arrow

चुनावको मौकामा पुलिसलाई चौका, १८० गाडी किन्दै

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज २८ शुक्रबार
Nepal-police_HQ.jpeg

काठमाडौं । नेपाल प्रहरीले निर्वाचन प्रयोजनका लागि एक सय ८० वटा गाडी खरिद गर्न लागेको छ । ४ मङ्सिरमा हुने प्रदेश र प्रतिनिधिसभाको चुनावका लागि प्रहरीले १ सय ८० वटा नयाँ गाडी खरिद गर्ने भएको हो । 

प्रहरीले टाटा पिकअप र स्कारपियो गाडी किन्न लागेको हो । प्रहरीले ७५ करोड रुपैयाँको बराबरको गाडी किन्न लागेको हो । जसमध्ये महेन्द्रा कम्पनी र टाटा कम्पनीमार्फत गाडी खरिद हुने भएको हो । स्कारपियो ८० वटा र टाटाको पिकअप एक सय गाडी खरिद गर्न लागेको हो । महेन्द्रा र टाटा कम्पनीले कात्तिक तेस्रो सातासम्म गाडी प्रहरीलाई बुझाइ सक्नेछन् । 

‘नेपाल प्रहरीले महेन्द्रा कम्पनी र टाटा कम्पनीमार्फत गाडी खरिद गर्न लागेको हो’, प्रहरी प्रवक्ता डिआइजी टेक प्रसाद राईले भने । प्रहरी प्रधान कार्यालयले चुनावका लागि १ हजार ७ सय नयाँ गाडी आवश्यक रहेको प्रस्ताव गृह मन्त्रालयलाई पठाएको थियो । जसमध्ये अर्थ मन्त्रालयबाट एक सय ८० मात्रै नयाँ गाडी खरिदका लागि बजेट उपलब्ध गराएपछि खरिदको प्रक्रिया अघि बढाएको थियो । सोही बजेटबाट एक सय ८० गाडी खरिद हुन लागेको हो । 

प्रहरीका लागि चुनावमा अझै एक हजारभन्दा बढी गाडी अपुग छ । अपुग गाडी भने भाडामा प्रयोग गर्ने प्रवक्ता राईले बताए । स्थानीय चुनावमा पनि प्रहरीले १२ सय गाडी भाडामा प्रयोग गरेको थियो । प्रहरीले गाडी बाहेक सञ्चार उपकरण पनि खरिद गर्न लागेको छ । ‘सञ्चार सेट र ब्याट्रीहरू पनि खरिदको तयारी भइरहेको छ’, प्रहरी प्रधान कार्यालय स्रोतले भन्यो । 

प्रहरीले सवारी साधनको अतिरिक्त जनशक्ति र हातहतियार व्यवस्थापनमा पनि लागेको छ । प्रहरीलाई चुनावका लागि प्रयोग गर्न साना हतियारको समेत अभाव छ । स्थानीय चुनावमा प्रहरीले नेपाली सेनासँग २ हजार पेस्तोल भाडामा लिएको थियो । सङ्घ र प्रदेशको चुनावमा समेत प्रहरीले पेस्तोल सेनाबाट लिन लागेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

‘अहिले पनि हामीले सेनालाई अनुरोध गरेका छौ’, प्रहरी प्रधान कार्यालय एक डिआइजीले भने । उनका अनुसार नेपाल प्रहरीले हतियार खरिद गर्न नसक्दा सेनासँग सापटी लिनु परेको हो । सेनाले पनि निर्वाचन प्रयोजनका लागि नेपाल प्रहरीलाई हतियार दिने जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ