arrow

देउवा, प्रचण्ड र नेपालको एउटै बोलीः संविधान र गणतन्त्र रक्षाका लागि गठबन्धन

logo
सुनील आउजी, 
प्रकाशित २०७९ कार्तिक ६ आइतबार
gathabandhan-deuba-prachanda-madhav-2079-07-06.jpg

धनगढी । सत्ता गठबन्धनका शीर्ष नेताहरुले संविधान र गणतन्त्र रक्षाका लागि गठबन्धनका उम्मेदवारलाई विजय गराउन आग्रह गरेका छन् । उनीहरुले आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि अहिले देशमा एउटा संविधान पक्षधर अर्को संविधान विरोधी गठबन्धन बनेको बताए ।

आइतबार सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीमा पाँच दलीय गठबन्धनद्धारा आयोजित प्रदेश स्तरीय कार्यकर्ता भेला तथा प्रशिक्षणमा सम्बोधन गर्दै नेताहरुले सत्ता गठबन्धन संविधान पक्षधर रहेकाले आगामी निर्वाचन यस गठबन्धनलाई विजयी गराउन आग्रह गरे । 

कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधान, गणतन्त्र र संघीयता बचाउन गठबन्धका पक्षमा भोट हाल्न आग्रह गरे । 

उनले भने –‘२०७४ को निर्वाचनमा सुदूरपश्चिमबाट संघीय सांसदमा म एक्लो जितेको सांसद हुँ । तर गठबन्धन बनेर म अहिले प्रधानमन्त्री छु । त्यसैले पबित्र गठबन्धन बने सबैले अवसर पाउँछन् ।’ 

उनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल लगायतले संविधान र गणतन्त्र रक्षा गर्नका लागि आफूलाई साथ दिएकाले अहिले निर्वाचनमा उनीहरुसँगै गठबन्धन गरी अघि बढेको बताए । 

प्रधानमन्त्री देउवाले भने, ‘म कांग्रेसका साथीहरुलाई आग्रह गर्छु गठबन्धनमा आबद्ध दलका चुनाव चिन्हमा मतदान गर्न कुनै अप्ठेरो नमान्नुस् । ढुक्क भएर मतदान गरी गठबन्धनलाई जिताउनु होस् ।’ 

उनले निर्वाचनमा टिकटबाट बञ्चित भएका साथीहरुलाई निर्वाचनपछि विभिन्न अवसर प्राप्त हुने पनि बताए । यसैगरी भेलालाई सम्बोधन गर्दै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले १२ बुँदे शान्ति सम्झौतादेखि नै कांग्रेसले हसिँया हथौडा र माओवादीले रुखमा भोट हालिसकेकाले अहिले एक अर्कालाई भोट हाल्न कुनै अपठ्यारो नमान्न कार्यकर्तालाई आग्रह गरे । 

उनले भने, ‘‘नेपाली कांग्रेस र वामपन्थी मिल्दा देशमा ठूला परिवर्तन सम्भव भएकाले अहिलेको गठबन्धनले पनि संविधान र गणतन्त्रको रक्षा गर्ने छ ।’ उनले मंसिर ४ को निर्वाचन अग्रगमन र प्रतिगमन बीचको महासंग्राम रहेको बताउँदै अग्रगमनका पक्षमा मतदान गर्न अपील गरे ।

भेलालाई सम्बोधन गर्दै एकीकृत समाजवादीका अध्यक्ष नेपालले संविधान रक्षाका लागि आफूहरुले ठूलो विद्रोह गरेको बताए । उनले भने, ‘२०७४ सालमा सम्पन्न निर्वाचनले एमालेलाई ठूलो अवसर दिएको तर केपी ओलीको नेतृत्वले राम्रो गर्न नसकेपछि विद्रोह गरेर केपीलाई एक्लो बनाई कांग्रेससँग गठबन्धन गरेर संविधान र गणतन्त्रलाई बचायौं ।’

पूर्व प्रधानमन्त्रीसमेत रहेका नेता नेपालले अझै पनि संविधान र गणतन्त्रमाथि खतरा रहेकाले सत्ता गठबन्धनलाई विजयी गराउन आग्रह गरे । केही ठाउँमा उम्मेदवारबीच रहेका समस्या पनि चाँडै छलफल गरी टुंग्याइने उनको भनाइ छ ।
 
सोही कार्यक्रममा बोल्दै कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गठबन्धनका उम्मेदवारलाई सबै दलले आफ्नै उम्मेदवार ठानेर जिताउन आग्रह गरे । 

उनले भने, ‘यदि यो गठबन्धन सफल भएन भने राष्ट्रमाथि खतरा हुन्छ, त्यसैले सबै गठबन्धनका पक्षमा प्रतिबद्ध भई जिताउन लाग्नुहोस् ।’

कार्यक्रमको शुरुमा सम्बोधन गरेका राष्ट्रिय जनमोर्चाका कार्यकारी अध्यक्ष रश्मीराज नेपालीले आफ्नो पार्टी संघीयता विरोधी भए पनि गणतन्त्र बचाउन यस गठबन्धनमा सहभागी भएकाले गठबन्धनका उम्मेदवारलाई जिताउन आग्रह गरे । 

माओवादी केन्द्रको संयोजनमा भएको कार्यक्रममा सुदूरपश्चि प्रदेशका नौ वटै जिल्लाका गठबन्धनमा आवद्ध दलका अगुवा नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ