arrow

दार्चुलामा एक सय अठासी जनामा डेंगी संक्रमण

logo
प्रकाशचन्द्र भट्ट, 
प्रकाशित २०७९ असोज ४ मंगलबार
darchula-district-hospital.jpg

दार्चुला । हिमाली जिल्ला दार्चुलामा डेंगीका बिरामी ह्वात्तै बढेका छन् । खासगरी तराईका जिल्लामा हुने डेंगीले पछिल्लो समय हिमाली तथा पहाडी जिल्लामा समेत महामारीको रुप लिन थालेको छ । दार्चुलामा साउन यता १ सय ८८ जनामा डेंगी संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय दार्चुलाका वरिष्ठ जनस्वास्थ्य अधिकृत जयराज भट्टले बताए । यस्तै डेंगी संक्रमित एक बालिकाको मृत्यु भइसकेको छ ।

स्वास्थ्य कार्यालय दार्चुलाका खोप सुपरभाइजर निरीक्षक वीरेन्द्र भट्टका अनुसार दार्चुलाका ८ स्थानीय तहमा डेंगीको संक्रमण फैलिएको छ । सबैभन्दा बढी जिल्लाको महाकाली नगरपालिकाका १ सय ३० जनामा डेंगी संक्रमण पुष्टि भएको छ । 

यस्तै व्याँस गाउँपालिकाका १३ जना, नौगाड गाउँपालिकाका ८ जना, मालिकार्जुन गाउँपालिकाका १२ जना, दुहुँ गाउँपालिकाका ११ जना, अपिहिमाल गाउँपालिकाका ६ जना, लेकम गाउँपालिकाका ४ जना र मार्मा गाउँपालिकाका ६ जनामा डेंगी पुष्टि भएको भट्टले बताए । 

जिल्लाको शैल्यशिखर नगरपालिकामा संक्रमण पुष्टि भएको रेकर्ड नआएको भए पनि त्यहाँ पनि बिरामी हुन सक्ने बताइएको छ । अहिले जिल्ला अस्पताल दार्चुलामा ज्वरोका बिरामीको चाप अत्यधिक छ । 

दैनिक जसो ५०–५५ बढी बिरामी उपचारका अस्पताल आउने गरेको जिल्ला अस्पताल दार्चुलाका निमित्त मेसु, डाक्टर आदर्श लिम्बुले बताए । ज्वरोका बिरामीलाई परीक्षण गराउँदा अधिकांशमा डेंगी पुष्टि भइरहेको उनले बताए । 

डेंगी रोग जुनसुकै उमेर समूहका मानिसहरुलाई लाग्ने भएकाले सचेतना अपनाउन चिकित्सकहरुले सुझाव दिएका छन् । उच्च ज्वरो आउने, टाउको दुख्ने, आँखाको गेडी दुख्ने, जिउ पुरै दुख्ने, बान्ता हुने, खान मन नलाग्ने, पखाला लाग्ने, घुँडाका जोर्नी दुख्ने आदि डेंगीका लक्षण हुन् । 

यसबाट बच्न घर वरपर पानी जम्न नदिइ सफा राख्ने, शरीर ढाक्ने लुगा लगाउने, घरभित्र लामखुट्टे छिर्न नदिन घरको झ्याल ढोकामा जाली लगाउने, बिहान, दिउँसो र राति जुनसुकै बेला झुल लगाएर मात्रै सुत्ने गर्नुपर्ने चिकित्सकहरुको सुझाव छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ