arrow

एमालेभित्र उपाध्यक्ष पौडेल र महासचिव पोखरेलबीचको चिसोले तरङ्ग 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ २६ आइतबार
bishnu-poudel-shankar-pokharel-uml.jpg

काठमाडौं । नेकपा एमालेभित्रका दुई शक्तिशाली नेताहरुबीच लामो समयदेखि राम्रोसँग बोलचाल भएको छैन । एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल र एमाले महासचिव शंकर पोखरेलबीच लामो समयदेखि मन खुलाएर बोलचाल हुन नसकेको हो । लुम्बिनी प्रदेश कार्यालय कहाँ राख्ने भन्ने विवादबाट चुलिएको दुई नेताको सम्बन्ध अझै सुधार हुन सकेको छैन । 

पार्टीको चितवनमा सम्पन्न दशौं महाधिवेशनमा को महासचिव हुने भन्ने बारेमा पनि यो सम्बन्ध झन् धेरै चिसिएको थियो । यो क्रम स्थानीय तहको निर्वाचनमा अझै  छताछुल्ल भयो भने संघीय संसदको निर्वाचनमा एमाले उपाध्यक्ष विष्णु पौडेललाई सिध्याउन महासचिव आफैं कम्मर कसेर लागेको स्रोतको दाबी छ ।

संघीय संसदको चुनावी माहोल चर्किएसँगै रुपन्देही–२ निकै चर्चामा छ । त्योसँगै पौडेल र पोखरेलको सम्बन्ध पनि बढी नै चर्चामा रहेको छ  । नेकपा एमालेका प्रभावशाली नेता पौडेलको चुनावी क्षेत्र भएकाले पनि यो क्षेत्र बढी चर्चामा छ । पौडेलले यसअघि सबैजसो निर्वाचनमा जितेको रेकर्ड छ । त्यहाँ एमालेको जनमत पनि उल्लेख्य मानिन्थ्यो । 

तर गत बैशाखमा भएको स्थानीय तहको निर्वाचनले त्यहाँको तस्बिर फरक भएको छ । पोखेरलले प्रदेश राजधानी दाङ लगेपछि पौडेल कमजोर देखिएका छन् । पौडेलले प्रदेश राजधानीको अडान लिन नसकेको भन्दै आलोचनासमेत हुने गरेको छ । त्यसमाथि पोखरेल र पौडेलबीच बढेको द्वन्द्वले एमालेभित्रै तनाव उत्पन्न गरेको छ । 

यसैकारण पौडेलले स्थानीय तहमा आफ्नो पकड गुमाएका थिए । तर आगामी संघीय निर्वाचनमा यो क्षेत्रबाट पौडेल आफैंले जित्ने दाबी गरिरहेका छन् । परिस्थिति भने उनको अनुकुल छैन ।

विगतमा पौडेलकै चुनावी मोर्चा सम्हाल्दै आएका हाल नेकपा एकीकृत समाजवादी रुपन्देहीका केन्द्रीय सदस्य एवम् रुपन्देही इन्चार्ज राजु गुरुङ पौडेलकै क्षेत्रबाट सिफारिस भएका छन् । 

स्वतन्त्र उम्मेदवारी घोषणा गरेर डा. निकोलस भुषाल विगत २ महिनादेखि खटिरहेका छन् । लामो समयदेखि सामाजिक क्षेत्रमा खटिएका भुषाललाई युवाहरूले रुचाएका छन् । 

भुषाल काठमाडौं महानगरमा स्वतन्त्रबाट मेयरमा जितेका वालेन्द्र साह (बालेन) कै समूहका व्यक्ति हुन् । उनी बालेन जिताउने अभियानदेखि उनका एजेण्डा बनाउनेसम्मको अभियानमा खटिएका हुनाले बालेन पनि उनको चुनावी प्रचारको लागि रुपन्देही आउने चर्चा छ । 

युवा र डाक्टरहरूको पूरै समर्थन पाएका भुषाल आफूले जित्नेमा ढुक्क छन् । उनका एजेण्डा पनि प्रभावकारी छन् । स्थानीय तहको निर्वाचनमा एमालेले जनमत गुमाएकाले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा पनि एमालेलाई निकै सकस पर्ने आँकलन गरिएको छ । 

यद्यपि उपाध्यक्ष पौडेल भने निरन्तर खटिइरहेका छन् । स्थानीय नेताहरू एमालेलाई यो निर्वाचनमा निकै सकस पर्ने बताउँछन् । रुपन्देही–२ बाट नेकपा एसका केन्द्रीय सदस्य एवम् रुपन्देही इन्चार्ज राजु गुरुङ सिफारिस भएका छन् । उनको नाम सर्वसम्मत पठाइएको छ । 

०७४ को निर्वाचनमा पनि पौडेल यो क्षेत्रबाट निर्वाचित भएका थिए । वाम गठबन्धनका उम्मेदवार बन्दै पौडेलले ४४ हजार ३ सय मत ल्याउँदा नेपाली कांग्रेसका उम्मेदवार युवराज गिरीले २१ हजार ९३७ मत पाएका थिए । 

गिरी कांग्रेसका जिल्ला तहका नेता हुन् । यसपटक गठबन्धनमा यो क्षेत्र एकीकृत समाजवादीले पाउने पक्का भएको दाबी गरेको छ । एमाले विभाजन अगाडिसम्म विष्णु पौडेलको चुनावी कमाण्डर हुने गरेका गुरुङ नै भिड्ने भएका छन् । 

एमाले निकट युवा संघका पूर्वउपाध्यक्ष गुरुङ तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का रुपन्देही जिल्ला अध्यक्ष थिए । तर एमाले विभाजनसँगै उनी एकीकृत समाजवादीतिर लागे । 

उनको जनमत पनि निकै बलियो भएको स्थानीय बताउँछन् । यसपटक पौडेल, भुषाल र गुरुङको त्रिपक्षीय भिडन्तमा यो क्षेत्र कसको पोल्टामा पर्ला भन्न गाह्रो छ । 

यतिमात्र होइन पौडेललाई पार्टी महासचिव पोखरेल समूहको साथ नहरने अवस्था छ । पोखरेलले यसपटक पौडेललाई हराउन सफल भएमा आफ्नो राजनीतिक भविष्य सुरक्षित हुने महसुस गरेका छन् । 

जसका कारण पनि स्थानीय तहमा टिकट दिदा पनि पोखरेल हाबी भएका थिए । पोखरेल समूहका कतिपय नेताहरुले टिकट पाउदा पौडेल समूहका नेताहरुले त्यहाँ असहयोग गरेको बताइन्छ । संघीय संसदको निर्वाचनमा पालाको पैचो तिर्ने आँकलन गरिएको छ ।

त्यसो त शिशाको घर हुनेहरुले छिमेकीको घरमा ढुङ्गा नहान्नु भन्ने भनाइ नै छ । त्यही विषय शंकर पोखरेलमा पनि लागु हुन्छ । उनी पनि प्रतिनिधि निर्वाचनका लागि सुरक्षित छैनन् । उनी यसअघि मुख्यमन्त्री बन्नकै लागि प्रदेश सभामा उठेका थिए । जितेर मुख्यमन्त्री पनि भए । 

तर अब के गर्छन् भन्ने चासो छ । प्रदेशमै लड्लान् वा प्रतिनिधि सभामा आउलान् यकिन छैन । उनी दाङका हुन् । घर क्षेत्र ३ मा पर्छ भने चुनावमा लड्दै आएको क्षेत्र २ हो । यसपालि के गर्छन् चासो हुने नै भयो । अझ यदि पौडेललाई हराउन पोखरेल लाग्दैछन् भने पौडेल पक्ष पनि पैंचो तिर्न तयार भएर बसेको बुझिन्छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ