arrow
ADVERTISEMENT

दलहरुलाई संविधान रक्षा गर्ने दायित्व नभुल्न गृहमन्त्री खाँणको आग्रह

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक १५ मंगलबार
balkrishna-khand.jpg
तस्बिर – फाइल ।

भैरहवा । गृहमन्त्री बालकृष्ण खाँणले केही राजनीतिक दलहरू जनताको लामो सङ्घर्ष र बलिदानपश्चात् संविधान सभाबाट बनाइएको संविधान रक्षा गर्ने दायित्व नभुल्न आग्रह गरेका छन् । सत्ता गठबन्धनबाट रुपन्देही क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा उम्मेदवारसमेत रहेका मन्त्री खाँणले आज भैरहवामा आयोजित कार्यक्रममा सार्वभौमसत्ता जनतामा निहीत हुने व्यवस्था उल्ट्याउने षड्यन्त्र भइरहेको सन्देह गर्दै त्यसलाई चिर्न आवश्यक रहेको बताए । 

जनप्रतिनिधिले बनाएको संविधान संसद्मा दुई तिहाइ मतले संशोधन गर्न सकिने भए पनि जनआन्दोलनको मर्म र भावनाविपरीत संविधानलाई नै धरापमा पारेर प्रतिगमनलाई मलजल गर्नु गलत भएको मन्त्री खाँणको तर्क छ ।

“संविधान विरोधीप्रति सचेत हुन र निर्वाचनमार्फत त्यस्तो रणनीतिमा लाग्ने शक्तिलाई परास्त गर्न आमनागरिकलाई आग्रह गर्दछु ।” उनले भने, “निर्वाचनमा होमिएका केही दलहरुको संसद्मा उपस्थिति नै नगन्य हुन्छ, ती दलबाट कसरी विकास र समृद्धिको जनताले आशा गर्ने ? कसरी विश्वास गर्ने ?”

आगामी निर्वाचनपछि सत्ता गठबन्धनको सरकार बन्ने बताउँदै उनले भने, “पाँच दलीय गठबन्धनको त अहिले पनि सरकार छ, भोलि निर्वाचनपछि पनि हुन्छ, यही गठबन्धनले विकास गर्छ, जनचाहनाअनुसार काम गर्छ ।”

लामो सङ्घर्षपश्चात् ल्याएको व्यवस्थामा नागरिकको अवस्था परिवर्तन गर्न कांग्रेस, माओवादी, एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी र जनमोर्चाबीच गठबन्धन गरेर निर्वाचनमा होमिएको बताउँदै गृहमन्त्री खाँणले निर्वाचनपछि बन्ने गठबन्धन सरकारले नागरिकको अवस्था परिवर्तन गर्ने रणनीतिक योजना ल्याउने बताए । 

मुलुकमा शान्ति, स्थिरता, सुशासन र विकास एउटै दलले बहुमत ल्याएर गर्न अप्ठ्यारो पर्ने भएकाले गठबन्धन गरेर निर्वाचनमा होमिएको उनको भनाइ थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ