arrow

स्वर्णिम अर्थतन्त्रको लागि संसदमा स्वर्णिम 

logo
अधिराज रेग्मी,
प्रकाशित २०७९ कार्तिक २ बुधबार
adhiraj-regmi-article-swarnim.jpg

नेपाली राजनीतिक इतिहासमा प्रजातान्त्रीकरण र समावेशी विकासका लागि गरेको  सङ्घर्षको फलस्वरूप हामी अहिले गणतन्त्रात्मक व्यवस्थाको अभ्यास गर्दैछौँ । २०६२–६३ को दोस्रो जनआन्दोलनको सफलतापछि ०६३ मा भएको बृहत् शान्ति सम्झौता पश्चात् हाम्रो ऊर्जा संविधान लेखनमै पूर्ण केन्द्रित रह्यो । व्यवस्थाको लडाइँ, संविधान लेखन र सङ्घीयताको प्रारम्भिक कार्यान्वयन पश्चात् अर्को निर्वाचनको तयारीमा देश होमिँदै छ । 

यी विभिन्न संलग्नता र उल्झनबीच हाम्रो अर्थतन्त्रले भने अपेक्षित रूपमा फड्को मार्न सकेन । अर्थतन्त्रको कछुवा कुदाइप्रति पार्टीहरूको दोषारोपण त दिनचर्या नै भएको हामी सबैमा सर्वविदितै छ । यही अवस्थाले हैरान, निराश भएका नेपाली जनता कहिले स्वतन्त्रको विकल्प रोज्दै छन् भने कोही पार्टीतन्त्रबाटै नयाँ अनुहारको खोजीमा तल्लीन छन् ।

हामीले राजनीतिक रूपमा प्राप्त गर्नु पर्ने उपलब्धि मोटामोटी पूरा गरेका छौँ । तर उपलब्धिको जगलाई आधार बनाएर आर्थिक सबलीकरण, पूर्वाधार विकास, भ्रष्टाचार निर्मूल गर्ने कुरामा चुक्नाले ती सारा उपलब्धिको प्रत्यक्ष लाभ जनमानसले चाख्न पाएको छैन । आर्थिक सम्मुन्नतिका लागि सयौँ नेतालाई परीक्षण गरिसकेका नेपाली जनताले राष्ट्रिय–अन्तर्राष्ट्रिय अर्थ जानकार, विकास अर्थशास्त्री र अनुभवी स्वर्णिम वाग्लेलाई पक्कै मौका दिनु पर्दथ्यो । तर त्यसो भएन । आउँदै गरेको मंसिर ४ को चुनावको टिकट वितरणमा उनले रोजेको लोकतान्त्रिक पार्टी नेपाली कांग्रेसले उनलाई किनारा लगाइदियो । 

किन चाहिन्छ स्वर्णिम ?
स्वर्णिम अर्थतन्त्रको लागि चाहिन्छ स्वर्णिम । पहिलो, अन्तर्राष्ट्रिय बजारमा अनुभव र विज्ञता राख्ने एक मात्र नेपाली पक्कै हैनन् स्वर्णिम । तर कयौँ विज्ञ भनिएकाहरू यस रणमैदानमा असफल भैसकेका छन् । किनभने राजनीतिमा प्राविधिक विज्ञता मात्र अपुग हुन्छ । र हामीले स्वर्णिम वाग्लेलाई प्राविधिक विज्ञको रूपमा मात्र मूल्याङ्कन गर्यौं भने त्यो उनको अनुभव र व्यक्तित्वलाई अन्याय हुन्छ । 

गोर्खाको विकट गाउँबाट शैक्षिक अवसरका सिलसिलामा काठमाडौँ पुगेका उनलाई गाउँले, शहरिया, अन्तर्राष्ट्रिय जीवनको मिश्रित अनुभव छ । यसको तात्पर्य उनले गाउँ र शहर दुवैको धरातलीय अवस्था राम्ररी बुझेका छन् र यो बुझाइ उनको अध्ययनबाटमात्र हैन आफैं अनुभव गरेर आएको हुँदा वास्तविकतासँग नजिक छ । यस खालको मिश्रित वातावरणमा उदाएका कमै नेता भेटिन्छन् । र त्यस्तो नेताको राष्ट्रिय राजनीतिमा संसदमा चरम खाँचो छ । 

दोस्रो, स्वर्णिम नेपाली राजनीतिका लागि नयाँ अनुहार हैनन् । विदेशमा जागिर खाएर एकाएक टपक्क आउने विज्ञमा उनी पर्दैनन् । राजनीतिक रूपमा सानैदेखि दख्खल राख्ने उनी ४० को दशकदेखिनै नेपाली राजनीतिमा गहिरो चिन्तन राख्थे । आफ्नो अनुभवलाई आफ्नै माटोमा खन्याउन उनले १० वर्षअघि नेपाल आएर योजना आयोगको नेतृत्व गरे र छोटो कार्यकालमा उल्लेखनीय कामहरू सम्पन्न गरे ।

त्यस अन्तर्गत भूकम्पको समयमा विश्वासिलो क्षति आंकलन पश्चात् अन्तर्राष्ट्रिय सम्मेलनको आयोजनामार्फत ४०० अर्बको प्रतिबद्धता ल्याउने भूमिका ऐतिहासिक थियो । अन्तर्राष्ट्रिय संस्थाहरूको महत्त्वपूर्ण जिम्मेवारीबाट विश्राम लिँदै नेपालमा योजना आयोगमा काम गर्न आउनु साहसी निर्णय थियो । त्यस्तो जोखिम सायदै कसैले लिन्छ जुन वाग्लेले लिए । यसबाट उनको साहस, देशमै केही गर्ने हुटहुटी र पहिला देश भन्ने मनोचिन्तन प्रस्ट देखिन्छ । 

तेस्रो, संसारका २५ भन्दा धेरै देशमा विभिन्न संस्थाको महत्त्वपूर्ण जिम्मेवारी निर्वाह गरेका उनले विशेषगरी आफ्नो भूमिकालाई विकास अर्थशास्त्रकै वरिपरि राखे । यसले गर्दा उनलाई नेपालको अब्बल अर्थशास्त्री भनेर संसारले चिन्यो जस अनुरूप चाहे त्यो श्रीलङ्काको सङ्कटमा विज्ञको रूपमा बोलाइनु वा भारतको आयोजनामा प्रतिष्ठित अर्थशास्त्रीहरूको भेटमा बोलाइनु, उनको बौद्धिकतालाई संसारले अनुमोदन गरेको छ । विडम्बना हामीले अहिले उनलाई एउटा सांसदको  टिकटमा पत्याउन सकेनौँ । 

चौथो, स्वर्णिमले कमाएको अन्तर्राष्ट्रिय ख्यातिलाई हामीले पुँजीकरण गर्न सक्नुपर्छ । विदेशी दातादेखि अन्तर्राष्ट्रिय लगानीकर्तासँग भएको पहुँचलाई स्वर्णिमद्वारा हामीले उपयोग गर्नुपर्छ । प्रत्यक्ष वैदेशिक लगानीले धेरै देशमा चामत्कारिक परिवर्तनहरू ल्याएको छ र हामीले पनि उदारीकरणको यो महत्त्वपूर्ण विशेषतालाई अङ्गीकार गर्नैपर्छ । त्यसको माध्यम हुन सक्छन् स्वर्णिम वाग्ले । 

पाँचौँ, उनको जस्तो अंग्रेजी–नेपाली दुवै भाषामा उत्तिकै धाराप्रवाह बग्ने नेता विरलै भेटिन्छन् । दुवै भाषामा किताब छापिसकेका र स्तरीय अन्तर्वार्ता दिएका  उनको वक्तित्व र लेखन सुन्ने–पढ्नेलाई मन्त्रमुग्ध बनाउन सक्छ । बौद्दिकतालाई उनले आफ्नो बलियो भाषा–पकडद्वारा जश दिएका थिए ।  

चाहे त्यो १७ वर्षको ठिटोको होस् या ६० वर्षको वृद्धको उनले जन अपेक्षा राम्ररी बुझेका छन् । उनकै भाषामा भन्दा जनसांख्यिक लाभांश अबको दश वर्षमात्र रहने र बुढ्यौली समाजतर्फ ढल्किने हुँदा अहिले हामीले नीतिगत सुनिश्चिततासहित प्रणाली सुधारमा जोड दिने पर्ने हुन्छ । हामीलाई  कस्तो नेता चाहिन्छ भनेर हामीले आफैंलाई प्रश्न गरौँ ।

संसदमा निडर आवाज भएको, अध्ययनशील, ज्ञानी, पारदर्शी, देशलाई प्रतिनिधित्व गर्न सक्ने, उदार र लोकतन्त्रवादी भन्ने उत्तर आउँछ जुन स्वर्णिम थिए । त्यसका लागि  स्वर्णिम यो पल्ट नै संसदमा पुग्नुपर्दथ्यो । निर्वाचित भएर उनलाई संसदसम्म पुर्याउँदा एउटा खुड्किलो पार हुन्थ्यो । संसदमा छलफलको स्तर बढ्थ्यो  र हामीलाई परिष्कृत कानूनहरू बनाउन मद्दत हुन्थ्यो । 

यो मौका त गुमाइयो तर राष्ट्रिय सभाको ढोका बन्द भएको छैन । नेपाली कांग्रेस नेतृत्वले अब गल्ती दोहोर्याउनु हुँदैन र राष्ट्र सभा मार्फत उनलाई कार्यकारी भूमिका ल्याउन सके देशले केही न केही प्रतिफल पक्कै पाउँछ । स्वर्णिम साँच्चिकै स्वर्णिम छन् । हामीले उनको यो स्वर्णिमताको सदुपयोग गर्नुपर्छ । (लेखक हाल क्यालिफोर्नियाको सान होजे विश्वविद्यालयमा अर्थशास्त्रमा स्नातकोत्तर अध्ययनरत छन्) 
 



नयाँ