arrow

सत्ताधारी गठबन्धन सिट बाँडफाँटमा सहमति नजिक

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ २३ बिहिबार
gathabandha-five-parties (1).jpg

काठमाडौं । सत्तागठबन्धन आबद्ध दलहरु आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सिट बाँडफाँटमा सहमतिको नजिक पुगेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बसेको गठबन्धनको बैठकमा सिट बाँडफाँटका विषयमा द्विपक्षीय र त्रिपक्षीय छलफल भएको र छलफलको विषय साँघुरिँदै गएको गठबन्धनको कार्यदलका सचिव अधिवक्ता केशवराज जोशीले जानकारी दिए । 

बैठकमा चुनावी तालमेल र सिट बाँडफाँटका सम्बन्धमा हालसम्म भएका सहमति र असहमति बारेमा छलफल भएको बताइएको छ । दलहरुलाई प्राप्त मतअनुसार र केही राजनीतिक विषयलाईसमेत मध्यनजर गरी सबै दललाई सम्मानजनक र न्याय हुनेगरी कार्यदलले सिट बाँडफाँटको खाका बनाएको छ ।

कार्यदलले शीर्ष नेतृत्वलाई बिहीबार प्रतिवेदन बुझाउने भनिए पनि नेताहरुको व्यस्तताका कारण प्रतिवेदन बुझाउन नसकेको नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जानकारी दिए । 

उनका अनुसार बैठकबाट जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव राष्ट्रपति कार्यालय, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल छुट्टाछुट्टै कार्यक्रमका लागि भनेर निस्किएकाले शीर्ष नेताको बैठक बस्न सकेन । बैठक शुक्रबार दिउँसो ३ बजे पुनः बस्ने र थप छलफल हुने उनले बताए । 

गठबन्धनमा आबद्ध दलहरुले आगामी आमनिर्वाचनमा चुनावी तालमेलको खाका बनाउन कार्यदल गठन गरेका थिए । कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला संयोजक रहेको कार्यदलले सिट बाँडफाँटका सम्बन्धमा हालसम्म विभिन्न चरणमा छलफल गरी सहमतिको नजिक पुगेको जनाएको छ ।

कार्यदलमा कांग्रेसबाट महामन्त्री गगनकुमार थापा र सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं पार्टीका नेता ज्ञानेन्द्रबहादुर कार्की, नेकपा माओवादी केन्द्रबाट महासचिव देव गुरुङ र उपमहासचिव वर्षमान पुन छन् ।

यसैगरी नेकपा एकीकृत समाजवादीबाट उपाध्यक्ष प्रमेश हमाल र महासचिव बेदुराम भुसाल, जनता समाजवादी पार्टी नेपालबाट नेताहरु रामसहाय प्रसाद यादव र रकम चेम्जोङ तथा राष्ट्रिय जनमोर्चाबाट नेताहरु पुरी र आनन्द शर्मा कार्यदल सदस्य छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ