arrow

छट्पटीमा केपी ओली, गठबन्धन टुक्र्याउन अनेक दाउ 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ २५ शनिबार
kp-sharma-oli-all.jpg

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीले वामगठबन्धनका लागि ढोका खुला राखेर अघि बढ्ने संकेत गरेको भए पनि उनी निकटका केही नेताहरुले त्यसलाई अवरोध गरिरहेका छन् । ४ मंसिरको आमनिर्वाचनको तयारीसँगै रणनीति तय गर्ने क्रममा ओलीले अहिलेको गठबन्धन निर्वाचनको केही साता अघिसम्म भत्किन सक्ने सम्भावनालाई कायम राख्दै वामगठबन्धनको ढोका भने खुलै राखेर अघि बढ्ने चुनावी रणनीतिको संकेत गरेका थिए  । 

तर वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल लगायतका केही अनुदारवादी नेताहरुले त्यसलाई अवरोध गरिरहेको स्रोतको दाबी छ । यद्यपि ओली पनि बाहिर देखिँदा पाँच दलीय सत्तागठबन्धनप्रति आक्रामक छन् । अहिल्यै एमालेको नेतृत्वमा अर्को गठबन्धन बनाउने निर्णय नगर्ने तर सम्भावित विकल्पलाई खुला राख्ने ओलीको भनाइ छ ।

 ‘सत्तारूढ गठबन्धन तोड्नुपर्छ, अर्को गठबन्धन गर्नुपर्छ भनेर गीत गाउने विषय होइन, झ्याली पिटाउने पनि होइन,’ ओलीले भन्दै आएका छन् । उनले गठबन्धन सिद्धान्तनिष्ठ र उद्देश्यमूलक हुनुपर्छ । सिद्धान्तविहीन, पहिचानविहीन ढंगले र नीतिविहीन गठबन्धनले उद्देश्य हासिल गर्न सक्दैन र परिणाममुखी पनि हुँदैन, एमाले जहिले पनि सिद्धान्त, नीति र उद्देश्यलाई प्राथमिकतामा राखेर अगाडि बढ्छ भन्दै झापा लगायतका स्थानमा एमालेका स्थानीय कार्यकर्ताहरुसँगको भेटघाटमा भनेका छन् ।  

उनको पछिल्लो अभिव्यक्तिलाई सचिवालयका अधिकांश नेताले एमालेको नेतृत्वमा बन्न सक्ने वामगठबन्धनप्रति ओली विस्तारै नरम बन्दै गएको अर्थ लगाएका छन् । 

तर ओलीले वाम पार्टीमध्ये कुन दलसँग वा मधेसमा आधारित पार्टीमध्ये कुन दलसँग गठबन्धन हुन सक्छ भनेर प्रस्ट बैठकमा राखेका छैनन् । ‘एमालेको नेतृत्वमा अर्को गठबन्धन बन्न पनि सक्छ, एक्लै लड्नुपर्ने पनि हुन सक्छ तर कांग्रेस र माओवादी जहाँ मिल्दैनन् त्यहाँ एक अर्कालाई सहयोग गर्ने वातावरण तय होस’, ओलीको भनाई उद्यृत गर्दै एक सदस्यले भने ।  

सिट बाँडफाँटसँगै प्रधानमन्त्री, राष्ट्रपति, सभामुख, उपराष्ट्रपति, उपसभामुखसहितको राजकीय शक्ति बाँडफाँट अभिन्न रूपले जोडिएकाले अहिलेको सत्तागठबन्धन कुनै पनि बेला भत्किन वा तोडिन सक्ने एमालेको आँकलन छ । 

सत्तारूढभित्र पनि विशेषतः कांग्रेस र माओवादी केन्द्रले बढी सिटका लागि दाउपेच गर्दा एकीकृत समाजवादीसहितका अरू दल उपेक्षामा पर्न सक्ने भएकाले वैकल्पिक गठबन्धन वा तालमेलका लागि एमालेले पनि आन्तरिक रूपमा प्रयत्न गर्नुपर्ने मत बलियो बन्दै गएको छ ।

पछिल्लो त्यही मनोविज्ञान सम्बोधन गर्ने गरी ओलीले पार्टीको नेतृत्वमा बन्न सक्ने अर्को सम्भावित गठबन्धनप्रति नरम अभिव्यक्ति दिएको एक सचिवालय सदस्यले बताए । 

ओली प्रत्यक्षमा सम्पर्कमा नरहे पनि एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डे, विष्णु पौडेल, सुवास नेम्वाङ, महासचिव शंकर पोखरेल, उपमहासचिवद्वय पृथ्वीसुब्बा गुरुङ र प्रदीप ज्ञवाली, सचिवहरू गोकर्ण विष्ट, योगेश भट्टराई, पोलिटब्युरो सदस्य गोकुल बाँस्कोटा, पार्वत गुरुङ, महेश बस्नेतलगायतका दोस्रो तहका कतिपय नेता माओवादी केन्द्र र एकीकृत समाजवादीका नेतासँग मात्र होइन मधेसकेन्द्रित दलका नेतासँग पनि सम्पर्कमा छन् । 

माओवादी केन्द्र र एकीकृत समाजवादीका दोस्रो तहका नेता पनि एमाले नेतासँग अनौपचारिक संवादमै छन् । माओवादी केन्द्र र एकीकृत समाजवादी पाँचदलीय गठबन्धनबीच तालमेल गर्ने निर्णयमा सहभागी भइसकेका छन् । 

तर ती दुवै दलमा केही नेता भने वामठबन्धनको पक्षमा उभिएका छन् । पाँच दलीय गठबन्धनभित्र सिट बाँडफाँटमा सकस परिरहेका बेला महन्थ ठाकुर नेतृत्वको लोसपा, डा बाबुराम भट्टराई नेतृत्वको समाजवादी पार्टी नेपाल र वामदेव गौतम नेतृत्वको नेकपा राष्ट्रिय एकता अभियानसहित थप तीन पार्टीलाई पनि त्यहीँभित्र अडिन सक्ने अवस्था नरहेको एमालेको बुझाइ छ । 

एमालेले आफ्नै बलमा आमनिर्वाचन लड्ने, तर सत्तारूढ गठबन्धन छाडेर आएको अवस्थामा राष्ट्रिय एकता र लोकतन्त्रको सुदृढीकरण, सामाजिक आर्थिक रूपान्तरणसहित समाजवादको आधार निर्माण, मुलुकको सार्वभौमसत्ता र राष्ट्रिय स्वाधीनताको रक्षालगायतका एजेन्डा मिल्ने कुनै पनि दलसँग सहकार्य वा तालमेल गरेर जान भने तयार रहेको बताउँदै आएको छ । 

तर वरिष्ठ उपाध्यक्ष पोखरेलले भने त्यो संभावना नभएको भन्दै ओलीको भनाइ पनि खण्डन गरिरहेका छन् । वरिष्ठ उपाध्यक्ष पोखरेलले वाममोर्चाको सम्भावना नै नरहेको दाबी गरेका छन् । 

एमालेको मोरङ–काठमाडौं सम्पर्क मञ्चको एक कार्यक्रममा बोल्दै उनले वामपन्थी सरकार ढालेर वामपन्थीको मुख्य शत्रुलाई सरकारको नेतृत्व दिनेसँग कुनै किसिमको गठबन्धन वा मोर्चा नबन्ने प्रस्ट पारे ।

 ‘वामपन्थीहरूको मोर्चा ! यो कस्तो होला ? के होला मैलाई पनि भन्नुहुन्छ, मिलाउनु नि मिलाउनु ! मिलाउनु भन्या के ? कस्लाई कम्युनिस्ट भन्ने ?,’ उनले भने, ‘कम्युनिष्ट पार्टीको सरकार ढालेर कम्युनिस्ट पार्टीको मुख्य शत्रु त्यसलाई सरकारको नेतृत्व दिन जानेहरू वामपन्थी रहे कहाँ ?’

माधव नेपालसँग आफूले ४५ वर्ष काम गरेको र आफूले जति कसैले नबुझेको दाबी गर्दै वरिष्ठ उपाध्यक्ष पोखरेलले केपी ओलीसँग रिस उठ्यो भन्दैमा वामपन्थी सिध्याउने गरी अघि बढ्नु ठूलो अपराध रहेको बताएपछि उनी ओलीको भनाइप्रति असहमत रहेको सोझो आँकलन गर्न सकिन्छ ।

तर केपी ओलीले पुनः सत्तामा पुग्न अनेक दाउ रचेका छन् । उनले शनिबार मात्रै पनि बालुवाटार पुगेर सबै पार्टी एक्लाएक्लै लड्नका लागि प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवासँग छलफल गरेका छन् । उनले गठबन्धन फुटे पनि माओवादीलाई नबोक्ने सर्त राखेर एक्लै लड्न तयार रहेको भन्दै गठबन्धनलाई फुटाएर शक्तिमा पुग्न चाहेका छन् । 

गठबन्धन नटुटे एमाले सीमित सिटमा खुम्चिने डरले पनि ओली छट्पटाइरहेको बुझिन्छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ