arrow

प्रचण्ड र माधव देउवालाई गलाउने रणनीतिमा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ १७ शुक्रबार
deuba-prachanda-nepal-1353.jpg

काठमाडौं । सत्तारुढ गठबन्धनका दुई दल नेकपा माओवादी केन्द्र र नेकपा एस पार्टीका शीर्ष नेताहरुले नेपाली कांग्रेससँग धेरै सिट फुत्काएर सरकार गठनको बेला कांग्रेसलाई अप्ठेरो बनाउने रणनीतिमा लागेका छन् । 

बिहीबार बसेको १० घण्टा लामो बैठकका क्रममा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टीलाई जसरी पनि ६० सिट चाहिने, त्यसमा डा. बाबुराम भट्टराई र वामदेव गौतम पनि अटाउनु पर्ने अडान राख्नु र एस पार्टीका अध्यक्ष माधवकुमार नेपालले कांग्रेसले ७० सिट लिएर बाँकी ९० सिटको बाँडफाँड उपयुक्त हुने प्रस्ताव राखेपछि जतिसक्दो बढी सिट ल्याएर सरकार गठबन्धनमा अप्ठेरो पार्ने नीतिमा लागेको प्रष्ट भएको छ । 

‘उनीहरु सरकार गठनको बेला एमालेसँग मिल्ने तयारी रणनीतिमा लागेको बुझिन्छ, कांग्रेसलाई एक्लो बनाउने र वामपन्थीहरुको बहुमतको सरकार बनाउने योजना उनीहरुको देखिन्छ’, गठबन्धनको बैठकमा सहभागी एक नेताले भने । 

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्रको दबाबलाई लिएर ९० सिट आसपास आफूलाई राखेर सहमति खोज्न भने पनि माओवादी अध्यक्ष प्रचण्डले कांग्रेसलाई ८० सिट आसपास सीमित गर्न खोजेपछि कांग्रेसले पनि शंकाको लाभ पाएको छ । 

बिहीबार नै प्रचण्डले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटघाट गर्नु र माधव नेपालले ७० सीटमा सीमित गर्न खोज्नु तथा माओवादी अध्यक्ष प्रचण्डले राष्ट्रपति कार्यालयबाट आएपछि ८५ सिट माग्नुले प्रचण्ड अझै अस्थिर रहेको प्रष्ट भएको थियो । 

बैठकमा सहभागी एक नेताका अनुसार प्रचण्डले प्रतिनिधि सभाका १६५ सिटमध्ये ५० प्रतिशत कांग्रेसलाई दिने गरी प्रस्ताव गरेका थिए ।  कांग्रेसलाई ५० प्रतिशत सिट दिएर बाँकी ५० प्रतिशत आफूहरु भागबण्डा गर्ने बताएपछि सभापतिले तत्काल कुनै प्रतिक्रिया नजनाएको स्रोतको दाबी छ । 

प्रचण्डले राखेको प्रस्तावमा अरु नेताहरुले कांग्रेस ८६, माओवादी ४७, समाजवादी १८, जसपा १३ भनेर भागबण्डा गरे पनि कांग्रेसले त्यसमा सहमति जनाएको छैन । 

प्रचण्डले बिहीबार राष्ट्रपति भण्डारीसँग भेटघाट गरेर के के कुराकानी गरे भन्ने बारेमा केही खुलेको छैन । बिहीबार उनी आफैले राष्ट्रपतिसँग समय लिएर भेटघाटका लागि गएका हुन् । 

प्रचण्डको प्रस्तावलाई गठबन्धनका एकीकृत समाजवादी, जनता समाजवादी र राष्ट्रिय जनमोर्चाले पनि मान्ने अवस्था पनि छैन ।

 ‘कांग्रेस ८० देखि ८२ सिटमा खुम्चिन सक्दैन, अरु दलहरु पनि आफ्नो साइज घटाउन तयार छैनन्’, स्रोतले भन्यो ‘प्रचण्ड सबैभन्दा बढी सिट लिएर कांग्रेसको मतले एमाले वा सो सरहको पार्टी हुन चाहन्छ ।’ 

बैठकमा प्रचण्ड कांग्रेसलाई ५० प्रतिशत दिएपछि बाँकी रहेको ५० प्रतिशतबाट आफूले कम्तीमा ५० सिट राख्ने रणनीतिसहित प्रस्तुत भएको स्रोतले जनाएको छ ।’ 

कांग्रेसले सहमत हुने कुरै भएन । बिहीबार दिनभरको छलफलपछि कांग्रेस ८६, माओवादी केन्द्र ४७, नेकपा एकीकृत समाजवादी १८, जसपा १३ र राष्ट्रिय जनमोर्चा १ सिट लिनेमा करिब सहमति भएको थियो । 

तर ती कांग्रेस नेताले प्रचण्डले आफू ५० सिटबाट तल नझर्ने गरी प्रस्ताव ल्याएपछि समस्या उत्पन्न भएको स्रोतको दाबी छ । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा सिट बाँडफाँटलाई लिएर केही सातादेखि सत्तारुढ दलबीच रस्साकस्सी चलिरहेको छ ।

गठबन्धनका शीर्ष नेताहरुको बैठकमा सिट बाँडफाँटबारे गम्भीर छलफल भए पनि निष्कर्षमा पुग्न सकेका छैनन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ