arrow

बेगनास-रुपा पम्प जलाशययुक्त जलविद्युतका लागि रु २० अर्ब लाग्ने

logo
रासस
प्रकाशित २०७९ असोज ६ बिहिबार
Rupa-begnas.jpg

पोखरा । नेपाल विद्युत् प्रधिकरण, इञ्जीनियरिङ सेवा निर्देशनालय आयोजना विकास विभागले पोखराको लेखनाथस्थित बेगनास-रुपा पम्प जलाशययुक्त जलविद्युत् आयोजना सञ्चालन गर्नका लागि हालसम्म गरिएको वातावरण तथा सामाजिक अध्ययन प्रगति विवरण सार्वजनिक गरेको छ । 

विभागले वातावरण तथा सामाजिक क्षेत्रमा हालसम्म भएका अध्ययन प्रगतिका बारेमा बुधबार पोखरामा सरोकारवालासँग अन्तक्र्रियात्मक कार्यक्रम गरी सार्वजनिक गरेको हो । नेपालमै पहिलो प्रयोगमा बेगनास-रुपा पम्प जलाशययुक्त जलविद्युत् आयोजना सञ्चालन गर्नका लागि प्राधिकरणको रु २० अर्ब  खर्च लाग्ने प्राधिकरणका उपनिर्देशक रामजी भण्डारीले जानकारी दिए ।

उक्त जलाशययुक्त आयोजनाबाट १५० मेगावाट जलविद्युत् उत्पादन हुने जानकारी सो अवसरमा दिइएको थियो । विसं २०७४ मा  सरकारबाट सर्वेक्षण अनुमतिपत्र प्राप्त गरी प्राधिकरणले जलविद्युत् सञ्चालन गर्न वातावरणीय तथा सामाजिक अध्ययन कार्य अगाडि बढाएको थियो ।

बेगनास तालमा भइरहेको पानीको सतहलाई एक मिटर बढाइ सङ्कलित गरिएको पानीलाई एक किलोमिटर सुरुङ मार्गमार्फत रुपातालको छेउमा विद्युतगृह निर्माण गरी गृहबाट निस्केको पानी रुपातालमा लगेर खसाल्ने र पुनः रुपातालको पानी पम्पमार्फत बेगनासमा नै ल्याइने योजनाका साथ प्राधिकरण निर्माणमा अगाडि बढेको छ । 

उक्त आयोजनाबाट ‘पिकआवर’ अर्थात साँझको समयमा दैनिक चार घण्टा विद्युत् निकाल्न सकिन्छ, यसले पिकआवरमा हुने विद्युत् अभावलाई केही मात्रामा सहयोग पुर्याउने जानकारी प्राधिकरणका प्राविधिक प्रकाश गौडेलले जानकारी दिए । बेगनास तालभन्दा रुपातालमा रहेको पानीको सतह ६८ मिटर गहिराइमा भएकाले रुपातालमा  विद्युतगृह सञ्चालन गर्न सजिलो भएको छ । 

दैनिक अधिकतम साँझ ५ बजेदेखि ९ बजेसम्म विद्युत उत्पादन गर्न सकिने र यस समयमा बेगनासको पानीको सतह एक मिटरले कम हुने छ राति १२ देखि भोलिपल्ट बिहान ४ बजेसम्म रुपातालमा जम्मा भएको पानी पुनः बेगनासतालमा पम्पमार्फत तानिने छ । बेगनास भन्दा रुपाताल सानो भएकाले बेगनासको पानीको सतहभन्दा एक मिटरमाथिको पानी रुपामा अहिले भइरहेको पानीको सतहभन्दा तीन मिटर उचाइमा पुग्ने छ । 

यसेबीच सरोकारवाला निकायका व्यक्तिले वातावरणीय तथा सामाजिक प्रभाव नहुने गरी जलविद्युत आयोजना सञ्चालनमा ल्याउन आग्रह गरेका छन् । एक अन्तरक्रियामा स्थानीय सरकोकारवालासमेत रहेका पूर्व स्वास्थ्य तथा गृहमन्त्री खगराज अधिकारीले जलचरमा पर्ने असरलाई कम गर्दै तालबाट हुने सिँचाइ, डुङ्गा व्यवसायी तथा स्थानीयवासीलाई असर नपुग्ने गरी आयोजना सञ्चालन गर्नुपर्नेमा जोड दिए । 

प्राधिकरणले आफ्नो स्वार्थभन्दा पनि स्थानीयवासीको स्वार्थलाई मध्यनजर गर्दै आयोजना अगाडि बढाउनुपर्ने र प्राधिकरणले ठाउँठाउँमा पानीको फोहरा राखेर बेगनासमा पर्यटकलाई एक रात बिताउने गरी संरचना पनि खडा गरिदिनुपर्नेमा उनले जोड दिए ।  

गण्डकी प्रदेश सरकारका पर्यटन, उद्योग तथा वाणिज्यमन्त्री मणिभद्र शर्मा कँडेलले स्थानीय जनताको सहमति र उनीहरूलाई नै रोजगारीमा सहभागी गराई आयोजना सञ्चालन गर्न आग्रह गरे । गण्डकी प्रदेशका ऊर्जा सचिव डा सन्तोष कैनीले ‘पीक आवर’का समयमा विद्युत् उत्पादन गर्नका  लागि भनेर आयोजनाले घाटाको योजना सञ्चालन गर्न नहुने बताए ।

स्थानीयवासी तथा रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझाले विद्युत आयोजनाका नाउँमा बस्ती नै डुब्ने सिञ्चाइ नै बन्द हुने किसिमबाट आयोजना सञ्चालन हुन नुहने बताए । साथै उनले वातावरणीय असर केही पनि नहुने किसिमबाट योजना सञ्चालन गर्नुपर्नेमा जोड दिए । 

स्थानीय सरोकारबाला तथा बेगनास सिञ्चाइ  सरोकार समितिका पूर्व अध्यक्ष पुष्पराज भण्डारीले बेगनास तालको पानीले आठ सय ८० हेक्टर जमिन सिँचाइ भएको र विद्युत आयोजना सञ्चालन हुँदा स्थानीय उपभोक्ता सिँचाइबाट बञ्चित हुन नहुने बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ