arrow

कम्युनिष्टको गढमा कार्की यसरी गर्छन् कांग्रेसले जित्ने दाबी

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक १४ सोमबार
bishnuraj-karki-bhaktapur-congress.jpg

भक्तपुर । भक्तपुर निर्वाचन क्षेत्र नं. २ (क) मा नेपाली कांग्रेसका प्रदेश सभा सदस्यका उम्मेदवार विष्णुराज कार्कीले यसपटक कांग्रेसले शानदार जित निकाल्ने दाबी गरेका छन् । 

२०७४ सालको निर्वाचन प्राविधिक कारणले झिनो मतले हारेको भन्दै कार्कीले यसपालिको चुनावमा भने कांग्रेसले शानदार जित निकाल्ने उनको दाबी छ । 

२० वर्षअघि विद्यार्थी राजनीतिबाट राजनीतिमा प्रवेश गरेका कांग्रेस महासमिति सदस्यसमेत रहेका काकी २०७४ को स्थानीय निर्वाचनमा मेयरका प्रत्यासी समेत थिए । 

कांग्रेसका लागि सूर्यविनायक क्षेत्र विगतदेखि नै चुनौतीपूर्ण मानिन्छ । अघिल्लो स्थानीय निर्वाचनदेखि प्रतिनिधि सभा तथा प्रदेश सभाको अंकगणितले कांग्रेस पछि रहेको यो क्षेत्रमा उम्मेदवार बनेका कार्कीसँग निर्वाचन तयारी, रणनीति र भावी योजनाको सम्बन्धमा केन्द्रित भइ गरिएको संवाद प्रस्तुत गरिएको छ । 

तपाई भक्तपुर २ (क) मा गठबन्धनको उम्मेदवार हुनुहुन्छ । चुनावी तयारीमा कसरी अगाडि बढाइरहनुभएको छ ?
हामीले विभिन्न कमिटीहरु गठन गरेर चुनावी प्रचारप्रसार अघि बढाइरहेका छौं । चुनाव परिचालन समिति, युवा परिचालन समिति, आर्थिक समिति, महिला परिचालन समिति लगायत समितिहरु बनेका छन् । सबै समितिले आ–आफ्नो जिम्मेवारी अनुसार काम गरिरहेका छन् ।  

हामीले पार्टी र गठबन्धन तथा जिल्ला, प्रतिनिधिसभा निर्वाचन क्षेत्र र प्रदेशसभा निर्वाचन क्षेत्र सबैको लागि उपयुक्त हुनेगरी समिति बनाएका छौं । समितिले व्यवस्थापन गरेअनुसार विभिन्न भेला आयोजना गर्ने, घरदैलो कार्यक्रम गर्ने लगायत कामहरु हुँदैछन् । हामी सकेसम्म धेरै मतदाताकहाँ पुग्नेगरी प्रचारप्रसार गरिरहेका छौं । सामाजिक सञ्जालको माध्यमबाट समेत प्रचारप्रसारलाई अघि बढाइरहेका छौं । 

तपाईले नेपाली कांग्रेसमा रहेर गरेको राजनीतिक योगदान के के हो ? 
हामी पुख्र्यौली रुपमै कांग्रेससँग आवद्ध भयौं । कांग्रेसको राजनीतिमा लागेकै कारण मेरो हजुरआमा थिरकुमारी कार्की २०१७ सालदेखि २०२२ सालसम्म जेलमा बस्नुभएको थियो मेरो बुबा स्व। श्यामबहादुर कार्की पनि यो क्षेत्रमा परिचित व्यक्तित्व हुनुहुन्थ्यो । उहाँ गाविसको अध्यक्ष, सुकुम्वासी आयोगको केन्द्रीय सदस्य तथा २० औं वर्षसम्म शिक्षकको रुपमा कार्य गर्नुभएको थियो । म आफैं पनि २०४९ सालमा नेपाल विद्यार्थी संघबाट स्ववियु चुनावमा लडेको थिए । नेविसंघको जिल्ला अध्यक्ष, केन्द्रीय सदस्य र उपत्यकाको संयोजक र नेविसंघको सहमतिमा नेपाली कांग्रेसको एघारौं महाधिवेशनमा जिल्ला सदस्य, बाह्रौं महाधिवेशनमा जिल्ला सचिव भएा । तेह्रौं र चौधौं महाधिवेशनमा म महासमिति सदस्यको रुपमा रहेको छु । पार्टीबाहेक मैलेसामाजिक अभियानताको रुपमा पनि काम गरेको छु । २०७४ सालको स्थानीय निर्वाचनमा सूर्यविनायक नगरपालिकाको मेयरमा थौरै मतले पराजित भएको थिएँ । पराजित भए पनि यो क्षेत्रका लागि मैले निरन्तर रुपमा काम गरिरहेको छु । स्वास्थ्य व्यवसायीको हिसाबले कोभिड महामारीको बेलामा गर्नुपर्ने यहाँको जनतालाई दिनुपर्ने स्वास्थ्य सेवाका म अग्रसर भएँ । यही कारणले यहाँका जनताले ममाथि विश्वास गर्ने आधार बनेको छ । त्यसैले आगामी निर्वाचनमा मैले नेपाली कांग्रेसको तर्फबाट प्रदेश सभा सदस्यका लागि उम्मेदवारी दिएको हुँ ।  

तर यो क्षेत्रमा त विगतदेखिनै एमालेको उपस्थिति बलियो छ नि ? 
मैले २०७४ सालको चुनाव पनि प्राविधिक कारणले मात्रै हारेको थिएँ । अहिलेको स्थानीय पनि त्यस्तै भयो । अहिले राष्ट्रिय रुपमा जुन गठबन्धन बनेको छ, यसको आवश्यकता र औचित्यबारे जनतालाई प्रष्ट रुपमा बुझाउन नसक्दा यसपटक समस्या भयो । अघिल्लो प्रतिनिधिसभा निर्वाचनमा यो क्षेत्रमा दमननाथ दाइ आउनुभएको थियो । उहाँको यो क्षेत्रबाट लड्ने ठाउँ अन्तिममा मात्रै निश्चित भएको हुँदा जनतासम्म पुग्न ढिला भएको थियो । त्यस्तै, नचिनेको भन्दा चिनेको मान्छेलाई भोट दिने भनेर स्थानीय मत विपक्षीलाई बढी गयो । यसको प्रभाव प्रदेशमा समेत देखियो । अहिले हाम्रो जिल्ला सभापतिज्यू नै यो क्षेत्रबाट उम्मेदवार हुनुहुन्छ । उहाँ जिल्ला सभापति भएर लामो समय स्थानीय स्तरमा जनताका लागि काम गर्नुभएको व्यक्तित्व समेत हुनुहुन्छ । त्यसैले यसपटक कांग्रेसलाई भोट हाल्न जनता उच्साहित हुनुहुन्छ । हाम्रो प्रतिस्पर्धी दलको उम्मेदवारको अभिव्यक्तिको शैली र घमण्ड र उहाँमाथि लागेका आरोपका कारण समेत उम्मेदवार र सो पार्टीप्रति जनता निराश भइसकेका छन्  । 

विपक्ष उम्मेदवारको अभिव्यक्तिकै आधारमा परिणाम उल्टिन्छ भन्ने विश्वास कसरी गर्ने ?
एउटा व्यक्ति व्यक्ति मात्रै हुँदैन, संस्थाको जिम्मेवारी पनि उसमा हुन्छ । अझ निर्वाचित जनप्रतिनिधि अझै संयमित हुनुपर्छ । एउटा संस्थाले जे पायो त्यही बोल्ने, जे मनलाग्यो त्यही गर्दै हिँड्ने कारणले स्वभाविक रुपले आम जनतामा नकारात्मक असर पर्छ । फेरि हामी कमजोर भयौं भनेर हामीले आफ्नो संगठन विस्तार र जनताको काममा पछि हटेका छैनौं । अंकगणितीय रुपमा हेर्ने हो भने पनि हामी स्थानीय निर्वाचनमा १५ सय मतले पछि पर्यौं, जबकी यो क्षेत्रमा गठबन्धनका साझेदार दलहरु माओवादी र एकीकृत समाजवादीको चुनाव चिन्हमा १८ सय वटा छाप लागेर बदर भएका छन् । त्यो प्राविधिक कमजोरीलाई दोहोयाउन नदिने अवस्थामा यसपटक हामीले सजिलै निर्वाचन जित्न सक्छौं भन्ने विश्वास छ । 

अहिलेको हिसाबले तपाईले कति मतान्तरले जित्ने अपेक्षा गर्नुभएको छ ?
स्थानीय निर्वाचनमा भएको हिजो गठबन्धनमा माओवादी थिएन, त्यसबेला समाजवादीसँग मात्रै गठबन्धन थियो । अब माओवादीसँग पनि भएको छ । यसकारणले हामी ३–४ हजार अगाडि छौं र त्यही मतले जित्छौं भन्ने अनुमान छ । 

तपाईहरुको मुख्य चुनावी एजेण्डा चाहिँ के हो ? 
विगतमा कम्युनिष्ट सरकारले गरेका गलत कामहरुलाई रोक्ने र देशलाई समुन्नतिको दिशा दिने नै हाम्रो प्रमुख एजेण्डा हो । हामीले वर्षौंको मिहिनेतबाट निर्माण गरेको संविधान र यसले गरेको व्यवस्थालाई संरक्षण गर्नु प्रमुख एजेण्डा हो । हिजो भएको सरकारले २र२ चोटी गरेको संसद विघटनको परिणामस्वरुप अहिलेको गठबन्धन गर्नुपरेको हो । त्यसबाहेक अब बन्ने सरकारले स्थायित्व र देशको समुन्नतिको प्रष्ट खाका लिएर अघि बढ्छ । यसका लागि हाम्रो पार्टीले विस्तृत भिजनसहितको घोषणापत्र सार्वजनिक गरेको छ । मैले मेरो क्षेत्रको समस्या समाधान र आवश्यकता परिपूर्तिका लागि प्रदेशसभामा रहेर योगदान गर्नेछु । यो क्षेत्रमा शिक्षा, स्वास्थ क्षेत्रमा ठूलो सम्भावना देखिएको छ । यी क्षेत्रको विकासमार्फत् रोजगारी तथा सिर्जना गर्नु मेरो प्रमुख उद्देश्य हुनेछ ।
 



नयाँ