arrow

मनास्लु हिमपहिरो  : एकको मृत्यु,  दश जनाको सकुशल उद्धार

logo
दीपक श्रेष्ठ,  
प्रकाशित २०७९ असोज ११ मंगलबार
Manaslu-Region_file_photo.jpg

गोरखा ।  उत्तरी गोरखाको मनास्लु हिमालको तेस्रो आधार शिविरमा सोमबार बिहान गएको हिमपहिरोमा परी बेपत्ता भएकामध्ये एक जनाको मृत्यु भएको छ भने १० जनाको सकुशल उद्धार गरिएको छ । मृत्यु हुनेमा सङ्खुवासभाका अनुप राई रहेका जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी उपरीक्षक केदार खनालले जानकारी दिए ।

मृतक राईको शव आधार शिविरबाट उद्धार गरेर काठमाडौंको टिचिङ अस्पताल लैजाने तयारी भइरहेको उनले बताए । हिमपहिरोमा परेका अन्य १० जनाको भने सकुशल उद्धार गरिएको प्रउ खनालले जानकारी दिए । सोमबार अबेरसम्म चार जनाको उद्धार गरिएको र थप छ जनाको आज बिहान उद्धार गरिएको उनले बताए ।

आज बिहानैदेखि हेलिकोप्टरमार्फत पुगेको उद्धार टोलीले हिमपहिरोमा परेका निमादोर्जे शेर्पा, दावा शेर्पा, फुरिता शेर्पा, लाक्पा तामाङ, निमा शेर्पा र फुर्ते शेर्पाको उद्धार गरेर सामागाउँ ल्याइएको प्रउ खनालले जानकारी दिए । 

“सामागाउँसम्म ल्याइएका सबै घाइतेलाई उपचारका लागि बिहानै काठमाडौँ पठाइएको छ”, उनले भने, “उनीहरूको राजधानीस्थित करुणा अस्पतालमा भर्ना गरी उपचार सुरु भएको छ ।”

पहिरोमा परी उद्धार गरिएका दुई जनाको अवस्था भने सामान्य भएकाले उनीहरू आधार शिविरमा नै बसेर काम गरिरहेको उनले बताए । हिमपहिरोमा परेकाको उद्धारका लागि आज बिहान सिम्रिक एयरको दुई वटा, कैलाश र एभरेस्ट एयरको एक-एक गरी चार हेलिकोप्टर परिचालन गरिएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ