arrow

सरकारको बेवास्तामा डेंगी, चपेटामा बिरामी, संख्या साढे १७ हजार नाघ्यो, २१ को मृत्यु  

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज ४ मंगलबार
dengue-1.jpg

काठमाडौं । नेपालमा तीन तहका सरकार सक्रिय छन् । तर ती सरकार के का लागि सक्रिय छन् भन्ने प्रश्न सर्वसाधारणमा उत्तिकै खड्किएको छ । विशेषगरी नेपालमा डेंगी महामारीले सबैजसो जिल्लालाई घेरिसकेको छ । तर पनि तीन तहका सरकार मौन जस्तै छन् । 

केहीलाई छाड्ने हो भने डेंगी कुनै रोग नै हैन जसरी व्यवहार सरकारहरुले गरेका छन् । कतिपय जिल्लामा त डेंगी परीक्षण गर्ने किट्कै अभाव भइसकेको छ । हाल बिरामीको संख्या साढे १७ हजार नाघेको छ । 

टोलटोलमा परीक्षण गर्ने हो भने यो संख्या लाखौंमा देखिने दाबी जनस्वास्थ्यकर्मीहरुको छ । दैनिक हजारको हाराहारीमा संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत साउनदेखि हालसम्म देशभर डेंगी बिरामीको संख्या १७ हजार ५९४ पुगेको छ । 

हालसम्म डेंगीका कारण २१ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । देशका ७७ मध्ये ७५ जिल्लामा डेंगीका बिरामी भेटिएका छन् । 

पहिले तराईका केही जिल्लामा देखिने गरेको डेंगी अहिले हिमाली जिल्लाहरुमासमेत सताइरहेको छ । २०६१ सालमा पहिलो पटक नेपालमा डेंगीका बिरामी देखिएका थिए । त्यसपछि नेपालमा प्रत्येक वर्ष डेंगी देखिएको छ । 

मन्त्रालयका अनुसार सबैभन्दा बढी डेंगीका बिरामी बागमती प्रदेशमा देखिएका छन् । बागमतीमा हालसम्म १२ हजार ९४७ जनामा डेंगी देखिएको छ । 

यस्तै, प्रदेश १ मा ५६०, मधेश प्रदेशमा २६१, गण्डकीमा ४०९, लुम्बिनीमा २ हजार ६४३, कर्णालीमा २०७ र सुदूरपश्चिम प्रदेशमा ५६७ जनामा डेंगी देखिएको मन्त्रालयले जनाएको छ । 

डेंगी लामखुट्टेबाट सर्छ । तर लामखुट्टेका लार्भा मार्नका लागिसमेत स्थानीय तहहरुले कुनै पहलसमेत गरेको पाइँदैन । 

डेंगी भएमा अपनाउनै पर्ने यी २० सावधानी – डा. रवीन्द्र पाण्डे



नयाँ