arrow

गठबन्धनको उम्मेदवार बन्न माओवादीकी बिनालाई कांग्रेसका दिवान तगारो 

logo
दीपेन्द्र बस्नेत,  
प्रकाशित २०७९ भदौ १ बुधबार
bina-magar-diwan-singh.jpg


कञ्चनपुर । आगामी मंसिर ४ मा हुने निर्वाचनमा सत्ता साझेदार दलहरुका तर्फबाट उम्मेदवार बन्ने सुरसारमा रहेकी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी बुहारी बिना मगरलाई कञ्चनपुर १ मा नेपाली कांग्रेसका नेता दिवानसिंह विष्ट तगारो बन्ने देखिएका छन् ।

स्थानीय तहको निर्वाचनको मत परिणामअनुसार पहिलो स्थानमा रहेको नेपाली कांंग्रेसले कञ्चनपुर १ मा आफ्नो दरिलो दाबी राख्दै आएको छ । गत बैशाख ३० मा सम्पन्न स्थानीय तहको निर्वाचनमा कञ्चनपुर १ मा चारमध्ये दुई पालिकामा कांग्रेसले जित हात पारेको थियो । एमाले र माओवादीले एक–एक पालिकामा जित हात पारेका थिए । 

सम्पन्न स्थानीय तहको निर्वाचनमा एक नम्बरमा रहेको कांंग्रेसले संघीय सांसदको पद आफूले पाउनु पर्ने सशक्त दाबी गर्दै आएको छ । संविधान सभा सदस्य रहिसकेका कांग्रेसका नेता विष्ट र पूर्वमन्त्रीसमेत रहिसकेकी प्रचण्डकी बुहारी बिनाको निर्वाचन क्षेत्र हो कञ्चनपुर १ ।

यो क्षेत्र माओवादीले आफ्नो पोल्टामा पार्न जबर्जस्त लबिङ गरे पनि नेतृ मगरको तगारो बनेका छन् विष्ट । विष्ट २०७० को दोस्रो संविधान सभा सदस्य पनि हुन् । एमाले–माओवादी बीचको वाम गठबन्धनकी उम्मेदवार बिना ०७४ मा कञ्चनपुर १ बाट निर्वाचित भएकी थिइन् । 

कांग्रेसको सहयोग बिना २०७९ मंसिर ४ मा हुने निर्वाचनमा भने माओवादी नेतृ मगरलाई भने जित्न सहज देखिँदैन । उनको तगारो बनेका् छन् विष्ट । ०७४ को निर्वाचनबाट जित हात पारेकी नेतृ बिना मगर नेकपाको शक्तिशाली सरकारकी खानेपानी मन्त्रीसमेत बन्दा आफ्नो निर्वाचन क्षेत्रमा भने विकासका केही काम गर्न नसकेको भन्दै जनता माझ आलोचित छिन् ।

कांग्रेसको इतर समूहभित्र प्रभाव राख्ने नेता विष्ट यतिबेला कञ्चनपुर १ मा संघीय सांसद कांग्रेसले पाउनु पर्ने दाबी  गरिरहेका छन् । गठबन्धनबाटै उम्मेदवार बन्न नेता विष्ट लागिरहेका छन् । 

उनी यतिबेला राजधानी काठमाडौंमै रहेर कञ्चनपुर १ मा कांग्रेस बलियो रहेको शीर्ष नेताहरुलाई आश्वस्त पार्ने प्रयासमा रहेका छन् । संकटका बेला जनताको घरदैलोमा पुग्ने गरेका विष्टले आफूले टिकट पाए जित्ने आधार भएको बताउँछन् । 

कोरोनाकालमा उनले जनताको स्वास्थ्य अवस्थामा सहयोग पुर्याउने अभियान सञ्चालन गर्दै आएका थिए । आफू पराजित भए पनि क्षेत्रको विकास निर्माणमा खट्दै आएका छन् । 

देशभर महामारीका रुपमा कोरोनाले जनतालाई सताएको बेला आफूले गाउँ बस्तीमा खटेर सेवा गरिरहेको जनताले बुझेको नेता विष्टको दाबी छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ