arrow

डेंगीको डर

बर्सेनि डेंगी संक्रमण बढ्दै, आगामी वर्षहरू झनै चुनौतीपूर्ण बन्ने [भिडियो]

डेंगीलाई गम्भीरपूर्वक लिनुपर्छ- डा. पुन

logo
हाम्रा कुरा
प्रकाशित २०८१ कार्तिक २२ बिहिबार
sher-bd-pun.jpg

काठमाडौँ । डेंगीको संक्रमण वर्षेनी बढ्दै गइरहेको चिकित्सकहरूले बताएका छन् । विगतको तथ्याङ्कका आधारमा हेर्दा वर्षेनी डेंगी संक्रमण बढिरहेको उनीहरूको दाबी छ । स्वास्थ्य मन्त्रालयको तथ्याङ्क हेर्ने हो भने गत वर्षको तुलनामा यस वर्ष हरेक महिनामा कम संक्रमित फेला परेका छन् । तर सङ्क्रमणको जोखिम कम भने नरहेको सरकारले बताएको छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका वरिष्ठ सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले प्रत्येक आउट ब्रेकसँगै थप कडा रूपमा डेंगी प्रस्तुत भइरहेको बताए । उनले आगामी वर्षहरू झनै चुनौतीपूर्ण बन्ने बताए । उनले यस वर्ष तनहुँमा आउट ब्रेक भएको बताए । 

काठमाडौं, तनहुँ, पर्वत, ललितपुर चितवन जिल्ला डेंगीबाट बढी प्रभावित भएका जिल्लाहरू हुन् । गण्डकी प्रदेशमा देशभर देखिएको डेंगीका केसहरूमध्ये ५० प्रतिशत केस फेला परेका छन् । अहिलेसम्म हुम्ला बाहेकका सबै जिल्लामा डेंगी फैलिसकेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको भनाइ छ । त्यस्तै डेंगी लागेका १२ जनाको पनि गत जनवरी यता मृत्यु भएको छ । अहिलेसम्म २८ हजार २१२ जनामा संक्रमण भएको सरकारको तथ्याङ्क छ । न्युज एजेन्सी नेपालसँगको कुराकानीमा उनले कोभिड सकिएपछि डेंगी झनै घातक भएर आएको र आगामी वर्षहरूमा महामारीको रूप लिन सक्ने चेतावनी दिए । डेंगीले सताइरहँदा समेत आम सर्वसाधारणमा भने चासो दिएर हेरचाहमा नलागेको गुनासो उनको छ । 

आगामी वर्षहरू हाम्रा लागि चुनौतीपूर्ण छन्
विगतको तथ्याङ्कलाई आधार मान्ने हो भने डेंगीको संक्रमण दर वर्षेनी बढ्दो छ । वर्षेनी प्रकोप सँगसँगै यसले सङ्क्रमितको सङ्ख्या बढाइरहेको अवस्था छ । यसले मृत्युदर पनि बढाइरहेको छ । सीमित ठाउँमा पहिला देखिने गरेको डेंगी अहिले हरेक ठाउँमा गइरहेको छ । पछिल्लो समय तनहुँमा जुन आउटब्रेक भयो भनिएको छ, यसले पनि के सङ्केत गरेको छ भन्दा नेपालको कुनै पनि ठाउँमा एडिस प्रजातिको लामखुट्टेले सहज तरिकाले जीवन चक्र चलाइरहेको ठाउँ रहेछ भने आगामी वर्ष कुनै पनि समयमा त्यहाँ ठूलो सङ्ख्यामा महामारी निम्त्याउन सक्छ भन्ने सङ्केत अहिले तनहुँको आउटब्रेकले देखाइरहेको छ । कोभिड सकिने बित्तिकै डेंगी झन् घातक रूपमा प्रस्तुत भएर आएको छ । प्रत्येक आउट ब्रेकसँगै थप कडा रूपमा डेंगी प्रस्तुत भइरहेको अवस्था छ । यसलाई नै एउटा आधार मान्ने हो भने आगामी वर्षहरू हाम्रा लागि चुनौतीका वर्षहरू छन् । 

संवेदनशील मानिसहरू सङ्क्रमणमा परेका छन्,डेंगी नियन्त्रणमा लागौँ
डेंगीको संक्रमण जति फैलिँदै गयो, त्यति नै कठिन हुन्छ । त्यस मानेमा संवेदनशील मानिसहरू सङ्क्रमणमा बढी परिरहेका छन् । ज्येष्ठ नागरिक, दीर्घरोगीहरु संवेदनशील समूहमा पछन् । संक्रमण जति धेरै बढ्दै गयो, त्यति नै त्यसको अनुपातमा यो घातक स्वरूपमा प्रस्तुत भइरहेको अवस्था छ । डेंगी आगामी दिनमा घातक महामारीको रूपमा आउने अवस्था देखिन्छ । अहिलेदेखि नै हामीले डेंगी नियन्त्रणमा लाग्नुपर्छ । क्याम्पेनहरु गर्नुपर्छ । तर अहिले हामी त्यति चिन्तित भएको देखिँदैन ।

डेंगीलाई सर्वसाधारणले गम्भीरताका साथ लिएनन्
कतै न कतैबाट प्रचारप्रसार भई नै रहेको छ । तर गम्भीरताका साथ हामी सर्वसाधारणले नलिएको हो की भन्ने मेरो बुझाइ छ । कति बेला लिने ? अहिले नलिए कहिले लिने ? यो प्रश्न छ । प्रचार प्रसारको अभियानलाई अझ आक्रामक रूपमा अघि बढाउनुपर्छ । जति गरे पनि भएन भन्ने नभई अहिलेको भन्दा दुई गुणा, तीन गुणा प्रचारप्रसार गर्नुपर्छ । 

आक्रामक प्रचारप्रसार गरौँ
पछिल्लो समय सर्वसाधारणले डेंगी सङ्क्रमणलाई खासै वास्ता गरेको देखिएन । शून्य मृत्युदरको लक्ष्य हामीले राख्नुपर्छ । संक्रमण नै नहुनका लागि सम्भवतः सर्वसाधारणको तर्फबाट पनि चासो नदिएको अवस्था र सरकारबाट पनि आक्रामक प्रचारप्रसारका लागि ध्यान नदिएको अवस्था छ । यो रोग फैल्याउनेलाई कसरी टार्गेट गरेर नष्ट गर्ने, लामखुट्टेको लार्भालाई ? भन्ने कुरामा सर्वसाधारणले त्यति चासो दिएको छैन । यस्ता रोगहरू फैलिनुको एउटा मुख्य कारण छिटो बेवास्ता गर्नु पनि हो । 

डेंगीबाट विश्व नै प्रभावित हुँदैछ
डेंगीबाट नेपाल मात्रै नभई विश्व नै प्रभावित हुनेवाला छ । नेपालले चाह्यो भने रोल मोडलको रूपमा काम गर्न सक्छ की भन्ने मेरो एउटा सोच थियो । हामीले चाहेर मात्रै हुँदैन, यसमा सर्वसाधारणले नै चनाखो हुनुपर्छ । डेंगीबारे हेलचेक्राँई छ । तर तारनतार वान्ता हुनु, पेट असाध्यै दुख्नु, नाक र गिजाबाट रगत बगेको छ । थकित अवस्था छ भने अस्पताल जानुस्, घरमा नबस्नुस् । त्यो डेंगीको चेतावनी हो ।



नयाँ