arrow

बालेनको अभियानमा सुनीता पनि सँगसँगै, भन्छिन् –अवैध संरचना हटाउने महानगरको अभियानमै छु 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ १२ आइतबार
walendra-sunita-kathmandu-mayor-upamayor-2079-2084.jpg

काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपमेयर सुनीता डंगोलले अवैध संरचना भत्काउने र कानून कार्यान्वयन गराउने महानगरको अभियानमै आफू रहेको जानकारी दिएकी छिन् । 

पछिल्लो समय महानगरपालिकाले थालेको सार्वजनिक वा सरकारी जग्गा अतिक्रमण गरी तथा स्वीकृतविपरीत निर्माण गरेका संरचना हटाउने अभियान सकारात्मक रहेको उनको भनाइ छ । 

गत शुक्रबार मेयर वालेन्द्र साह (बालेन) ले अल्फाबिटा कम्प्लेक्सको अवैध संरचना भत्काउँदा एमाले सांसद महेश बस्नेतले आपत्ति जनाएका थिए । अल्फाबिटामा एमालेका नेताहरुको लगानी रहेको बताइन्छ । 

बालेन हिँडिरहेका कार्यक्रममा नदेखिएपछि सुनीताको खोजी भएको थियो । बालेन स्वतन्त्रबाट चुनाव जितेका हुन् । उनले आफूलाई कुनै दलविशेषको चेतावनी वा धम्कीले फरक नपर्ने र काम गर्न स्वतन्त्र रहेको बताउँदै आएका छन् । 

एमालेबाट जितेकी उपमेयर सुनीताबारे सामाजिक संजालमा प्रश्न उठेपछि उनले पनि स्पष्ट पारेकी हुन् । तर यसले एमाले सांसद महेश बस्नेतसँगै अवैध संरचना खडा गर्ने अन्य एमालेगणलाई भने थप चिन्तित बनाएको हुन सक्छ । 

यस विषयमा उपमेयर सुनीता डंगोलले जारी गरेको अपिल

सार्वजनिक वा सरकारी जग्गा अतिक्रमण गरी निर्माण गरेका अनधिकृत संरचना (निर्माण कार्य तथा नक्सा स्वीकृती गर्दा भुँइतला वा बेसमेन्टलाई पार्किङ्गको प्रयोजन देखाई पछि अन्य व्यापारिक प्रयोजनमा लगाएका संरचना) हटाउने कार्यलाई केही दिनदेखि काठमाडौँ महानगरपालिकाले निरन्तरता दिदैँ आएको विदितै छ । त्यस्ता अनधिकृत संरचना हटाउने अभियान काठमाडौँ महानगरपालिकाको हो ।

म काठमाडौँ महानगरपालिकाको उपमेयरको हैसियतमा छु । त्यसैले कानून कार्यान्वयन गर्ने सबै कार्यमा मेरो साथ, सहयोग र समर्थन रहेको स्मरण गराउन चाहन्छु । काठमाडौं महानगरलाई साँच्चिकै स्वच्छ, सुन्दर, जीवन्त र व्यवस्थित सांस्कृतिक नगरका रूपमा थप विकास गर्ने मेरो एजेण्डाप्रति म सजग र सचेत रहेको पनि स्मरण गराउन चाहन्छु । तर, केही दिनदेखि मुख्य गरेर केही अनलाईन मिडियाहरुमा महानगरपालिकाको पछिल्लो अभियानसँग मलाई जोडी आम महानगरवासीमा समेत भ्रम सिर्जना गर्ने गरी गरेका समाचार सम्प्रेषणप्रति मेरो ध्यानाकर्षण भएको छ । पत्रकारिता क्षेत्रलाई राष्ट्रको चौथो अंगका रुपमा लिइने गरिएको छ ।

पत्रकारिता क्षेत्रमै निरन्तर लागिरहनु भएका पत्रकार मित्रहरुलाई पत्रकारिताका तीन सिद्धान्त सत्यता, सन्तुलन र विश्वसनीयताका बारेमा मैले यहाँ व्याख्या गरिरहनु पर्ने आवश्यकता ठानेको छैन । यद्यपि, पत्रकारिताको धर्म र मर्मलाई समेत सामान्य हेक्का नराखी वा मसँग जोडिएका समाचारमा मेरो कुनै प्रतिक्रिया नै समावेश नगरी एकपक्षीय र अनुमानका भरमा समाचार सम्प्रेषण गरी भ्रम सिर्जना गर्ने कार्यले पत्रकारिताप्रतिको विश्वसनीयता नै कमजोर हुनेप्रति ख्याल राखिदिनुहुन अनुरोध गर्दछु ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ