arrow

प्रहरी उपरीक्षक बोगटी अर्बपतिको चारा खान पल्कँदा १५ सय मजदूरको दिपावली र छठ खल्लो 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक ५ शनिबार
majdoor-attack.jpeg

बारा । जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक होबिन्द्र बोगटीको रकमी खेलका कारण लगभग १५ सय मजदूरले दिपावली र छठ राम्ररी मनाउन नपाउने भएका छन् ।

वैश्विक महामारीको समयमा ‘पास’ दुरूपयोग गरी जुवाको खालबाट गिरफ्तार भई पाँच दिन थुनामा बसेका अर्बपति रामचन्द्र संघाईको सानो ‘चारा’ मा फसेर बोगटीले चुनाव जस्तो महत्वपूर्ण समयमा आफ्नो हर्कतले सरकारलाई बदनाम मात्र गराएका छैनन् बारा पर्सामा वाम लोकतान्त्रिक गठबन्धनलाई क्षति पुर्याउने कामसमेत गरेका छन् ।

बोनसको कुरालाई लिएर त्रिवेणी स्पिनिङ मिलका व्यवस्थापन पक्ष र मजदूरहरूबीच दशैँताकादेखि नै विवाद चलिरहेको थियो । तिहार अगाडि बोनस सम्बन्धी समस्या समाधान गर्न व्यवस्थापन पक्षले मजदूरहरूलाई अश्वासन दिएको भएता पनि पूरा गरेन । 

बुधबार बेलुका उद्योगतर्फ प्रबन्धक अशोक शर्मा, महाप्रबन्धक सतिश शर्मा, प्रविधिक शाखा प्रमुख एमके दास, उद्योग व्यवस्थापक प्रेमकुमार सिंह, प्रशासकीय अधिकृत राजेश श्रेष्ठलाई मजदूरहरुले हाम्रो समस्या सामाधान नगरी तपाईहरु उद्योग परिसर बाहिर जान पाउनु हुन्न भनी अडान राखेर राति कारखाना बाहिर जान दिएनन् । व्यवस्थापन पक्ष राति आफू कार्यरत भवनमै रात बिताउन बाध्य भए ।

बिहीबार त्रिवेणी स्पिनिङका प्रोप्राइटर एक उद्योग वाणिज संघका उपाध्यक्ष रामचन्द्र संघाई आफैं जिल्ला  प्रहरी कार्यालय बारामा गई प्रहरी उपरीक्षक होबिन्द्र बोगटीलाई भेट्न पुगे । 

संघाईसँग ब्याग बोकेको एक जना मान्छे पनि साथमा रहेको स्रोतको दाबी रहेको छ । प्रहरी उपरीक्षक बोगटीसँग भेटेर रामचन्द्र संघाई होटेल इच्छामा आराम गर्न गए भने बोगटी आफ्नो कमाण्डमा लगभग डेढ सय फोर्स लिएर आफैँ अश्रु ग्यासको गोला पड्काउँदै महिला तथा पुरुष मजदूरहरूमाथि अन्धाधुन्ध लाठी प्रहार गरी व्यवस्थापन ब्लकमा आराम गरिरहेका सबैलाई बाहिर ल्याए ।

बोगटीले मिडियामा बन्धक राखिएका कर्मचारीलाई छोडाउन जाँदा लगभग एक दर्जन प्रहरी घाइते भएको र प्रहरीमाथि आक्रमण गर्न खोज्ने ७ जनालाई गिरफ्तार गरी ल्याएको जानकारी गराए ।

प्रहरीको लाठी प्रहारबाट घाइते भएका मजदूरहरूको विवरण बोगटीले सार्वजनिक गर्न मानेनन् । शुक्रबार गिरफ्तार गरेका मजदूरलाई छोडाउन कलैया जान हिंडेका मजदूरहरूलाई गण्डक नजिकै बीच बाटोमा जबरजस्ती बस रोकेर पैदल हिंडाएको भिडियो सामाजिक संजालमा सम्पूर्ण नागरिकले हेरेर प्रहरीको निन्दनीय कार्यलाई भत्सर्ना गरेका छन् ।

प्रहरी उपरीक्षक बोगटीले संजयकुमार यादव, ओमप्रकाश मिश्र, राजेश यादव, अमलेश पाण्डे, बृजकिशोर साह र सोनालाल यादवलाई अभद्र व्यवहार गरेको भनी मुद्दा चलाएका छन् ।

होबिन्द्र बोगटीको आफ्नो तिहार सपार्ने र मजदूरको चाडपर्व बिगार्ने अमानवीय कर्तुतको बारेमा गृहमन्त्री बालकृष्ण खाँडलाई स्थानीय नेताहरूको माध्यमबाट जानकारी भएपछि हिरासतमा रहेका मजदूरहरू आइतबार रिहा हुने भएका छन् ।

बोगटीले मजदूरहरूमाथि दमन गर्नको निम्ति जिल्ला प्रहरी कार्यालय बारासहित सिमरा, जीतपुर, परवानीपुर र सशस्त्र प्रहरीबलबाट नपुगेपछि जिल्ला प्रहरी कार्यालय पर्साबाटसमेत थप मद्दत मागेका थिए ।

प्रहरीको दमनमा परी अनिलकुमार यादव, नासिर हुसैन, रीमाकुमारी चौधरी, निर्मला महतो धाँगर, भागवत महतो चौहानसहित एक दर्जन मजदूरहरू घाइते भएको बुझिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ