री विरोध खतिवडाको क्षेत्र हो । यस पटक पनि उनैले टिकट ल्याउने सम्भावना बलियो देखिन्छ । गठबन्धनको तर्फबाट यहाँ खतिवडाले नै टिकट पाउने करिब निश्चित भएपछि एमालेबाट कस्ले टिकट पाउला भन्ने चासोको विषय बनेको छ ।

यो क्षेत्रमा एमालेबाट केन्द्रीय सदस्यसमेत रहेका रामेश्वर राना, बागमती प्रदेशका पूर्व मुख्यमन्त्री डोरमणी पौडेल, पूर्व संविधानसभा सांसद शुभासचन्द्र ठकुरी तथा युवा नेता तथा बागमती प्रदेशका सह-सचिव महेश बर्तौलाले दाबी गर्न सक्ने देखिएको छ । यो क्षेत्रमा गठबन्धनलाई हराउन एमालेलाई त्यति सहज देखिदैन । तर एमालेका युवा नेता महेश बर्तौला पनि दरिलो रुपमा रहेको बुझिएको छ ।

अनेरास्ववियुबाट राजनीति अघि बढाएका बर्तौला अनेरास्ववियु मकवानपुरको इतिहासमा सबैभन्दा सफल र माथिल्लो स्तरसम्म पुगेका नेताको रुपमा चिनिन्छन् । अनेरास्ववियुको केन्द्रीय उपाध्यक्षसमेत भैसकेका बर्तौला हाल प्रदेश कमिटीको पदाधिकारीसमेत भएकोले र युवा भएकाले पनि उनि बलियो मानिएका छन् ।

खतिवडा ४ पटक यसै क्षेत्रबाट सांसद भैसकेका छन् । उनी संसदीय राजनीतिमा ‘चतुर’ खेलाडीको रुपमा चिनिन्छन् । खतिवडा यस कारण पनि उनलाई कमजोर मान्न एमालेले सक्दैन ।

अर्कोतिर अबको निर्वाचनमा युवालाई मात्र जिताउनु पर्छ भन्दै देशव्यापी सामाजिक संजालमा चलेको ‘नो नट अगेन’ अभियानले खतिवडालाई असर गर्छ र बर्तौलालाई सहयोग पुग्छ कि भन्ने आशमा एमाले रहेको बुझिन्छ । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ